आत्मघाती बम विस्फोटनमा विप्लव समूहका एकजना कार्यकर्ताको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका—४, कैलाली पुल नजिकै खानेपानी संस्थान रोडस्थित एक व्यवसायिक प्रतिष्ठानमा गएराति १० बजेतिर आत्मघाती बम विस्फोटन गराएका थिए। विस्फोटमा २९ वर्षीय सनराइज उपनाम भएका चन्द्र सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ। ' घाइते अवस्थामा अस्पताल लगेपछि मृत्यु भएको हो' कैलाली जिल्ला प्रहरीले भनेको छ।
विस्फोट लगत्तै प्रहरीले थाहा पाएको थियो। सिंहलाई उपचारको लागि प्रहरीले नै अस्पताल लगेको थियो, जहाँ उनको १ बजेतिर निधन भयो। धनगढी वडा नम्बर १२ का स्थायी बासिन्दा उनी विप्लव समूहका कैलाली जिल्ला सदस्य हुन्। निर्वाचन प्रभावित पार्नेगरी विप्लव समूहले बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय, धनगढीले जनाएको छ।
यसैबीच, विप्लव माओवादीका सेती–महाकाली ब्युरोको कमान्ड इन्चार्ज ओमप्रकाश पुनले कैलालीको धनगढी उपमहानगरपालिका वार्ड नम्बर १२ सि गाउँ निवासी चन्द्रबहादुर सिह ‘कमरेड सनराइज’ले बेवारिसे बम पन्छाउन खोज्दा बिस्फोट भएको दावी गरेका छन्।
उनले एक विज्ञप्ती जारी गर्दै पार्टी कामको सिलसिलामा साथीहरूसँग भेटघाट गरि घरतर्फ फर्कनेक्रममा धनगढीको जिएच एण्ड सन्स होटेलको आँगनमा शंकास्पद वस्तु देखेपछि त्यसलाई उठाएर होटेलपछाडिको कैलाली नालामा फाल्न जाँदा अचानक बिस्फोट भै घाइते हुँदा उपचारको क्रममा सेती अञ्चल अस्पताल धनगढीमा उनको मृत्यु भएको जानकारी दिएका छन्।