जेठ ३१ – साउदी अरेबियाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गरेको छ । साउदी अरेबियाका विदेश मन्त्री अदेल अल–जुबेइरले आफ्नो देशले कतारमाथि प्रतिबन्ध नलाएको दाबी गर्दै कतार प्रतिबन्धको अवस्थामा नरहेको बताउनुभएको हो ।
वासिङटनमा अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनसँगको भेटवार्ताको क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल–जुबेइरले आफ्नो देशले कतार एयरवेज तथा कतारका अरु विमान कम्पनीलाई आफ्नो देशमा उडान भर्न नदिएको तर अरु देशका विमानलाई आफ्नो देशको विमानस्थल प्रयोग गरेर कतार जान दिएकाले कतार प्रतिबन्धको अवस्थामा नरहेको दाबी गर्नुभएको हो ।

साउदी अरेबियाका विदेशमन्त्री अल–जुबेइरले भन्नुभयो ‘कतारमाथि प्रतिबन्ध लगाएको होइन । कतारलाई आवतजावतमा रोक लगाएको छैन । बन्दरगाहा र विमानस्थल खुला छन् । हामीले उनीहरुलाई हाम्रो हवाई क्षेत्र प्रयोग गर्न नदिएका हौं । अरु देशका विमान कम्पनीलाई होइन । यो हाम्रो सार्वभौम अधिकार हो ।’
टिल्लर्सनसँगको भेटमा उहाँले भन्नुभयो ‘कतारका लागि बन्दरगाहा खुला छन् । उनीहरुका लागि प्रतिबन्ध छैन । कतारले सामग्री आफूले चाहेको ठाउँमा लान तथा ल्याउन सक्छ । उनीहरुले हाम्रो समुद्री क्षेत्र भने प्रयोग गर्न पाउने छैनन् ।’
आवश्यक परेको अवस्थामा कतारमा खाद्यान्न तथा औषधि पठाउन तयाररहेको अल–जुबेइरले बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
source ujayaloonline