
वैशाख ३१ गते एकै चरणमा हुने भनिएको स्थानीय तहको निर्वाचनको मिति हुँदाहुँदा आज चौथो पटक सरेको छ। पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ मा निर्वाचन भइसकेपछि बाँकी प्रदेशहरु १, २, ५ र ७ मा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो। संविधानप्रति असन्तुष्टि जनाइरहेक मधेसकेन्द्रित दलहरुको पार्टी बनिसकेको मोर्चा राजपा नेपाललाई चुनावमा सहभागी गराउन केही समय सार्ने उद्देश्यले असार ९ गते निर्वाचनको मिति तोकिएको थियो। यो दोस्रो पटक सारिएको मिति थियो।
तर असार ९ गते इस्लाम धर्मावलम्बीहरुको रमजानको अन्तिम दिन पर्ने भन्दै विरोध भएपछि प्रचण्ड नेतृत्वको सरकारले दोस्रो चरणको चुनावको मिति असार १४ गतेलाई सारेको थियो।
यो बीचमा प्रचण्डले राजीनामा दिई शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकार बन्यो। गणतन्त्र कालमा नै निर्वाचन गराउन नसकेर राजाले ‘असक्षम’ को आरोप लगाई हटाइएका देउवाले गणतन्त्र कालमा चुनाव गराउन सक्छन् कि सक्दैनन्, सबैको चासोको विषय थियो।
धेरैले तेस्रो चरणको निर्वाचन हुन सक्ने शंका पहिल्यै गरिसकेका थिए। तर चुनाव नसार्ने भन्ने कुरा पनि सरकार पक्षबाट आइरहेका थिए। सरकार र विपक्षी एक नभएसम्म संविधान संशोधन पास नहुने र संविधान संशोधन पास नभएसम्म चुनावमा राजपा भाग नलिने भएकोले कठिनाइ थिए।
अन्ततः चुनावका लागि उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिन सरकारले प्रदेश नम्बर २ को निर्वाचन सार्ने औपचारिक निर्णय गरिदियो। त्यो पनि तीन महिनापछि अर्थात् असोज २ गते बल्ल। अर्थात् सरकार र राजपा दुवैले तनावलाई असोज २ गतेसम्म सारिदिए।
प्रदेश नम्बर २ को चुनाव असोज २ मा सारिए पनि राजपाका केही नेताले प्रदेश नम्बर १ र ५ मा आन्दोलन जारी राख्ने कुरा गरेका छन्। यो भन्नु निर्वाचन बिथोल्ने कुरा हो। यदि राजपाको केन्द्रीय बैठकले नै यस्तो निर्णय गर्ने हो भने असोज २ सम्म प्रदेश २ को निर्वाचन सारेर तनाव सारेको ठानेकाहरुलाई अर्को तनाव हुनेछ।
निर्वाचन आयोगले योसँगै बाँकी प्रदेशहरुको भोलिदेखि हुन लागेको उम्मेदवारी मनोनयनको समयलाई पनि दुई दिन सारेको छ।


संयोग के रह्यो भने आज बिहान प्रदेश नम्बर ३ बाट प्रदेश नम्बर २ का लागि हिँड्दा भोलि चुनावका लागि मनोनयन दर्ता गर्ने दिन थियो। बाटैमा थाहा भयो, निर्वाचन सर्यो। निर्वाचन सरेको थाह हुँदै गर्दा प्रदेश नम्बर २ मा पसियो। प्रेसको गाडी हुनाले हामीलाई त रोकिएन तर यात्रुवाहक र मालवाहक गाडीको लामो लाइन ठाउँठाउँमा रोकिएका थिए। पूर्वपश्चिम राजमार्गमा आन्दोलनकारीहरु दुई तीन ठाउँमा मात्रै देख्यौँ तर पूरै राजमार्ग ठप्प थियो। मोटरसाइकलहरु भने चलेका थिए।

कोशी पारी रोकिएका सार्वजनिक यात्रुवाहक तथा मालवाहक गाडीको लाइन। आन्दोलनकारीहरुले दिनभर गाडी रोकी रातिमात्र जान दिइरहेका छन्।