पोखरा, १८ जेठ । पोखरामा दिनहुँजसो नक्कली नेपाली नोट भेटिने क्रम रोकिएको छैन। राष्ट्रबैंकका अनुसार गएको माघ दोश्रो सातादेखि नक्कली नोट भेटिएको हो। हालसम्म पोखराबाट मात्रै १ सय ४० वटा पाँच सयका नक्कली नोट र १० वटा एक हजारका नक्कली नोट राष्ट्रबैंकमा जम्मा भैसकेको नेपाल राष्ट्रबैंक पोखराका प्रमुख पोमनाथ गौतमले बताए।
‘माघको १३ गते नै दुईवटा नक्कली नोट राष्ट्रबैंकमा आईपुगेको थियो। त्यसपछि हामीले निगरानी बढायौं, राष्ट्रबैंक पोखराका उपनिदेशक अमर अधिकारीले भने भने–केही पहिलेको भन्दा केहि कम भए पनि नक्कली नोट आउने क्रम भने नरोकिएको बताए।’
ठूलो परिणाममा नक्कली नोट भेटिएपनि नोट परिचालन बारे पत्ता लागेको छैन। ‘नक्कली नोट भेटिएपछि सबै बैंक तथा वित्तिय संस्थालाई सतर्क रहन आग्रह गरेका छौं । शंका लागेपछि उहाँहरुले राष्ट्रबैंकलाई खबर गर्नुहुन्छ, अधिकारी भन्छन्–शंका लागेका मान्छेलाई नियन्त्रणमा लियर अनुसन्धान गर्छौं।’
पोखराका विभिन्न बैंकहरूमा डिपोजिटका लागि आउने बण्डलका बीचबीचमा नक्कली नोटहरू फेला परेका हुन्। सहकारीबाट आउने बण्डलमा बढी नक्कली नोट भेटिने गरेको बैंकमा कार्यरत कर्मचारीहरु बताउ छन्। एउटै नम्बर भएका नक्कली नोट भेटिने क्रम बढ्दै गएको राष्ट्रबैंक पोखरा शाखाका अर्को उपनिर्देशक बसन्त थापाले बताए।
यो बिषयमा हामी सजग छौं।’ दिनहुँजसो नक्कली नोटको कारोबार बढेपछि पोखराका बैंकहरुले नक्कली नोट पत्ता लगाउने मेसिन जडान गर्न थालेका छन्। बैंकहरूमा रहेको ‘फेकनोट डिटेक्टर मेशिन’ ले सजिलै नक्कली नोट पत्ता लगाउँछ।