भरतपुर महानगरपालिकाको पुनः मतदान गराउने निर्णयको विरोधमा एमाले सबै प्रकारका उपचारमा जाने, एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकाल
काठमाडौँ, २० जेष्ठ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले भरतपुर महानगरपालिकाका सम्बन्धमा निर्वाचन आयोगको निर्णयका कारण प्रमुख आयुक्त वा आयुक्तहरुलाई महाभियोग लगाउने कुनै तयारी नभएको बताएका छन् ।
नेता ढकालले आफ्नो पार्टीले त्यस प्रकारको प्रतिक्रियात्मक राजनीति नगर्ने स्पष्ट पारे । उनले भने– “आफ्नो पक्षमा निर्णय भएन वा हुनुपर्छ भन्ने नाममा महाभियोगको डन्डा लगाएर संवैधानिक अङ्गका पदाधिकारीलाई तर्साउने हाम्रो पार्टीको नीति छैन, बरु सत्ता पक्षनिकटकै केही व्यक्तिले त्यस्तो गलत हल्ला चलाएका हुन सक्छन् ।”
भरतपुर महानगरपालिकाको स्थगित मतगणना सञ्चालन हुनुपर्ने माग गर्दै आएको एमाले स्थायी कमिटी आयोगले आज ९० वटा मत च्यातिएको वडा नं १९ मा पुनः मतदान गराउने निर्णयको विरोधमा सबै प्रकारका उपचारमा जाने निर्णयमा पुगेको नेता ढकालले बताए ।