
अन्ततः प्रदेश नं.२ मा स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सर्दा सर्दा तीन महिनापछि अर्थात् असोज २ मा पुगेको छ । यो समाचार आज समीक्षित सबै पत्रिकामा महत्त्वका साथ समेटिएको देखिन्छ ।
नागरिक दैनिकले अर्जुन सुवेदीले लेखेको ‘निर्वाचन चौथोपटक सारियो; प्रदेश २ मा असोज २ गते, १, ५ र ७ मा असार १४ मै’ शीर्षक समाचारलाई ब्यानर बनाएको छ । समाचारअनुसार सरकारले निर्वाचन आयोगको सहमतिबिनै प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचन असोज २ गते सारेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त निर्णय गरेको हो । समाचारमा असार १४ गते मतदान हुने प्रदेश नम्बर १, ५ र ७ मा उमेदवारको मनोनयन दर्ता मिति पनि असार ४ गतेलाई सरेको उल्लेख छ ।
नागरिकमा सोही समाचारको पूरकका रूपमा बालकृष्ण अधिकारीले ‘स्थानीय तहको संख्या बढाउने सहमति’ शीर्षक समाचार लेखेका छन् । समाचारअनुसार सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउन प्रदेश नम्बर २ को निर्वाचनअघि नै स्थानीय तहको संख्या थप गर्ने भएको छ । असार १४ को निर्वाचनपछि स्थानीय तहको संख्या थप गर्न सरकारले संवैधानिक र कानुनी जटिलता हटाउँदै राजपाको मागलाई सम्बोधन गर्ने आश्वासन दिएको समाचारमा उल्लेख छ । राजधानीमा निर्वाचन मिति पर सार्ने निर्णयकै पूरक समाचारका रूपमा ‘अझै बुझेन राजपाको चित्त’ शीर्षक दिएर भुवन शर्माले एक अर्को समाचार लेखेका छन् । समाचारमा निर्वाचन पर सार्ने सरकारको निर्णयबारे प्रतिक्रिया व्यक्त गर्दै राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सरकारको यो निर्णय आफूहरूलाई मान्य नभएको बताएका छन् । उनले भनेका छन्, ‘‘२ नं.प्रदेशमा मात्र चुनाव सारेर हुँदैन । लिम्बुवान, थरुहट र मधेसका सबै ठाउँमा चुनाव मिति सार्नुपर्छ र असोज २ गते गर्नुपर्छ । २ नम्बर प्रदेशमा मात्र चुनाव सार्ने निर्णय हामीलाई मान्य छैन ।’’
नागरिकको मुख्य समाचारअन्तर्गत ‘मधेसका लागि घातक निर्णय’ राखेर संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको प्रतिक्रिया समेटिएको छ । यादवले आफ्नो प्रतिक्रियामा मधेसलाई घेराबन्दीमा पार्न कांग्रेस र माओवादी केन्द्र मिलेर षड्यन्त्र बुनेको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको टिप्पणी गरेका छन् । नागरिकको मुख्य समाचारअन्तर्गत नै रहेर ‘एमालेको आपत्ति’ शीर्षक समाचारमा निर्वाचन सार्ने निर्णयलाई एमालेले राष्ट्रिय एकता कमजोर पार्ने प्रयासका रूपमा टिप्पणी गरेको छ ।
चुनाव सार्ने निर्णयबारे अन्नपूर्ण पोस्टमा ‘प्रदेश २ मा असोज २ गते चुनाव’ शीर्षक दिएर गोविन्द परियारले समाचार लेखेका छन् । समाचारमा २ नं.को चुनाव सारिएपछि अन्य प्रदेशमा असार १४ गते हुने चुनावमा राजपा सहभागी हुने सत्तापक्षको अपेक्षा उल्लिखित छ । सोही समाचारको पूरकका रूपमा चिरञ्जीवी ढुंगानाले लेखेको ‘राजपाको निर्णय आज’ शीर्षक समाचारमा निर्वाचन सार्ने निर्णयबारे राजपाको आज बस्ने बैठकमा छलफल हुने उल्लेख छ ।
कान्तिपुरमा दुर्गा खनालले लेखेको ‘फेरि सर्यो चुनाव, प्रदेश २ मा असोज २ गते’ शीर्षकलाई मुख्य समाचार बनाइएको छ । सोही समाचारको पूरकका रूपमा ‘राजपामा कोही रुष्ट, कोही सन्तुष्ट’ शीर्षक एक अर्को समााचार पनि कान्तिपुरमा छ । राजपामा कोही रुष्ट र कोही सन्तुष्ट बनेको कान्तिपुरको समाचारलाई राजधानीमा सुभाष साहले लेखेको ‘राजपामा दुई धार’ शीर्षक समाचारले पनि पुष्टि गर्छ ।
चुनाव सारिएको मधेसलाई चित्त बुझेन
नयाँ पत्रिकामा सुरेश बिडारीले लेखेको ‘निर्वाचन सार्दा मधेस नै दुःखी’ शीर्षक समाचारलाई मुख्य खबर बनाइएको छ । समाचारमा भनिएको छ, ‘‘प्रमुख दल मात्र होइन, फोरम र लोकतान्त्रिक फोरमसहितका दलमा आबद्ध स्थानीय नेता उमेदवारी पाउनेमा विश्वस्त थिए भने सर्वसाधारण मतदानका लागि उत्सुक थिए । तर, फेरि पनि निर्वाचन सरेको र सारिएको मितिमा पनि निर्वाचन हुने निश्चित नभएकाले मधेस निराश भएको छ ।’’
यो समाचारलाई नागरिकमा ‘चुनाव सारेकोमा मधेसमा असन्तुष्टि’ शीर्षक दिइएको छ । सुरेश यादवले जनकपुरबाट, मिथिलेश यादवले लहानबाट र मदन ठाकुरले रौतहटबाट उक्त समाचार प्रेषित गरेका हुन् ।
तस्बिर समीक्षा
राजधानी दैनिकमा मुस्लिम धर्मावलम्बीको रमजानका अवसरमा गरिब तथा अशक्त परिवारलाई निःशुल्क वितरण गरिएको खाद्यसामग्री बोकेर त्रिचन्द्र कलेजबाट निस्किँदै गरेका महिलाहरूको दृश्य मुख्य छ ।
गोरखापत्रले लोकसेवा आयोगको ६७ औं वार्षिकोत्सव कार्यक्रम उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दैगर्दाको तस्बिरलाई मुख्य बनाएको छ ।
हिमालय टाइम्समा सरकारका प्रवक्ता उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पत्रकारका प्रश्नको जवाफ दिँदै गरेको तस्बिर मुख्य बनेको छ । अन्नपूर्ण पोस्टले राजधानीमा बिहीबार बसेको सत्तारूढ दल र सत्तासमर्थक राजपाका शीर्ष नेताहरूबीचको बैठकलाई मुख्य बनाएको छ ।
सम्पादकीय
राजधानीको सम्पादकीयको शीर्षक ‘स्वास्थ्यप्रति सचेत होऊ’ छ । गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप बढेको परिस्थितिबारे सम्पादकीयमा विवेचना गरिएको छ र जनतालाई स्वास्थ्यप्रति सचेत रहन ध्यानाकर्षणसमेत गरिएको छ ।
गोरखापत्रले ‘संस्थानमा सामान्य सिद्धान्त’ शीर्षक सम्पादकीय लेखेको छ । सम्पादकीयमा लोकसेवा आयोगले नेपाल सरकारका पूरा वा आंशिक स्वामित्वमा रहेका सार्वजनिक संस्थानमा यही असार एक गतेदेखि कर्मचारीसम्बन्धी एउटै सामान्य सिद्धान्त लागु गरेको उल्लेख छ ।
हिमालय टाइम्सले ‘असोज २ अन्तिम मिति बनोस्’ शीर्षक सम्पादकीय लेखेको छ ।
नागरिकको ‘देउवाको ‘अक्षम’ यात्रा’ शीर्षक सम्पादकीयमा ‘‘देउवा हठको चक्रव्यूहमा पर्दै गए भने यसपटक पनि निर्वाचन गराउन फेरि ‘अक्षम’ साबित हुन बेर छैन’’ भनिएको छ ।
नयाँ पत्रिकाले ‘दबाबमा सरकार’ शीर्षक सम्पादकीय लेखेको छ ।
कान्तिपुरको ‘मातृशिशु स्वास्थ्यलाई प्राथमिकता’ शीर्षक सम्पादकीयमा बाजुराको साप्पाटा रुणीगाउँकी एक जना महिलाको दृष्टान्त दिँदै मातृशिशु स्वास्थ्यमा नेपालको समग्र प्रगति प्रशंसनीय रहे पनि दुर्गम भेगमा सुत्केरी र नवजात शिशुको ज्यान अझै जोखिममै रहेको उल्लेख छ ।
अन्नपूर्ण पोस्टमा ‘निर्वाचनको भविष्य’ शीर्षकमा सम्पादकीय लेखिएको छ । सम्पादकीयमा पटकपटक निर्वाचन सारिँदा पहिले सम्पन्न निर्वाचनको वैधानिकतासमेत अन्योलमा पर्ने र यसले अस्थिरता सिर्जना गर्नेतर्फ ध्यानाकर्षण गर्दै यसको व्यावहारिकता परीक्षण गर्नुपर्ने उल्लेख छ ।