०५६ साल जेठमा दोलखामा जन्मिएका रामु खत्री युवा वैज्ञानिकका रूपमा स्थापित हुँदै छन् । उनले सानै उमेरमा विभिन्न प्रविधि उत्पादन तथा आविष्कार गरेका छन् ।
भर्खरै सेन्ट लरेन्स कलेज चाबहिलबाट कक्षा १२ को परीक्षा दिएका उनको क्षमता अद्भूत छ । साथ र सहयोग पाए नेपालमै जहाज बनाउन सक्ने दाबी उनको छ । अाजको नयाँ पत्रिकामा प्रकाशित उनै राजुसँग कुराकानी यस्तो छ
दुईमा पढ्दा बिजुली निकालेँ
मैले तीन कक्षासम्म दोलखामा पढेँ । त्यसपछिको शिक्षाका लागि काठमाडौं आएँ । मेरो पढाइ सानैदेखि राम्रो थियो । क्लासमा जहिल्यै फस्र्ट, सेकेन्ड हुन्थेँ । सानोमा म अलि बदमास थिएँ । घरका विभिन्न उपकरणहरू खोलेर हेर्ने, चलाउने, भताभुंग पार्ने र फेरि जोडेर जस्ताको त्यस्तै बनाउने पनि गर्थें । मैले दुई कक्षामा पढ्दादेखि नै विभिन्न आविष्कार गर्न थालेको हुँ ।
त्यतिवेला मैले खोलाको पानीबाट टर्बाइन घुमाएर बिजुली निकालेको थिएँ । त्यसपछि गोबर ग्यासबाट बत्ती बाल्ने, आलु र हावाबाट बिजुली निकाल्ने काम पनि गरेँ । घरमा कोही नभएको मौकामा इलेक्ट्रिक सामान खोलेर हेर्थेँ । त्यसले गर्दा त्यहाँभित्र के हुँदो रहेछ, कसरी चल्दो रहेछ भन्ने जिज्ञासा अझ बढ्थ्यो । त्यो हेर्दा मलाई पनि त्यस्तै केही उपकरण बनाउने सोच पलाउँथ्यो ।
सानोमा मलाई बुबाममीले ‘जे गर्ने हो घरभित्रै गरेर बस्, तर बाहिर कतै नजा’ भन्नुहुन्थ्यो । त्यसैले म घरमै बदमासी गरेर बस्थेँ । सुरुका दिनमा मेरो बदमासी देखेर उहाँहरूले निकै गाली गर्नुहुन्थ्यो ।
तर, जब मैले टर्बाइन घुमाएर बिजुली निकालेँ, तब घर र गाउँकाले समेत मप्रति सकारात्मक भावना राख्न थाले । त्यसपछि आविष्कार, अनुसन्धान गर्ने कुरामा मलाई घरबाट निकै सहयोग मिल्न थाल्यो ।
गाडी बनाउन कसैले सहयोग गरेन
०६५ सालमा काठमाडाैँ आएर चार कक्षामा भर्ना भएँ। विज्ञान र आविष्कारप्रतिको रुचिलाई मैले निरन्तरता दिइनै रहेँ । मैले बनाएका कुरालाई सरहरूले फोकस गर्नुभयो । पत्र–पत्रिकामा पनि मेराबारे समाचार आए । त्यसले गर्दा ममा भित्रैबाट आत्मबल बढेर आयो । मैले अझै केही गर्नुपर्छ भन्ने लाग्यो ।
र, मैले सोलारबाट चढ्ने गाडीको मोडल बनाएँ । त्यतिवेला मैले ‘कसैले एक लाख सहयोग गर्छ भने तीनजना चढेर हिँड्न मिल्ने गाडी बनाउँछु’ भनेको थिएँ । तर, मलाई कतैबाट पनि सहयोग मिलेन । उमेर सानै भएकाले यसले के गर्ला र भनेर अविश्वास गर्नेहरूको बाहुल्यताले जित्यो ।
मलाई उत्साह दिने, हौसला बढाउनेहरूले पनि लगानी गर्न डराए । उनीहरूलाई लगानी डुब्ने डर थियो होला, सायद । धनी र ठूला व्यापारीसँग मेरो चिनजान थिएन ।
कसले पत्याउने र ? घरको आर्थिक अवस्था पनि त्यति राम्रो नभएकाले आफैँ लगानी गर्ने अवस्था पनि भएन । केही गर्छु भनेर अघि बढ्दा कतैबाट सहयोग नआएपछि म केही पछि हच्किएँ । त्यसपछि धेरै लगानी नलाग्ने आविष्कार गर्न थालेँ ।
९० भन्दा बढी आविष्कार गरेको छु
मैले अहिलेसम्म ९० भन्दा बढी आविष्कारहरू गरेको छु । घाममा सुकाएको कपडा पानी पर्यो भने आफैँ भित्र सारिदिने मेसिन, घरको धारामा पानी आयो भने अटोमेटिक रूपमा मोटर चल्ने र ट्यांकी भरिएपछि आफैँ मोटर अफ हुने उपकरण, लामखुट्टे भगाउने सिस्टम, केबलकारजस्ता उपकरण तथा प्रविधिहरू आविष्कार गरेको छु ।
मैले आविष्कार गरेका जति पनि उपकरण तथा प्रविधि छन्, ती सबै नेपालको वर्तमान परिस्थितिलाई मध्यनजर राखी तयार पारिएका हुन् । मैले आफू हाइलाइटमा आउने, नाम कमाउनेभन्दा पनि समस्याको समाधान र जनतालाई सहज हुने खालका आविष्कारहरू गरेको छु । संख्यामा भन्दा गुणस्तरामा जोड केन्द्रित गर्छु, म । विज्ञान तथा प्रविधिको क्षेत्रमा केही गर्ने मेरो चाहना हो । मैले पुराना सामानको प्रयोग गरेर नयाँ कुरा बनाउँदै आएको छु ।
प्लेन र हेलिकोप्टर बनाउन सक्छु
एसएलसीपछि साइन्स पढ्न थालेँ । विज्ञान प्रविधिको क्षेत्रमा रुचि भएकाले घरपरिवारले पनि सपोर्ट गर्नुभयो । कक्षा ११ मा पढ्दा मैले सोलारबाट चल्ने ट्याक्टर बनाएँ । त्यसपछि भान्साबाट निस्किने फोहरबाट विद्युत् निकालेँ । जुन नयाँ खालको थियो ।
मन्दिरको मूर्ति चोरी भयो भने साइरन बज्ने, गाडीले छोएपछि मात्र लाइट बल्ने उपकरण बनाएँ । यी सबै आविष्कारबाट मैले राम्रो रेस्पोन्स पाएको छु । त्यस्तै, मैले प्लेन र हेलिकोप्टर पनि बनाएको छु । सानो प्लेनको मोडल बनाएर रिमोर्टबाट उडाएर नै देखाएँ ।
धेरै कार्यक्रमहरूमा मैले ‘ठूलो प्लेन पनि बनाउन सक्छु, मलाई सहयोग गर्नुस्’ भनेँ । तर, मलाई कतैबाट पनि सहयोग आएन । यदि अझै पनि कतैबाट सहयोग मिल्छ भने म उँड्ने प्लेन, हेलिकोप्टर बनाउन सक्छु । यसका लागि हामीजस्ता प्रतिभा भएका व्यक्तिलाई सरकारले संरक्षण गर्नुपर्छजस्तो लाग्छ ।
प्रतिभाको कुनै कदर नभएर मजस्ता धेरै युवा विदेश पलायन भएका छन् । यहाँका प्रतिभाले विदेशका लागि काम गरिरहेका छन् । आखिर त्यो प्रगति नेपालमा पनि गर्न सकिन्छ । यसका लागि सरकारले मजस्ता केही गर्न खोज्ने व्यक्तिलाई सहयोग गर्नुपर्छ । आखिर त्यसको श्रेय सरकारले नै पाउने हो ।
नेपाललाई मेडल दिलाएँ
म एसियाका जुनिएर वैज्ञानिकहरूको सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन भारतसम्म गएको छु । त्यहाँ मैले आफ्नो इन्भेन्सनहरू सो गरको थिएँ । त्यहाँ मैले रगतकोे जस्तै कपालको पनि ग्रुप हुन्छ भन्ने कुरा भेरिफाइ गरेको थिएँ । जुन विषय एकदमै नयाँ थियो । त्यहाँ एसियाका ठूलाठूला वैज्ञानिकहरू थिए । मैले प्रस्तुत गरेको विषयलाई उनीहरूले निकै रुचिका साथ हेरेर तारिफ गरे ।
मैले कपालमा एउटा लिक्विड हुन्छ भन्ने मान्यता अघि सारेर कपाललाई ए, बी र सी ग्रुपमा विभाजन गरी प्रस्तुत गरेको थिएँ । त्यसैगरी, मैले उज्यालोजस्तै अँध्यारोबाट पनि विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । जति डार्कनेस भयो त्यति नै इनर्जी आउटपुट हुन्छ भन्ने कुरा मैले त्यहाँ प्रमाणित गर्न पाएँ । दुई विधामा भएको प्रतिस्पर्धामा म दुवै विद्यामा मेडल जित्न सफल भएँ । एउटामा कास्य र अर्कोमा रजत हात पारेँ ।
त्यसैगरी, नेपालमा भएका विभिन्न साइन्स एक्जिबेसनमा मैले भाग लिएको छु । हालसम्म करिब ४५ वटा एक्जिबेसन जितेको पनि छु । सन् २०१६ र ०१७ को युवा वैज्ञानिक अवार्ड मैले जितेँ । कक्षा ८, ९ र १० मा पढ्दा लगातार नेपाल सरकार र जिल्ला शिक्षा कार्यालयले आयोजना गरेको विज्ञान तथा प्रविधि प्रदर्शनीमा तीनै वर्ष म काठमाडाैँ जिल्लाबाट प्रथम भएँ । मध्यमाञ्चलबाट द्वितीय भएँ । र, नेपालभरबाट प्रथम र द्वितीय भएँ ।
आविष्कारमै लाग्ने लक्ष्य छ
म अहिले कक्षा १२ को परीक्षा दिएर बसिरहेको छु । इन्जिनियरिङका लागि तयारी कक्षा पनि लिइरहेको छु । अहिले कतैबाट सहयोग नभएकाले परिवारले पनि पढाइमै फोकस हुन भन्नुभएको छ । उहाँहरूकै सल्लाहअनुसार पढाइमै ध्यान केन्द्रित गरिरहेको छु । फुसर्दको समयमा कुनै न कुनै नयाँ कुरा सोचिरहेको हुन्छु । भविष्यमा मेरो साइन्स रिसर्चमै लाग्ने सपना छ ।
विज्ञान तथा प्रविधि क्षेत्रमा कुनै न कुनै नयाँ आविष्कार गरेरै छाड्ने लक्ष्य छ, मेरो । सकेसम्म नेपालमै केही गर्ने सोच छ । नेपालमा सहयोग पाइनँ भने विदेश पलायन हुने अवस्था पनि आउन सक्छ । कसैको सहयोगविना कुनै पनि मानिस सफल हुन सक्दैन । मलाई पनि सहयोग अपरिहार्य छ । सरकार, सम्बन्धित निकाय, कोही व्यक्तिले सहयोग गर्नुभयो भने केही गर्न सक्छु भन्ने विश्वास ममा छ । केही गर्छु भनेर अघि सरेर मात्र हुँदैन । त्यसका लागि आवश्यक स्रोत, साधनको पनि आवश्यकता पर्छ ।
आश्वासन मात्रै पाइन्छ
विभिन्न कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यापारी, उद्योगी, पुँजीपतिसँग भेट हुने गरेको छ, मेरो । उहाँहरू मेरो काम देखेर खुसी प्रकट गर्नुहुन्छ । त्यही वेला मैले सहयोगको आश्वासन पनि पाएको छु । उहाँहरू मेरो नाम, नम्बर र ठेगाना लिएर जानुहुन्छ । ‘हामी तिमीलाई फोन गर्छौं’, सहयोग गर्छौं’ भन्नुहुन्छ । तर, पछि कुनै रेस्पोन्स नै आउँदैन । यस्तो मैले धेरै भोगेको छु । अझै पनि कुनै दिन कहीँबाट सहयोग पाउनेमा म आशावादी नै छु ।
-खबर डबली बाट