वीरगन्जमा मङगलबार साँझ राजपाले निकालेको मशाल जुलुश । तस्बिर : क्रान्ति शाह
वीरगन्ज : प्रदेश नम्बर १ , ५ र ७ मा बुधबार हुने स्थानीय तहको निर्वाचन बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले चुनाव नहुने प्रदेश नम्बर २ मा पनि बुधबार बन्दको आह्वान गरेको छ।
बुधबारको बन्दलाई सफल पार्न भन्दै राजपाले मङगलबार साँझ तराइ मधेसका जिल्ला सदरमुकामहरुमा मशाल जुलुश प्रदर्शन गरेको छ।
वीरगन्जमा पनि राजपाका नेता कार्यकर्ताहरुले मङगलवार साँझ बृहत मशाल जुलुश प्रदर्शन गरेका छन्। राजपाका नेता कार्यकर्ताहरुले घण्टाघर चोकबाट साँझ निकालेको मशाल जुलुश माइस्थान, आदर्शनगर, अलखीयामठ हँुदै पुन घण्टारघर चोकमै फर्किएर कोण सभामा परिणत भएको थियो।
राजपा पर्साको अध्यक्ष मण्डलका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा भएको कोणसभालाई अध्यक्षमण्डलका सदस्यहरु कृष्ण पटेल, मुस्तकीम अन्सारी, सहमहासचिव निजामुदिन समानी, नगर अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला उपाध्यक्ष ईश्वर यादव लगायतका नेताले सम्बोधन गरेका थिए।
कोणसभालाई सम्बोधन गर्दै राजपाका नेताले राजपाको बिना सहभागीता तीन वटा प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनको कुनै अर्थ नरहेको बताए। बुधबारको मतदानमा मधेसका अधिकांश मतदाताले सहभागीता नजाउने दाबी गर्दै राजपाका नेताहरुले मधेसी जनताको बाहुल्यता रहेका स्थानीय तहमा राजपाले सम्भव भएसम्म बुधबारको चुनाव बहिष्कार गरेर विफल पार्ने चेतावनी पनि दिए।
कोणसभालाई सम्बोधन गर्दै राजपाका नगर अध्यक्ष ओमप्रकाश सर्राफले निर्वाचनमा भाग लिएर अधिकार प्राप्त गरेको इतिहास नभएकाले आफूहरु अधिकार प्राप्तिका लागि नै आन्दोलनमा रहेको बताउनु भयो।
बुधबार भइरहेको मधेस विरोधी निर्वाचन बहिष्कार गर्दै तीन वटा प्रदेशमा आन्दोलनमा रहेको राजपालाई दुइ नम्बर प्रदेशको पनि साथ र समर्थन रहेको सन्देश दिन नै मङगलबार मशाल जुलुश प्रर्दशन र बुधबार मधेस बन्दको आह्वान गरिएको अध्यक्ष सर्राफले बताउनु भयो।
यसैबीच वीरगन्जमा मङगलबार बसेको राष्ट्रिय जनता पार्टी नेपाल पर्साको बैठकले बुधबारको मधेस बन्दलाई सफल पार्न मधेसी जनतासंग अपिल गरेको छ।
बैठकले बुधबार आह्वान गरेका मधेस बन्दका क्रममा बजार, शिक्षण संस्था, यातायात र कलकारखाना बन्द गरेर आफूको आन्दोलनलाई सहयोग गरिदिन वीरगन्जवासीसंग आग्रह पनि गरेको छ।