दोस्रो चरणको स्थानीय तह निर्वाचन असार १४ गते प्रदेश नम्बर १, ५ र ७ नम्बरमा हुँदैछ। निर्वाचन आयोगले मौन अवधि तोकेको छ। तर, दलका नेताहरु जनताको घरदैलोमा भोट माग्न पुगेकै छन्।
मौनअवधिमा दलका नेताहरुको भोट माग्ने तरिका भने फरक छ। उनीहरु मतदाताकोमा सानो समूहमा कुनै तडक भडकविना पुग्ने र मत माग्ने गरिरहेका छन्। भोट माग्दै कतिपयले त आफ्नो पार्टीले दाङलाई प्रदेश नम्बर ५ को प्रादेशिक राजधानी बनाउने निर्णय नै गरिसकेको र त्यसका लागि भएपनि आफूहरुलाई मत दिएर जिताउन अन्तिम आग्रह गरे।
त्यसैगरी बुटवलमा पनि नेताहरुले प्रदेश राजधानीको ललिपप दिइरहेकै छन्। यतिसम्म कि एमाले नेता विष्णु पौडेलले त पटक पटक ‘एमालेले बुटवललाई राजधानी बनाउने निर्णय गरिसक्यो, ढुक्क हुनुहोस्’ भनिरहेका छन्। तर सोही पार्टीका अर्का नेता शंकर पोखरेलले भने दाङमा आफ्ना क्षेत्रका मतदातालाई बुटवलका एमाले नेताले बेइमानीपूर्वक प्रचारवाजी गरेको भन्दै आफ्ना नेताकै भनाइ कानेखुशी शैलीमा खण्डन गरिरहेका छन्। यद्यपी, औपचारिक कुराकानीमा भने उनले आफ्ना नेताको बचाउ गरे।
केन्द्रले छुट्टै चुनावी घोषणा पत्र जारी गरेपनि स्थानीय स्तरमा दलका उम्मेदवारले छुट्टा–छुट्टै चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन्। दाङ प्रदेश नम्बर ५ को सवैभन्दा ठूलो जिल्ला हो। त्यतिमात्रै होइन, ५ नम्बर प्रदेशमा दाङमा मात्रै दुई उपमहानगरपालिका छन्। त्यसपछि मात्रै रुपन्देहीको बुटवल आउँछ। विकासका हिसावले अलिक फड्को मारेको बुटवल र दाङलाई स्थानीय तह निर्वाचनमा सवैले चासोका साथ हेरेका छन्।
चासोका साथ हेरिनुको अर्थ हो, दाङ वा बुटवल कुन बन्ला प्रदेश नम्बर ५ को अबको राजधानी? प्रादेशिक राजधानीका रुपमा चर्चामा आएका नाम हुन् दाङको घोराही र रुपन्देहीको बुटवल। त्यसैले पनि स्थानीयदेखि केन्द्रीय नेतृत्वको आँखा यी दुई जिल्लामा परेको हो।
दाङका प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो चुनावी घोषणापत्रमा दाङलाई कुनै पनि हालतमा प्रादेशिक राजधानी बनाउन पहल गर्ने प्रतिबद्धतालाई प्राथमिकतामा राखेका छन्। तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र लमही नगरपालिका तीनवटै तहका उम्मेदवारहरुले प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउने प्रतिबद्धता चुनावी घोषणापत्रमै समेटेका छन्। कांग्रेस केन्द्रीय नेताहरु दिपक गिरी, खुमबहादुर खड्का, पार्वती डिसी चौधरीलगायतले दाङ नै प्रादेशिक राजधानी बन्ने भएकाले आफ्नो पार्टीलाई ढुक्क भएर मत दिएर विजयी गराउन मतदातालाई आग्रह गरे।
एमाले स्थायी कमिटी सदस्य पोखरेलले त केही दिनअघि आयोजित पत्रकार सम्मेलनमा दाङ नै प्रदेश नम्बर ५ को प्रादेशिक राजधानी हुने बताएका थिए। उनले आफ्नो पार्टीले दाङलाई प्रादेशिक राजधानी बनाउने निर्णय नै गरिसकेको भन्न समेत भ्याए। पत्रकार सम्मेलनमा उनले भनेका थिए ‘दाङ नै हो प्रदेश नम्बर ५ को राजधानी। यसमा कुनै शंका नगर्नुस्। हुँदैन भन्नेहरुले झुठको खेती गरिरहेका छन्।’
तर, रुपन्देहीमा चुनावी अभियानका क्रममा एमालेकै उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालले भने बुटवल नै प्रदेश नम्बर ५ को प्रादेशिक राजधानी बन्ने भन्दै मतदातालाई एमालेका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका थिए।
दर्जनौ चुनावी सभालाई सम्बोधन गर्दै उपमहासचिवद्वय पौडेल र भुसालले प्रदेश नम्बर ५ को प्रादेशिक राजधानीका लागि बुटवलको विकल्पमा नभएको बताएका थिए। उनीहरुले मतदातासँग आफ्ना उम्मेदवारसँग भोट माग्दै रुपन्देहीको बुटवललाई ५ नम्बर प्रदेशको राजधानी बनाउन भएपनि एमालेलाई जिताउनु पर्ने बताएका थिए।
तर कांग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्व दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनेमा प्रतिबद्ध देखिएका छन्। चाहे ति केन्द्रीय नेताहरु होऊन् चाहे जिल्ला वा स्थानीय नेता उनीहरु सबैले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउन आफूहरु पहिले देखि नै प्रतिबद्ध रहेको र अहिले पनि त्यही अडानमै रहेको भन्दै मतदातालाई आश्वस्त पारिरहेका छन्।
कांग्रेस दाङ जिल्ला सचिव शंकर डाँगीले प्रादेशिक राजधानीका विषयमा दुई थरी कुरा गरेर जनतालाई झुक्याइरहेको आरोप लगाए। उनले भने, ‘एमालेका नेताहरु कोहीले दाङलाई गराउने पार्टीले निर्णय नै गरेको छ भन्नु भएको छ। कोही रुपन्देहीतिर बोल्दै बुटवललाई बनाउने निर्णय भएको छ पार्टीको भन्नुहुन्छ। दुई थरी कुरा गरेर एमालेले जनतालाई झुक्याइरहेको छ।’ उनले आफ्नो पार्टीका केन्द्रदेखि जिल्ला तहसम्म दाङलाई नै प्रादेशिक राजधानी बनाउने भन्ने नै कुरा रहेको बताए।
नेकपा माओवादी केन्द्रका दाङका नेता निर्मल आचार्यले आफ्नो पार्टी दाङलाई नै ५ नम्बर प्रदेशको राजधानी बनाउन प्रतिबद्ध रहेको बताए। नेपालखबरसँग कुराकानी गर्दै आचार्यले भने,‘हामीले एमालेको जस्तो जनतालाई भ्रममा पार्दैनौं। हामीले सुरु देखि नै दाङलाई नै प्रादेशिक राजधानी बनाउनेमा अडिक छौं। मतदातालाई पनि त्यही भनेका छौं।’
तर, एमाले स्थायी कमिटी सदस्य पोखरेलले प्रदेश नम्बर ५ को प्रादेशिक राजधानी दाङ वा बुटवल कहाँ बनाउने भनेर पार्टीले औपचारिक निर्णय नगरेकाले चुनावमा आफ्नो ठाउँलाई राजधानी बनाउँछु भन्ने प्रतिबद्धता जनाउनु कुनै नौलो कुरो नभएको बताउँछन्। नेपालखबरसँग कुराकानी गर्दै पोखरेलले भने, ‘कांग्रेस र माओवादीले पनि बुटवललाई नै राजधानी बनाउँछौं भनेर भनेका छन्। स्थानीय तह निर्वाचनमा दाङ वा रुपन्देहीको बुटवललाई प्रादेशिक राजधानी बनाउँछु त्यो पहल गर्छु भनेर केन्द्रीय नेताहरुले भन्नु जनतालाई झुक्याउने काम होइन।’
चुनावी सभालाई सम्बोधन गर्न दाङ आएका कांग्रेस र माओवादी केन्द्रका केन्द्रीय नेताहरुले दाङलाई नै प्रदेश नम्बर ५ को राजधानी बनाउने प्रतिबद्धता जनाइसकेका छन् भने उनीहरुले दाङको विकल्प बुटवल हुन नसक्ने बताएका छन्। कांग्रेस र माओवादी केन्द्रले दाङ नै सबै हिसावले ५ नम्बर प्रदेशको राजधानीका लागि उपयुक्त ठाउँ भएको बताएका छन्।
एमालेका केन्द्रीय नेताहरु ‘दाङ र बुटवल’ मा विभाजित
तर, दाङ वा रुपन्देहीको बुटवल मध्ये कसलाई ५ नम्बर प्रदेशको राजधानी बनाउने भन्ने विषयमा एमालेभित्र भने दुई थरी धारणा सार्वजनिक भएका छन्।
रुपन्देही गृहजिल्ला भएका एमालेका उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, नेता छविलाल विश्वकर्मा लगायतका नेताहरुले बुटवल नै ५ नम्बर प्रदेशको राजधानी बनाउने निर्णय पार्टीले गरिसकेको भन्दै मतदातासँग भोट मागेका थिए भने एमाले उपाध्यक्ष युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य शंकर पोखरेलले दाङ नै प्रादेशिक राजधानी बन्ने भएकाले ढुक्क भएर आफ्ना उम्मेदवारहरुलाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन्। प्रदेश नम्बर ५ को प्रादेशिक राजधानी दाङ वा बुटवल? भन्ने विषयमा एमालेका केन्द्रीय नेताहरुकै कुरा बाझिएपछि दाङ र बुटवलका स्थानीयबासीहरु भने अलमलमा परेका छन्।
दाङबासीको प्रश्नः एमालेले झुक्याउन खोजेको त होइन?
एमालेका केन्द्रीय नेताहरुले रुपन्देही र दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रदेश नम्बर ५ को राजधानीका विषयमा विभाजित धारणा राखेपछि दाङबासीहरुले भने एमालेप्रति प्रश्न उठाएका छन्। स्थानीय भन्छन्,‘प्रादेशिक राजधानी दाङ र बुटवल हुन्छ भनेर दुई थरी कुरा गरेर हामीलाई एमालेले झुक्याउने खोजेको त होइन?’
दाङ तुलसीपुर उपमहानगरपालिका–७ का मतदाता प्रदिप केसीले प्रादेशिक राजधानीका विषयमा एमालेले दुईथरी कुरा गरेर जनतालाई झुक्याउन खाजेको भन्दै आक्रोश पोखे। उनले भने,‘जिल्लाका प्रमुख तीन दलले नै दाङ नै ५ नम्बर प्रदेशको राजधानी बन्छ भनेर प्रतिबद्धता जनाएका छन्। तर, केन्द्रीय नेताहरुले भने चुनावी कार्यक्रममा दुईथरी कुरा भनेका छन्। अब दाङ नै राजधानी बन्छ भनेर कसरी पत्याउने?’
यस्तै, तुलसीपुर उपमहानगरपालिका–१२ का स्थानीय रोमहर्ष न्यौपानेले दाङ नै ५ नम्बर प्रदेशको राजधानी बन्नु पर्ने बताए। उनले एमालेका नेताहरु कसैले बुटवल र कसैले दाङ प्रादेशिक राजधानी बन्छ भनेर भनिरहेकाले शंका उत्पन्न भएको बताए।
बुटवलमा झण्डै मौन कांग्रेस
दाङका कांग्रेस नेताहरुले प्रदेश राजधानी दाङमै ल्याउने भन्दै मत मागे पनि बुटवलको घरदैलोमा भने कांग्रेस उम्मेदवारहरुले प्रदेश राजधानीबारे चर्को स्वर गरेनन्। उनीहरुले ‘यसबारे दलहरुबीच छलफल भइरहेको र सकेसम्म प्रदेश राजधानी पनि बुटवललाई बनाउनु पर्नेमा आफ्नो पहल रहने’ भन्दै तर्कन खोजेको देखियो।
तालमेलका उम्मेदवारहरुलाई सघाउन र उनीहरुका पक्षमा भाषण गर्नेहरुले पनि राजधानीको विषयलाई खास प्राथमिकतामा राखेनन्।