सामान्यतया पितृत्व परीक्षणले सोझो उत्तर दिन्छ– कुनै मानिस कसैको बुवा हो वा होइन । तर अमेरिकाको न्यु जर्सी सहरकी एक महिलालाई भने आफ्ना जुम्ल्याहा सन्तानको भरणपोषणका लागि अदालतमा मुद्दा दायर गर्दा पितृत्व परीक्षणले सहज पार्नुको साटो जटिलता निम्त्यायो । उनले जुन व्यक्तिविरुद्ध आफ्ना जुम्ल्याहा सन्तानको बुवा भन्दै मुद्दा हालेकी थिइन् पितृत्व परीक्षणबाट त्यो व्यक्ति उनका जुम्ल्याहामध्ये एक जनाको मात्र बुवा भएको नतिजा आयो।
पितृत्व परीक्षणमा यस्तो नतिजा आउनु असाधारण/असामान्य मानिन्छ । किनभने यस्तो नतिजा आउने अवस्था लगभग असम्भवप्रायः हुन्छ, जसलाई ‘सुपरफेकन्डेसन’ भनिन्छ। तर कहिलेकाहीं जुम्ल्याहा वा धेरै सन्तान एकैपल्ट जन्मदा यस्तो स्थिति आउन सक्छ । धेरै सन्तान जन्मदाका केही विशेष अवस्था यस्ता हुन सक्छन् :
सुपरफेकन्डेसन ट्विन्स: डिम्ब निष्क्रमण (अोभुलेसन) का बेला कुनै महिलाको छोटो समयको फरकमा दुई पुरुषसँग सहवास भए उनीहरू दुवै जनाबाट ती महिला गर्भवती हुन सक्छिन् । यस्तो केसमा दुई जनाका एउटा एउटा शुक्रकीटले एक एक वटा डिम्ब गर्भाधान गर्छन् । यस्तो हुन डिम्बासयले एउटा डिम्ब निष्क्रमण गरेको केही समयपछि अर्को डिम्ब निष्क्रमण गरेको हुनुपर्छ।
न्यु जर्सीकी ती महिलाको सन्दर्भमा पनि यस्तै भयो । उनले जसमाथि मुद्दा हालिन् उसँगको सम्बन्धको परिणाम उनका जुम्ल्याहामध्ये एउटा सन्तान थियो भने अर्को व्यक्तिसँगको सम्बन्धबाट अर्को सन्तानको गर्भ रहन पुगेको थियो।
यस्तो अद्भुत घटना असम्भवप्रायः भए पनि विभिन्न अध्ययनले समय समयमा दोहोरिन सक्ने देखाएका छन् । सन् १९९२ मा गरिएको एउटा अध्ययनले अमेरिकाका अदालतमा पर्ने जुम्ल्याहा सन्तानका पितृत्वसम्बन्धी कुल मुद्दामध्ये २ प्रतिशत यस्तै सुपरफेकन्डेसनका केस भएको पत्ता लगाएको थियो।
फ्र्याटर्नल ट्विन्स (५० प्रतिशत समान वंशाणु): सामान्यतया एउटा डिम्ब विभाजन भएर दुई वटा भ्रुण विकास हुँदा जुम्ल्याहा बालबालिका जन्मन्छन् । तर जब दुई डिम्ब दुई शुक्रकीटबाट निषेचित भएर गर्भमा दुई भ्रुणको विकास हुन्छ र जुम्ल्याहा जन्मन्छन् भने त्यसलाई फ्र्याटर्नल ट्विन्स भनिन्छ । जुम्ल्याहामा एउटै आमा बुवाको वंशाणु (आधाआधा) रहे पनि पूर्णतया समान हुँदैन । यस्तोमा जुम्ल्याहाको आकृति, रुपरंग सबै दुरुस्तै नहुने र लिंग पनि फरक हुनसक्छ।
पोलार बडी ट्विन्स (७५ प्रतिशत समान वंशाणु) : जब एउटा डिम्ब निष्क्रमणपछि दुई असमान भागमा विभाजित हुन्छ र ती दुवै भाग बेग्लाबेग्लै शुक्रकीटबाट निषेचित भइ दुई भ्रुणका रुपमा विकास हुन्छन् भने त्यसलाई पोलार बडी ट्विन्स भनिन्छ । यस्तोमा धेरै साइटोप्लाज्म भएको भ्रुणको पूर्ण विकास हुन्छ र त्यसलाई प्राइमरी बडी भनिन्छ । थोरै साइटोप्लाज्म भएको भ्रुणलाई पोलार बडी भनिन्छ र यो प्रायःजसो गर्भमै मर्छ । तर दुवै भ्रुणमा आमाको समान वंशाणु र बुवाको भने असमान वंशाणु (७५ प्रतिशत वंशाणु) रहन्छ ।
वैज्ञानिक दृष्टिकोणबाट यसो हुन सम्भव भए पनि वैज्ञानिकहरूबीच व्यावहारिक रुपमा यो सम्भव हुने÷नहुनेमा मतभेद छ।
आइडेन्टिकल ट्विन्स (शतप्रतिशत समान वंशाणु) : जब एउटा डिम्ब एउटा शुक्रकीटबाट निषेचित भएपछि विभाजित हुन्छ र दुई वटा भ्रुणका रुपमा विकास हुन्छ भने त्यसलाई आइडेन्टिकल ट्विन्स भनिन्छ । यस्ता जुम्ल्याहाको वंशाणु शतप्रतिशत समान हुन्छ, दुवै जना उस्तै हुन्छन् र दुवै केटा वा दुवै केटी हुन्छन्।
तर जब कुरा एकै पल्टमा तिम्ल्याहा, चम्ल्याहा वा अझ बढी सन्तान जन्मिन्छन्, केस त्यति नै धेरै जटिल हुँदै जान्छ । उदाहरणका लागि एउटी आमाबाट जन्मेका तिम्ल्याहामध्ये दुई जना एउटै डिम्बका आइडेन्टिकल ट्विन्स हुन सक्छन् र तेस्रो भने अर्को डिम्ब र शुक्रकीटबाट विकास भएको हुन सक्छ । यसरी नै चम्ल्याहा र त्यसभन्दा बढी बच्चाको एकसाथ जन्मका सम्भावनाको विश्लेषण अत्यन्त जटिल हुँदै जान्छ। - (टाइम म्यागेजिन)