विसं २००७ को इन्डियन आइडलको फाइनलमा प्रशान्त तामाङ र अमित पल भिडिरहँदा दार्जिलिङका तामाङका लागि इन्टरनेटबाट भोट दिन काठमाडौँलगायत नेपालका अधिकांश सहरमा पैसा संकलन गरियो । त्यसबेला नेपाली भाषी तामाङप्रति विश्वभर छरिएका नेपालीले देखाएको सदाशयबाट उनले प्रतियोगिता जिते । भारतीय भए पनि नेपाली भाषी भएकै कारण उनलाई नेपालीले खुलेर सहयोग गरे । नेपाल र दार्जिलिङबीचको भाषिक र सांस्कृतिक सम्बन्धको उदाहरण थियो त्यो । आज ठीक दस वर्षपछि पुनः नेपाली र नेपाली भाषी भारतीयबीचको सम्बन्ध र भिन्नताको विषय पेचिलो रूपले अगाडि आएको छ ।
यसको पछाडि भारतमा पटकपटक उठान र बैठान हुँदैगरेको छुट्टै गोर्खाल्यान्ड राज्यको आन्दोलन रहेको छ । आफ्नो मुलुकमा छुट्टै राज्य मागेर आन्दोलन गर्न पाउनु दार्जिलिङवासीको अधिकारको विषय हो । नेपाल र नेपालीका निम्ति यो सरोकारको विषय होइन । कुनै समय नेपालको भूभाग रहेको कारणले नेपालीलाई सो भूमिप्रति चासो रहनु स्वाभाविक भए पनि त्यसपछिका सन्धि, सम्झौता र विकसित भूराजनीतिक अवस्थाका कारणले सो क्षेत्र आज भारतकै भूभाग भएको छ । त्यहाँका जनता पनि भारतीय हुनुमै रमाउँछन् ।
त्यसो भए नेपालीले सो आन्दोलन र क्षेत्रको विषयमा किन बेकारमा टाउको दुखाउने भनेर प्रश्न उठ्न सक्छ । निश्चय नै नेपालीलाई भारतमा भइरहेको आन्दोेलनप्रति कुनै लिनुदिनु छैन तर गोर्खाल्यान्ड शब्दको प्रयोगको विषयमा भने सामाजिक सञ्जालमा समेत विभाजन देखिएको छ ।
नेपाली सांगितिक क्षेत्रको निम्ति अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल, विपुल क्षेत्रीलगायतले निकै ठूलो गुन लगाएका छन् । साहित्यिक क्षेत्रमा सूधपा, इन्द्रबहादुर राई, पारिजातलगायतका थुप्रै हस्तीहरु आजीवन लागेकै हुन् । यसरी हेर्दा भूगोलभन्दा माथि उठेर स्थानीयबीच भावनात्मक सम्बन्ध रहेको छ । राजनीतिकरूपले भने अलगअलग दुई राष्ट्रले एक अर्काको आन्तरिक मामिलामा चासोे नदिएकै बेस हुन्छ । नेपाल, भुटान, बङ्गलादेशसँग सीमाना जोडिने भएकाले पनि ‘चिकेन्स नेक’ भनिने यस क्षेत्र निकै नै संवेदनशील भूभाग हो ।
त्यसकारण त्यहाँका उत्तारचढावका केही बाछिटा नेपालसम्म आउन सक्छन् । यस परिस्थितिमा नेपालले खेल्न सक्ने भूमिका भनेकै तटस्थ रहनु हो । नेपालीले पनि सामाजिक सञ्जालमा भारतीयहरूसँग तल्लो स्तरमा गिरेर मारमुङ्ग्री गर्नुको कुनै तुक छैन । सिक्किम, दार्जिलिङका भारतीयलाई नेपाली देख्ने तर जनकपुर र वीरगन्जका मधेसीलाई भारतीय देख्ने आँखा भएका दुईचार जनाका लागि भने यो प्रकरण निकै कष्टकर भएको हुनुपर्छ ।
हामीले यसबाट के शिक्षा लिन सक्छौँ भने राष्ट्रियताप्रति कुनै पनि सम्झौता हुन सक्तैन । उनीहरू भारतीय हुनुमा गर्व गर्छन् भने हामीलाई नेपाली हुनुमै गर्व छ । समान भाषा, संस्कृति भए पनि उनीहरू भारतीय नै हुन् र हामी नेपाली नै हौँ । त्यसकारण उनीहरूको आन्तरिक मामिलामा हामी पक्ष या विपक्षमा उभिनु हाम्रै लागि प्रत्युत्पादक हुन सक्छ । बरु हाम्रो सम्पूर्ण जोडबल आउँदै गरेको चुनावसहित अन्य निर्वाचनलाई सफलतामा पु¥याएर मुलुकलाई विकासको बाटोतर्फ लानेमा हुनुपर्छ । यसैमा हामी सबैको भलो छ ।