दैलेख, १ असार- कालिकोटको जितेगडाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको बस बुधबार दैलेखको आठबीस नगरपालिका–४ नैनलदेव मन्दिरनजिक दुर्घटना हुँदा ११ को मृत्यु भएको छ । २१ घाइते भएका छन् ,नयाँ पत्रिकाले खबर छापेको छ ।

बस कर्णाली राजमार्गबाट तीन सय मिटर तल खसेर कर्णाली नदीमाथिको भीरमा अड्केको छ । मृतकमध्ये दशको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी इन्स्पेक्टर एकेन्द्र खड्काका अनुसार मृत्यु हुनेमा आठ पुरुष, दुई महिला र एक नाबालक छन् । बसमा ३२ यात्रु रहेको प्रारम्भिक जानकारी आएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शी दीपक दशौदी भन्छन् -
दिउँसो साढे ३ बजेतिर दुर्घटना भएको हो । बस कर्णाली नदीमाथि भीरमा अड्किएको छ । म दुर्घटना भएको थाहा पाउनेबित्तिकै त्यहाँ पुगेँ । बस टुक्राटुक्रा थियो । मृतक र घाइतेहरू बसबाट उछिट्टिएको अवस्थामा थिए । त्यहाँ पुगेपछि एकछिन आत्तिएँ । मृत्यु भएका धेरै थिए । चिनेका अनुहार छन् कि भनेर हेर्दै थिएँ । एकाएक आफ्नै साथीको मृत्यु भएको हल्ला चल्यो । झन् तनाव भयो ।
राकम कर्णाली कृषि सेवा केन्द्रका जेटिए धीरेन्द्रकुमार बिसीको शव मेरै अगाडि थियो । आज (बुधबार) बिहान मात्रै फिल्डको काममा गएका थिए । अस्ति (सोमबार) बिहान कुराकानी भएको थियो । चुनावमा पनि सँगै खटिएका थियौँ । उनी दुर्घटना हुनुभन्दा १० मिनेटअघि मात्र बस चढेका रहेछन् । राकम कर्णाली फर्कन बस चढेका थिए । उनले केही दिनमा नै बिहे गर्ने भनेका थिए । उनको सपना पूरा भएन ।