काठमाडौं, ४ असार — पोर्चुगलको मध्यभागमा रहेको एक जंगलमा आगो लाग्दा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । अन्य ५९ जना घाइते भएका छन् । धेरैले भाग्ने क्रममा आफ्नो कारभित्रै जलेर ज्यान गुमाउन बाध्य भएको गृहमन्त्रालयका अधिकारी जोर्गे गोमेसले बताएका छन् ।
गोमेसका अनुसार ६०० अग्निनियन्त्रकलाई शनिवारदेखि नै आगो निभाउनका लागि खटाइएको छ । ६ जना अग्निनियन्त्रक घाइते भएका छन् ।
अठारजना घाइतेलाई लिस्बन, कोइम्ब्रा र पोर्टोस्थित अस्पतालहरूमा भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
‘यो जंगली क्षेत्र हो र यहाँ आगलागीका घटना भइरहन्छन् तर यति ठूलो त्रासदी होला भन्ने मैले कल्पना नै गरेको थिइनँ,’ पेद्रोगाओ ग्रान्डेका मेयर भाल्देमार आल्भेसले बताए । ‘यति ठूलो मृत्युसंख्या देखेर म स्तब्ध छु ।’
स्थानीय समयअनुसार शनिवार दिउँसो शुरु भएको आगलागीको कारण पत्ता लागेको छैन ।
पोर्चुगलमा उच्च तापक्रमका कारण आगो झन् चर्किंदै गइरहेको छ ।
एजेन्सी