
साउदी अरबले कतारलाई अहिले एक्ल्याएपनि यसको पृष्ठभूमि सन् १९९५ देखि नै तयार पारेको हो । यो झगडाको लामो विगत र सम्भावित भविष्यलाई प्राकृतिक ग्यासले व्याख्या गर्न सक्छ ।
त्यो वर्ष कतारका अहिलेका अमिर शेख तमिम बिन हमाद अल थानीले साउदीप्रति झुकाव राख्ने आफ्ना पितालाई सत्ताच्युत गरेपछि यो सानो खाडी प्रायद्वीपले तरल प्राकृतिक ग्यास जहाजमा भरेर निर्यात गर्न थाल्यो । नर्थ फिल्डमा कतारको सबैजसो ग्यास छ र यो इलाका साउदी अरबको शत्रु इरानसँग सीमा जोडिएको छ ।
ग्यास बेचेर कमाएको पैसाले कतारलाई संसारको सबभन्दा धनी मुलुक मात्र बनाएन (त्यहाँको प्रतिव्यक्ति आय एक लाख तीस हजार डलर छ), संसारमा सबभन्दा धेरै प्राकतिक ग्यास निर्यातक राष्ट्र पनि बनायो । ग्यासमा जोड दिँदा कतारलाई गल्फ कोअपरेसन काउन्सिलका सदस्य अनि तेल उत्पादन गर्ने छिमेकीहरूभन्दा फरक बनायो र साउदी अरबको छायाँबाट मुक्त हुन सहयोग ग–यो ।

उनीहरूको साटो कतारले इरान, अमेरिका र रुससँग सम्बन्ध विस्तार ग–यो । कतारको सार्वभौम सम्पत्ति फन्डले गत वर्ष रुसको सरकारी रोस्नेफ्ट तेल कम्पनीमा २.७ अर्ब डलर लगानी गर्ने घोषणामा सहमति जनाएको थियो ।
‘कतार पहिले त साउदीको दास मुलुक जस्तो थियो तर उसले आफूसँग भएको ग्यास बेचेर सम्पत्ति जोड्दै गयो र स्वतन्त्र भूमिका निर्वाह गर्न थाल्यो,’ अमेरिकाको टेक्सासस्थित राइस विश्वविद्यालयको बेकर इन्स्टिच्युटमा ऊर्जा अनुसन्धान फेलो जिम क्रेन बताउँछन् । ‘उक्त क्षेत्रका अन्य मुलुक कतारको पंख काट्न चाहन्छन् ।’
ट्रम्पको भ्रमण
यो अवसर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको हालैको साउदी अरब भ्रमणले दिलायो । उनले इरानलाई एक्ल्याउन ‘सबै विवेकी मुलुक’ लाई आह्वान गरे । कतारले यसमाथि सार्वजनिक असहमति देखाएपछि (तर यो असहमति ह्याक भएको सामग्री भएको सरकारले बतायो) साउदीको नेतृत्वमा कतारमाथि बदलाको अभियान शुरु भयो ।

सबभन्दा महत्त्वपूर्ण कुरा भनेको कतारको प्राकृतिक ग्यास उत्पादन साउदी अरबको तेल कार्टेल ओपेकबाट मुक्त छ ।
कतारका नयाँ अमिरले सन् १९९६ मा कूबाट जोगिएपछि कतारलाई आफ्ना खाडी छिमेकीहरूका बजारसम्म पुग्ने पाइपलाइन बनाएनन् । कूको षड्यन्त्र गरेको आरोप लागेका कतारका दुई वरिष्ठ अधिकारीले पूर्पक्षका क्रममा सन् २००० मा साउदी अरबको सम्मतिमा बहराइनले कूको प्रयास गराएको बताएका बीबीसीले लेखेको थियो ।
त्यतिखेर तेलउत्पादक धनी मुलुकहरूले प्राकृतिक ग्यासलाई काम नलाग्ने चीज मान्थे । तेलको कुवामा ग्यास हाल्दा झन् बढी तेल निकाल्न सकिने भएकाले यसको काम त्यति मात्र हो भन्ने उनीहरूको धारणा थियो । उनीहरू विश्वबजारको मूल्यको केही भाग मात्र प्राकृतिक ग्यासमा खर्च गर्न चाहन्थे भनी क्रेनले कतार विश्वविद्यालयका स्टिभन राइटसँग मिलेर लेखेको पेपरमा उल्लेख छ ।
खाडीमा ग्यास निर्यातका लागि एकमात्र पाइपलाइन डल्फिन प्रोेजेक्ट कतारको नर्थ फिल्डबाट युएई र ओमानसम्म पुग्छ र यो पनि अहिले आधीदेखि दुईतिहाइ मात्र काम गरिरहेको छ । अघिल्लो वर्ष हस्ताक्षर गरिएको सम्झौताले बाँकी ग्यास निर्यात गराउने भएपनि कतारको बहुसंख्यक निर्यात एसिया र युरोपको बजारमै हुने गरेको छ ।
छिमेकीहरूलाई चिढ्याउँदै
हालैको कुरा गर्दा खाडी मुलुकमा बिजुली उत्पादनका लागि प्राकृतिक ग्यासको माग बढ्दो छ । अनुसन्धानका अनुसार उनीहरू महंगो खर्च पर्ने प्राकृतिक ग्यास आयात र जमीनबाट निकाल्न पनि महंगो पर्ने ग्यास खानीको सर्वेक्षण गरिरहेका छन् । तर कतारले संसारमै सबभन्दा कम मूल्यमा ग्यास निकालिरहेको छ ।

कतारले ग्यास बेचेर कमाएको सम्पत्तिको बलमा छिमेकीलाई रिस उठ्नेगरी विदेशनीति बनाउन पाएको छ । उसले इजिप्टमा मुस्लिम ब्रदरहूडलाई, गाजापट्टीमा हमासलाई अनि लिबिया र सिरियामा युएई वा साउदी अरबले मन नपराएका सशस्त्र समूहलाई समर्थन गरेको छ । यही ग्यासको पैसाले विश्वव्यापी टीभी नेटवर्क अल जजीरा पनि चल्छ । अल जजीराले अनेकौं अवसरमा धेरैजसो मध्यपूर्वी सरकारलाई लज्जास्पद वा क्रुद्ध बनाएको छ ।
सबभन्दा ठूलो कुरा त ग्यासले गर्दा कतारले शिया मुलुक इरानसँग साझेदारीको क्षेत्रीय नीति प्रवर्द्धन गरी आफ्नो सम्पत्तिको स्रोतलाई सुरक्षित गर्ने अवसर पाएको छ ।
अहिलेको द्वन्द्वका लागि ग्यास तत्कालीन कारण होइन तर ‘कतारले किन आफ्ना छिमेकी मुलुकहरूलाई ग्यास आपूर्ति गर्न नमानेको हो भनी प्रश्न गर्न सकिन्छ,’ भन्छन् स्टिभन राइट । ‘कतारले आफूहरूलाई छुट मूल्यमा ग्यास बेच्ला भन्ने उनीहरू अपेक्षा गर्थे ।’
अब के ?
छिमेकीहरूलाई झन् चिढ्याउँदै सन् २००५ मा कतारले नर्थ फिल्डको थप दोहन नगर्ने घोषणा गरेको थियो । विकास जारी राखेको भए खाडीमा अझ धेरै ग्यास निर्यात गर्ने अवसर हुन्थ्यो ।

नर्थ फिल्डको दोहनमाथिको प्रतिक्रिया परीक्षणका लागि बन्द गरिएको कतारले बतायो अनि इरानको संवेदनशीलतासँग झुकेको आरोप अस्वीकार ग–यो । इरानले चाहिँ नर्थ फिल्डको आफ्नो हिस्साबाट अत्यन्तै सुस्त गतिमा ग्यास निकालिरहेको थियो । इरानले पनि दोहन दर कतारकै स्तरमा पु–याएपछि भने दुई वर्षे प्रतिबन्ध एक दशकपछि अप्रिलमा फुकुवा गरिएको थियो ।
‘साउदीहरू कतारले के गरोस् भन्ने चाहन्छन् भनी यहाँ मानिसहरू टाउको कन्याइरहेका छन्,’ गर्ड नोन्नेम्यान बताउँछन् । उनी जर्जटाउन विश्वविद्यालयको दोहा क्याम्पसमा अन्तर्राष्ट्रिय सम्बन्ध र खाडी विषयका प्राध्यापक हुन् । ‘उनीहरू कतारले पूर्ण आत्मसमर्पण गरोस् भन्ने चाहना राख्छन् तर कतारले मुस्लिम ब्रदरहूडलाई आतंकवादी संगठन भन्दैन, किनकि त्यो आतंकवादी होइन । अनि उसले इरानसँग सम्बन्ध पनि तोड्दैन किनकि कतारको आर्थिक विकासका लागि उक्त सम्बन्ध महत्त्वपूर्ण छ ।’