चितवन, जेठ १८–
उपचारको क्रममा एक युवकको ज्यान गएपछि आक्रोशित युवाहरुले चितवन मेडिकल कलेजको सघन कक्ष (आईसियु कक्ष)मा सिसा तोडफोड गरेका छन् ।
केही दिन अघि दुर्घटनामा परि सिकिस्त भएका राप्ती नगरपालिका–९ बस्ने वर्ष १७ का रोमन तामाङको आज विहान उपचारको क्रममा मृत्यु भएपछि केही युवाले आईसियु कक्षको सिसा फुटाएको अस्पतालले जनाएको छ । आक्रोसित युवाहरुले अस्पतालमा रहेका सुरक्षा गार्डलाई कुटेर आईसियु कक्षमा प्रवेश गरेका थिए ।
आक्रोशित युवाहरुले अस्पतालका अन्य कर्मचारीहरुलाई समेत हातपात गरेको अस्पतालका अपरेशन म्यानेजर पारस अधिकारीले नारायणी अनलाईनलाई जानकारी दिए । उनले मृतक परिवारलाई घटना बारे जानकारी गराई सकेर शव उठाउने क्रममा बाहिरबाट आएका केही युवाले अन्धाधुन्ध प्रवेश गरि सिसाहरु तोडफोड गरेको जानकारी दिए । उनले भने–“एक्कासी होहल्ला गर्दै केही युवाहरु अस्पताल प्रवेश गरे, रोक्न खोज्दा खोज्दै सिसा फुटाए ।”
अपरेशन म्यानेजर अधिकारीले केहीदिन अघि देखि नै बिरामीको बारेमा अभिभावकहरुलाई जानकारी गराई सकेको र अभावकहरु पनि सबै घटना बुझि सक्दा पनि यस्तो घटना भएको बताए । “चिकित्स र अस्पतालले बिरामीलाई बचाउन नसकिने बारे जानकारी गराई सकेको थियो, आज निधन भईसक्दा पनि अभिभावकहरु अस्पतालको सबै प्रक्रिया पुरा गरि शव बुझेर लैजान तरखबर थिए”–अधिकारीले भने ।
प्रहरीले अस्पतालमा तोडफोड गर्ने ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यही वैशाख १२ गते पूर्वी चितवनको खैरहनगरपालिका चैनपुरस्थित राजमार्गमा पूर्वबाट आउँदै गरेको ना ४ च १३०६ नम्बरको बोलेरोले ना ४५ प २३८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा १७ वर्षीय तामाङ घाईते भएका थिए । उनको दुवै खुट्टा भाचिएको र फोक्सोमा समस्या भएको थियो ।