मैले वर्गीय शत्रूलाई यातना दिएर होइन,कञ्चटमा गोली हानेर मार्नू भनेको थिएँ : प्रचण्ड

काठमाडौं – माओवादी विद्रोहको आगोले गाउँमा राज्यको उपस्थिति पातलियो, सदरमुकाममा सीमित भयो । १० वर्षमा देश तहसनहस भयो । त्यो समयमा पनि पत्रकारलाई तुलनात्मक रूपमा उत्ति साह्रो असर परेन, जति तत्कालीन राजा ज्ञानेन्द्रले ‘कू’ गरेपछि भयो । सेना र माओवादी दुबैले पत्रकारलाई आफ्नो पक्षमा पार्ने प्रयास गर्दा केही क्रूर घटना भए पनि त्यो संख्या बाक्लो थिएन । तर, राजाले प्रजातन्त्रको घाँटी निमोठेपछि भने पत्रकारका काला दिन सुरु भए । पत्रकारहरूले नमीठा अनुभव सँगाल्न थाले ।
एकदिन दिउँसो कुन्दले कुटाइ खाए । साँझ प्रधानमन्त्रीको अन्तर्वार्ता लिन बालुवाटार पुगे । प्रचण्ड प्रधानमन्त्री थिए । प्रचण्डले भने, “ल आउनुस् वार्ता गरौं ।”
कुन्दले भने, “हामी वार्ता होइन, अन्तर्वार्ता गर्न आएका ।”
कुन्दसँगै किरण नेपाल थिए ।
दिउँसो कुटाइ खाएर गएका उनीहरूलाई प्रचण्डले यति सौहार्द व्यवहार गरे, उनीहरूको आधा पीडा नै हराएछ ।
“पुष्पकमल दाहालमा मान्छेलाई प्रभावित पार्न सक्ने शक्ति छ । उहाँले आलोचकहरूलाई पनि आफ्नो साइडमा ल्याउन सक्ने क्षमता राख्नुहुन्छ । व्यक्तिको मनोविज्ञान बुझ्ने क्षमता राख्नुहुन्छ । विगतमा आफूले गरेका सबै नकारात्मक पक्षलाई बिर्साउन सक्ने क्षमता छ,” कुन्दले त्यो दिनको प्रचण्डसँगको भेटलाई सम्झँदै भने, “हाँसीहाँसी उहाँले भन्नुभयो– हैन त्यस्तो भयो र ? त्यस्तो त हुनु नपर्ने हो । यस्तो मुभमेन्टमा केही यस्ता तत्त्वहरू छिर्छन् । के भएको रहेछ, म हेर्छु ।”
प्रचण्ड भर्खर भूमिगत जीवनबाट सार्वजनिक भएपछि होटल शंकरमा सम्पादकहरूलाई बोलाएर भनेको कुन्दले सम्झिए, “हामीमध्ये कसैले सोधेको प्रश्नमा प्रचण्डले भनेका थिए ‘हो हामीले मान्छे मार्यौं । तर मैले यातना दिनू चाहिँ कहिल्यै पनि भनिनँ । बरु वर्गीय शत्रूलाई कञ्चटमा गोली हानेर मार्नू भनेको थिएँ’ ।”
उहाँले त्यसो भन्दा हामी स्तब्ध भयौं । कति कुरा सहजै पत्याउन सकिने गरी भन्ने उहाँको कला छ । कुटाइ खाएर गएको दिन पनि उहाँले त्यो कला प्रस्तुत गर्नुभयो ।”
(बरिष्ठ पत्रकार कुन्द दीक्षितको पत्रकारिताको लामो अनुभब बारे बाह्रखरी अनलाइनमा छापिएको केहि अंश)