
काठमाडौं, २८ जेठ — नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका सदस्य उपेन्द्र यादवले निर्वाचनको वातावरण बनाउन सरकार समक्ष माग गरेका छन् ।
एक संयुक्त विज्ञप्ति जारी गर्दै भट्टराई र यादवले सरकार र आन्दोलनरत दलहरुबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने, मधेश तथा थरुहटमा भएको जनविद्रोहको क्रममा शहादत प्राप्त सबै व्यक्तिहरुलाई शहीद घोषणा गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै राजबन्दीको रिहाई, झुठा मुद्दाहरु फिर्ता तथा क्षतिपूर्ति लगायतका विषयहरुलाई यथाशीघ्र कार्यान्वयन गरी सबै शक्तिहरुलाई निर्वाचनमा आउने वातावरण निर्माण गर्न मागगरिएको छ ।
देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नुपर्ने समेत उनीहरुले बताएका छन् ।
वर्तमान स्थानीय निर्वाचनमा अग्रगामी परिवर्तनकारी शक्तिहरुलाई मजबुत बनाउन तथा स्थानीय तहबाट विकास र समृद्धि तथा सुशासनका लागि अगाडि बढ्न नयाँ शक्ति र फोरमले दोस्रो चरणको चुनावमा पनि सहकार्य गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसरी नै मुद्दा मिल्ने अरु शक्तिहरुसँग पनि तालमेल गर्न सकिने यी नेताहरुले बताएका छन् ।