काठमाडौं, २८ जेठ — नाकाबन्दीका कारण खाद्यसामग्रीको अभाव झेलिरहेको कतारलाई इरानले पाँचवटा प्लेनलोड खानेकुरा पठाएको छ ।

इरानको प्रमुख शत्रु साउदी अरब लगायत सात मुलुकले अघिल्लो हप्ता कतारलाई आतंकवादमा लगानी गरेको आरोप लगाउँदै उससँगको कूटनीतिक सम्बन्ध तोडेका थिए । कतारले सबै आरोप खारेज गरेको छ ।
साउदी अरबसँग नाका जोडिएको कतारको ४० प्रतिशत खानेकुरा त्यहीँबाट भित्रिन्थ्यो र अहिले त्यो नाका बन्द गरिएको छ ।
नाकाबन्दी लगाउने मुलुकहरूले आफ्नो भूमिमा रहेका कतारीहरूलाई जान आदेश दिएका छन् तर कतारले ती देशका नागरिकलाई ननिकाल्ने बताएको छ ।
इरान एयरका एक प्रवक्ता शाहरोक नूशाबादीले एएफपी न्युज एजेन्सीलाई आइतवार बताए, ‘अहिलेसम्म पाँचवटा प्लेनमा फलफूल र तरकारी कतार पठाइएको छ । प्रत्येकले करीब ९० टन कार्गो बोकेका छन् भने अर्को विमान आज पठाइनेछ ।’
यो खानेकुरा सहयोग सामग्री हो कि व्यापारिक विनिमय हो भन्ने प्रस्ट छैन ।
नूशाबादीले माग भएसम्म आपूर्ति जारी रहने बताए ।
इरानको तस्निम समाचार संस्थाले रिपोर्ट गरेअनुसार ३५० टनबराबरका खानेकुरा पनि तीनवटा जहाजहरू कतारतर्फ जाँदैछन् ।
बीबीसीबाट