काठमाडौं, २ जेठ — आफ्नी श्रीमतीको आँखाको रक्तनली फुट्ने गरी बेस्सरी घाँटी निमोठ्ने एक नेपालीलाई अस्ट्रेलियामा दुई वर्षको कारावास सजाय दिइएको छ । थिचाइका कारण श्रीमतीको ओठ पनि नीलो भएको थियो ।
दुई सन्तानका पिता दीपक अधिकारीले श्रीमती पम्फा धिताललाई सिड्नीस्थित एम१ मोटरवेमा घाँटी निमोठेका थिए । उनीहरूको गाडी गत मार्च २७ मा त्यहाँ दुर्घटनाग्रस्त भएको थियो ।
दीपकको गाडीले एक ट्रकलाई टक्कर दिएपछि सडकबाट बाहिर बत्तिएको थियो । त्यसपछि उनले श्रीमतीको घाँटीमा हात बेरेर निमोठेका थिए ।
अधिकारीलाई दुर्घनाबाट उद्धार गर्न ट्रक रोकेका चालकले श्रीमतीलाई निमोठेको देखेपछि अधिकारीको औंला हटाएका थिए । त्यतिखेरसम्म श्रीमतीको ओठ नीलो हुन थालेको र उनले होश हराएको देखिन्थ्यो ।
उनलाई अस्पताल लगिँदा कठोर घाउचोट लागेको र देब्रे आँखामा रगत चुहिएको देखिन्थ्यो । श्वासनलीमा जोड परेपछि उनको आँखामा रगत चुहिएको थियो ।
अधिकारी सिड्नीको उत्तरी भागमा पिज्जा पसल चलाउँछन् र उनले श्रीमतीलाई जानीबुझी घाँटी निमोठेको र लापरवाहीपूर्वक गाडी चलाएको आरोप स्वीकारेका छन् ।
प्रहरीलाई उनले यो आक्रमणका बारेमा आफूले थाहै नपाएको अनौठो बयान दिए ।
अधिकारीलाई दुई वर्षको अधिकतम कारावास सजाय दिइएको थियो ।