लोक तथा दोहोरी गायिका ज्योति मगरको चर्चा गीत भन्दा पनि उनको शरिर र उनले लाउने गरेका पहिरनबाट हुने गरेका छन्। सम्भवत: उनी जति विवादित लोकगायिका अरु कोही छैन्। लोक गायिका भएर फिल्मका हिरोइनले भन्दा पनि छोटा लुगा लगाएको भन्दै उनको आलोचना हुने गरेको छ। त्यस्तै 'गाएर' भन्दा पनि 'देखाएर' चर्चामा आउने गरेको टिप्पणी पनि उनीमाथि हुने गरेको छ। यस्ता आरोपहरुको फेहरिस्त अरु धेरै छन्। तर, स्वयमं ज्योति यी सबलाई सत्य मान्दिनन्। उनी आफ्नै 'कला' र 'गला' अगाडी बढिरहेको ठान्छिन्। उनलाई लाग्छ मान्छेले वास्तविक ज्योतिलाई चिन्नै बाँकी छ। सेतोपाटीसँगको एक साक्षात्कार उनले त्यसलाई चिर्ने प्रयास गरेकी छन्।
तपार्इंलाई अब त कसैले सोध्ने प्रश्न नै सकिए जस्तो लाग्छ? सही कुरा गर्नु भो । पत्रकारले सोध्ने प्रश्न नै सकिएजस्तो लाग्छ । उही प्रश्न अनि उनै उत्तर, अलि झ्याउ भयो। कहिले त पत्रकारले सोध्ने प्रश्नको अनुमान नै लगाउन सकिन्छ तर, कहिले फेल हु नन्छ ।
ज्योती मगरको बारेमा निकाल्नुपर्ने नयाँ कुरा छन् या थाहा भएका कुरालाई फरक कोणबाट हेर्नुपर्ने हो ?याँ पनि छन् र यसैलाई फरक तरिकाले पनि हेर्न सकिन्छ ।
फरक तरिका चाहिँ कस्तो ? अलि ‘एक्स्क्लुसिव’ र ‘पोजिटिभ’। जहिले पनि ‘एक्स्पोज’, ‘भल्गर’ का कुरा मात्र आउँछन् । केटी मान्छेको अदा राम्रो हुनैपर्छ र एउटा-एउटा अंग राम्रो हुन्छ पनि । यसैलाई सुन्दर तरिकाले लेख्न सकिन्छ नि। स्वरको कुरा गर्दा सबैको एक किसिमको मिठो ‘टोन’ हुन्छ ।
ज्योती मगरको पनि आफ्नैखाले स्वर छ, त्यो कसैले कपि गर्न सक्दैन । अझै पनि मभित्र भएको प्रतिभाको खोजी भएको छैन । राम्रो मन भएको ‘गुड ह्युमन’ भन्छन् नि, त्यो पनि छ ममा । कतिलाई म हाउडे मान्छे लाग्छ होला तर, म एकदमै संवेदनशिल नारी हूँ । जे मान्छेलाई लाग्छ त्यो म हैन् । म एकदमै ‘रियालिटी’ मा बाँच्ने मान्छे हो ।
ज्योती मगरको यथार्थ के हो?
आममानिस हूँ म । एउटा हाइटमा पुगें भनेर दुधले मुख धुने कुरा आउँदैन । मलाई त्यही पोल्ने घाम चाहिन्छ । मलाई पनि भोक लाग्छ, चामल, तरकारी किन्न बजार जान्छु । प्यास लाग्छ, पानी पिउँछु ।
श्रोता र मिडियाले माया गरेर नै म यो ठाउँमा छु भन्नुहुन्छ । के साँच्चिकै माया गरेका हुन् त ?
केही हदसम्म हो । श्रोतालाई नाच्दा, हाँस्दा, रुँदा चाहिने गीत हामीले दियौं भने उहाँहरुले माया गर्नुहुन्छ । मैले त्यही दिएको भएर नै उहाँहरुले माया गर्नुभएको हो । मिडियाको कुरा गर्दा चैं कहिलेकाहीँ समाचारको ‘टाइटल’ त्यस्तै किसिमको बनाइदिँदा चित्त दुख्छ । तर, म सकारात्मक सोच राख्ने भएकाले सोच्छु, दुध दिने गाईको लात पनि सहनुपर्छ ।
आफ्ना एकदमै नीजि कुरा भन्न सक्नुहुन्छ ?
आफ्नो एकदमै नीजि कुरा त भन्न भएन नि । समय आएपछि भनिहाल्छु ।
अलिकति क्लु ?
हिहिहि...अहिले नै भन्दा त्यसको भ्यालु घट्छ । अहिलेलाई यति मात्र भन्छु, मलाई आफ्नो भोगाइमा सर्ट फिल्म बनाउन मन छ ।
तपाईंलाई सार्है उकुसमुकुस लागेको कुरा सुनौं न, हुन्छ ?
हाहाहा...त्यस्तो उकुसमुकुस हुने गरेरै त बसिरहेको छैन । मलाई मान्छेले जहिले पनि ‘एक्स्पोज’ गरेको भरमा ज्योती हिट भइ भन्छन् । जो मान्छेमा कला या सृजना हुँदैन त्यो मान्छे ग्ल्यामर भएको भरमै संगीत जस्तो क्षेत्रमा हिट हुँनै सक्दैन् । सरस्वतीको ‘तथास्तु’ नपाइ संगीतमा कोही पनि हिट हुँदैन । स्टेजमा मान्छेहरु यत्तिकै ज्योती मगरको शरिर हेर्नै आउने होइन नि। गीत सुनेर, अदा हेरेर तालि बजाउने हुन् । शरिर देखाको भरमा हिट हुने भए त जोकोहीलाई छोटा लुगा लगाएर स्टेजमा पठाए भैगो नि। मलाई ‘एक्स्पोजर’ भन्छन् तर, म आफूलाई राम्रो ‘पर्फमर’ हूँ भन्छु । मान्छेहरुले ज्योती मगर देखाको भरमा हिट भइ भन्छन् तर, मलाई त्यो कुरा गलत सावित गर्नुछ ।
आफ्नो गीत गवाई र लवाई ठ्याक्कै मिलेजस्तो लाग्छ त ?
प्रायः गीत म आफैं बनाउँछु । मेरो गीतमा वेस्टर्न फ्युजन हुन्छ, त्यसैले मिल्छ । बिमाकुमारी दुराले गाउनेजस्तो गीतमा छोटा कपडा लगाउँदा मिल्थेन । मेरोमा चैं मिल्छ ।
अरु गायिकाहरुको नाम सुन्दा स्वरको झल्को आउँछ तर, ज्योती मगर भन्ने नाम सुन्दा चैं शरिर अगाडी गायकी पछाडी भन्नेहरु छन् । तपाईंले ‘ज्योती मगर’ लाई बनाउन खोजेको त्यस्तै हो ?
एकदमै राम्रो देखियोस् भन्ने चाहना सबैको हुन्छ । अहिले भिडियोबिनाको गीत निकाल्नुस्, पत्तासाफ भइहाल्छ । सुन्दा कानलाई र हेर्दा आँखालाई मजा आउनुपर्यो । सहरिया भनाउँदाहरुले लोकगीत गाउनेहरुलाई जुन ‘लोके’ भन्छन्, उनीहरुलाई लोकगायिका सबै साडीमै हुँदैनन्, राम्रो अदा भएका पनि हुन्छन्, लोकगीत यसरी पनि पर्फम गर्न सक्छन् है भन्ने नै मैले बनाउन खोजेको हो ।
तपाईं आफूले आफैंलाई हेर्दा कसरी हेर्नुहुन्छ ? मगर्नी हो, चिम्साचिम्सा आँखा छन् । एकदमै आकर्षक, सेक्सी त होइन । सामान्य हिसाबले हेर्दा मोटीमोटी ज्योतीभित्र पनि केही राम्रो कुरा चैं छ है भन्ने लाग्छ । शरिर मात्र हेर्दा चैं आफ्नो आँखा राम्रो लाग्छ ।
एउटा काल्पनिक प्रश्न गर्छु, तपाईंले हार्नै नसक्ने मान्छेले तपाईंको शरिर र स्वरमध्ये कुनै एउटा उपहार माग्यो भने तपाईं के दिनुहुन्छ ?
ज्योतीको स्वर र शरिर एक–अर्काका परिपुरक हुन् । शिव भगवान नै आएपनि यो दिन्छु यो दिन्न भन्ने कुरा आउँदैन । त्यसमाथि मैले हार्नै नसक्ने मान्छे आउला जस्तो लाग्दैन ।
हार्नै नसक्ने मान्छे अझै पाइएको छैन र ?
तपाईंले ‘सपनाको राजकुमार’ टाइपको कुरा गर्नुभएको होला ! राजकुमारको इन्ट्री त भइरहन्छ नि हैन ? सपनाको राजकुमार भन्ने चाहीँ छैन । प्रेम नगरेको होइन । मैले भोगाइबाट बुझेको, प्रेममा सम्झौता गर्नैपर्छ । आडभरोसा हुन्छ तर, स्वतन्त्रता हुँदैन । प्रेमको मामिलामा मेरो कमजोरी भनेको म चाँडै माफि दिने रैछु । फूलैफूलमा हनिमुन मनाउने कुरा पनि प्रेममै हुन्छन् तर, ति काल्पनिक हुन् । मैले माथि नै भनें म रियालिटीमा बाँच्छु ।
हाम्रो समाजमा अलिकति छाडाजस्तो देखियो भने यसका बाउआमा कस्ता होलान् ?
भन्ने चलन छ । तपाईंका बाआमा कस्ता हुनुहुन्छ ?
खुल्लापन त अझै पनि छैन । घरमा जाँदा सबैसँग दुरी बनाएर बस्नुपर्छ । छोटा लुगा लगाउन पाइँदैन । फतरफतर बोल्न पाईंदैन । त्यति पढेलेखेको हुनुहुन्न । कतै खुम्चिएजस्तो लाग्छ । तर, त्यो बालापन, ती मान्छे र मनसँग खेल्न पाएजस्तो लाग्छ । त्यो बेला बाँच्नुको अर्को अर्थ पनि भेटिए जस्तो लाग्छ ।
परिवारबाट कस्तो शिक्षा लिनुभयो भन्न खोजेको ?
एकदमै द्वन्द भएको परिवारमा हुर्केको हूँ । बुवा एकदमै रक्सी पिउनुहुन्थ्यो । अन्य महिलाहरुसँग पनि उहाँको सम्बन्ध रहन्थ्यो । साथीका असल बाहरु देख्दा मेरा बा पनि त्यस्तै भइदिए भन्ने लाग्थ्यो । तर, त्यही कुराले नै मलाई बलियो बनाएको मान्छु । किनकी त्यस्तो अवस्थामा ममी एक्लैले परिवार सम्हाल्नुभयो ।
बच्चाबच्ची पढाउनुभयो । मैले ममीबाटै पाठ सिकेको हूँ । हरेक युवतीहरु आफ्नो लोग्ने आफ्नो बाउजस्तो होस् भन्ने सोच्छन् । म सोच्छु, मेरो लोग्ने मेरो बा जस्तो नहोस् । तर, मेरो बाआमालाई म माया गर्छु ।
तपाईं जुन क्षेत्रमा हुनुहुन्छ, त्यो विद्रोह हो ?
गाउँमा कार्यक्रम हुँदा नचाहेर पनि लामै कपडा लगाउनुपर्छ । लोकगायिका भएर पनि फ्युजन बनाएर लोकगीत नसुन्नेहरुलाई पनि सुनाउँ भन्ने चाहीँ मेरो विद्रोह हो । मेरो बज्यैलाई कसैले तपाईंको नातिनीले छोटो लुगा मात्र लगाउँछ भनेर कुरा लगाइदिएछ । त्यसलाई हेर्दा पनि मैले विद्रोह गरेछु जस्तो लाग्छ ।
तपाईंको फेसबुकमा कतिले तपाईंलाई ‘सन्नी लियोन’ भन्दा रैछन् । कस्तो लाग्छ ?
चित्त दुख्छ । आ–आफ्नो हेराई हो । कमेन्ट गर्नेहरु पनि नराम्रा होइनन् । त्यही कमेन्टबाट उनीहरुको लेभल थाहा हुन्छ । अर्को कुरा, जसले सन्नी लियोन हेरेको हुन्छ उनीहरुले नै सन्नी लियोन भन्ने हो । राम्रो भन्न त माधुरी दिक्षित मात्र हेरेको हुनुपर्यो नि। उनीहरुले एकछिनको लागि भडास निकालेको हो कि जस्तो लाग्छ । तर, अन्तिममा माया गर्ने उनीहरु नै हुन् । टिकट काटेर आउने उनीहरु नै हुन् । हाम्रोमा भन्ने एउटा हुन्छ, ‘थट’ अर्कैतिर हुन्छ । तपाईंलाई कस्ता कमेन्टहरु गर्दा असह्य हुन्छ ?
भन्नै नमिल्ने अश्लिल शब्द हुन्छन् । म पनि कोमल मन भएको छोरी मान्छे हो, चित्त दुखिहाल्छ । अनि त्यो भन्दा बढी अगाडी ज्योती तिमी राम्री, तिम्रो गीत राम्रो भन्ने अनि पछाडी ज्योति त यस्तो या त्यस्तो भन्दा धेरै चित्त दुख्छ । प्रशंसा गर्नेहरुले चाहीँ कस्तो शब्द प्रयोग गर्छन् ?
मलाई हत्तपत्त प्रशंसा नै गर्दैनन् । गरिहाले पनि ज्योती म तिम्रो शुभचिन्तक, यसो गर उसो नगर भन्ने सुझाव आउँछन् । प्रशंसा भएका ठाउँमा भने केटी मान्छे भएर पनि लोकगीतमा ‘रकिङ’ गर्यौ भन्छन् ।
अहिलेसम्म सबैभन्दा बढी चित्त दुखेको कुनै प्रसंग छ ? अँ, एउटा पत्रिकाले मैले अन्तरवार्ता नदिँदा नै यौन र मेरो विहे भएको भन्ने झुटो अन्तरवार्ता छापेछ । त्यसपछि संगीत क्षेत्रकै एउटा मान्छेले पछिसम्म त्यही कुराले घोचिरहे । अनि, एउटा नयाँ अनलाइनमा अन्तरवार्तामा मलाई सेक्सका बारेमा सोधियो । मैले १५/१६ वर्षमा पहिलोपटक सेक्स भएको बताएँ । पछि टाइटल नै ज्योतीले १६ वर्षमा सेक्सको गरेको भन्ने बन्यो । मैले आफ्नो निजि कुरा भन्न् भनेर केटी मान्छेहरु पनि अब खुल्ला हुनुपर्छ भन्ने अभिप्रायले हो । कति मान्छेहरु सेक्समै कुण्ठित भएर आत्महत्या गरेका पनि छन् । त्यस्तो नहोस् भनेर म खुल्ला हुन खोजेको हूँ ।
ज्योती मगरको नीजि कुरा भन्ने बित्तिकै ‘सेक्स’ सँग नै किन जोडिएको होला त ?
त्यो मेरो गल्ती होइन । मिडियाको पनि गल्ती होइन । म एउटा उदाहरण दिन्छु, मेरो ‘पिरतीमा दम छ’ भन्ने गीतमा पाँच लाख लाख भ्यु छ, त्यही गीतको ‘सेक्सी भिडियो बाइ ज्योती मगर’ भन्नेमा तेब्बर भ्यु छ । अब भन्नुस् कसको गल्ती हो ?
तपाईंको मनमा कस्ता कुराहरु धेरै खेल्छन् ?
मैले अब कस्तो गीत बनाउने होला, पैसा मात्र डुब्ला कि, गीत हिट होला कि नहोला, कस्तो मान्छेसँग कस्तो सम्बन्ध बनाउने होला भन्ने हुन्छ । फ्ल्याट भाडामा लिएर बस्छु । महँगी बढ्दैछ । भोली फ्ल्याटबाट एउटा कोठामा खुम्चिनु पर्यो भने के होला भन्ने पनि चल्छ र भोली परिवार, बच्चा भएपछि मैले निभाउनुपर्ने दायित्व पुरा गर्न सक्छु कि सक्दिन होला जस्ता कुराहरु पनि दिमागमा चल्छन् ।