भरतपुर, २८ बैशाख– भरतपुर महानगरपालिकाको चुनाव प्रचारका लागि योजना बनाउन भन्दै होटल आइल्याण्डमा आयोजित कांग्रेस भेला भाँडिएको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणुलाई भरतपुरको मेयरमा बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालबीच सम्झौता भएपछि कांग्रेस कार्यकर्ता भड्केका हुन् ।
सभापति शेरबहादुरलाई प्रधानमन्त्री बन्ने बाटो सहज बनाउन र अहिले भरतपुरमा दाहाल पुत्री रेणुलाई मेयर बनाएर भविश्यमा प्रधानमन्त्री दाहालका लागि निर्वाचन क्षेत्र सुनिश्चित गर्न बिजातीय गठबन्धन गरिएको भन्दै कांग्रेस कार्यकर्ताले रेणुलाई मतदान गर्न नसकिने चेतावनी दिएका हुन् ।
आइल्याण्ड होटलमा भएको कांग्रेस भेलामा दाहालपुत्री रेणुका विषयलाई लिएर चितवन कांग्रेसको आकस्मिक भेलामाठूलै हंगामा भयो । भेलामा दाहाल पुत्री रेणुलाई कुनै पनि हालतमा भोट हाल्न नसकिने भन्दै नाराबाजी भएपछि जिल्ला अध्यक्ष जीतनारायण श्रेष्ठको सम्बोधन नै रोकिएको थियो ।
कांग्रेस कार्यकर्ताहरुले आफ्ना आफन्त, छिमेकीलाई युद्धकालमा छानी–छानी गोली ठोक्ने पार्टीको अध्यक्षकी पुत्रीलाई कुनै पनि हालतमा मत नदिने भन्दै त्यस्तो उर्दी गर्ने नेताहरुलाई समेत नछाड्ने चेतावनी दिएका थिए । अध्यक्ष श्रेष्ठले मञ्चबाट ‘चुनावी तालमेलमा कहिलेकाही यस्तो हुन्छ’ भन्दै सम्झाउन खोजेका थिए । तर, कार्यकर्ताले भने पार्टीका केन्द्रीय सभापति प्रधानमन्त्रीको पदमा बिकेर आफ्ना कार्यकर्ताको सिद्धान्त बेचेको भन्दै नाराबाजी गरे । उनीहरुले कांग्रेसले जित्ने अवस्था हुँदा हुँदै मेयर पद माओवादीलाई जिम्मा लगाएको आरोप समेत लगाएका थिए ।
होहल्ला र विरोधका बीच सकिएको भेलापछि कांग्रेस कार्यकर्ताहरुले कसैको निर्देशन नमान्ने र रेणु दाहाललाई भोट समेत नहाल्ने बताएका थिए । ‘मेरो दाजुको छातीमा गोली ठोक्नेहरुलाई हामीले मत हाल्नुपर्ने ? यस्तो कहिल्यै हुनैसक्दैन । हामी पार्टी केन्द्रको गलत निर्णय मान्दैनौ’ भेलामा सहभागि एक कार्यकर्ताले भने ।
यसअघि कांग्रेसको केन्द्रीय निर्देशनका बिषयमा जिल्ला पार्टीमा एकमत रहेको र सबैले प्रचण्डपुत्रीलाई नै मत हाल्ने प्रचार गरिएको थियो । तर, प्रधानमन्त्री दाहालकी छोरीलाई मेयरमा गरेको समर्थनका कारण चिवन कांग्रेस नै दुई खेमामा विभाजित भएको छ ।
भिडियो हेर्नुहोस्:
चक्रपथ डटकम बाट