एजेन्सी, असार ५ । टर्कीका सेना कतार आइपुगेको कतारका गृहमन्त्रीले एक विज्ञप्ति दिदै जानकारी गराएका छन् ।
दुई देशको सैन्य अभ्यास गर्ने पुर्व योजनाका अनुसार टर्कीका सेना दोहा आइ पुगेका हुन् । छिमेकी देशहरुले नाकाबन्दी लगाइरहेको अवस्थामा कतार र टर्कीले गर्न लागेको यो सैन्य अभ्यासले नराम्रो सन्देश जाने अन्तर्राष्ट्रिय मामिलाका विश्लेषकहरुले बताएका छन् ।
मिडिया रिपोर्टका अनुसार लामो समयदेखि सैन्य अभ्यासको योजना बनिरहेको थियो । दुवै देशले आफ्नो सैन्य क्षमता वृद्धि गर्न तथा स्थायीत्व कायम गर्न सैन्य अभ्यास गर्न लागेको बताइएको छ ।
छिमेकी देश साउदी अरब, इजिप्ट, युएइ तथा बहराइनले कतारले आतंकवादीहरुलाई सहयोग गर्दै आइरहेको आरोप लगाएका छन् । तर, कतारले भने उक्त आरोप आधारहिन भएको बताउँदै आइरहेको छ ।