मधेसवादी दललाई फकाउन देउबाले गरे यस्तो घातक घोषणा, अब के गर्ला एमाले ?

काठमाण्डौं, २३ जेठ । भावी प्रधानमन्त्रीका लागि एक्ला उम्मेदवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रस्ट पारेका छन् ।
प्रधानमन्त्रीका लागि समर्थन खोज्न विभिन्न दललाई गरिएको लिखित पत्राचारमार्फत स्थानीय तहको दोस्रो चरणको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्ने प्रस्ट्याएका हुन् । देउवाद्वारा हस्ताक्षरित उक्त पत्र ‘संविधान संशोधनपछि मात्रै निर्वाचन’ भन्ने अडान राख्ने राष्ट्रिय जनता पार्टी नेपालसहित व्यवस्थापिका संसद्भित्रका दलले प्राप्त गरेका छन् । आलोपालो सहमतिअनुसार देउवाका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि सभामुख ओनसरी घर्ती मगरले नयाँ सरकार गठनका लागि आह्वान गरेलगत्तै देउवाले पत्र लेखेका हुन् ।
‘स्थानीय तहको प्रथम चरणको निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा अब तोकिएको मितिमा दोस्रो चरणको निर्वाचन गरी संविधान संशोधनलगायत राजनीतिक दलबीच भएको सहमतिलाई कार्यान्वयन गर्दै बाँकी सबै तहको निर्वाचन सम्पन्न गर्नु हाम्रो मुख्य राष्ट्रिय अजेन्डा हुने कुरा स्मरण गराउन चाहन्छु,’ देउवाको पत्रमा उल्लेख छ, ‘यसै सन्दर्भमा व्यवस्थापिका–संसद्बाट मेरो नेतृत्वमा मन्त्रिपरिषद् गठन गर्न तपाईं र तपाईंको दलका सम्पूर्ण सांसदको समर्थनका लागि हार्दिक अनुरोध गर्छु।’ देउवाको यो निर्णयले मधेसवादी दलहरुले चुनावमा भाग लिने संभावना बढेर गएको छ ।