
छिमेकी मुलुकहरुले लगाएको नाकाबन्दीका बीच कतारले अमेरिकासँग १२ खर्ब रुपैँया बराबरको लडाकु विमान किन्ने सम्झौता गरेको छ। ट्रम्प प्रशासनले खाडी मुलुकमा जारी कूटनीतिक तनाव मत्थर पार्ने कोशिस गरेसँगै कतारले अमेरिकाबाट कम्तीमा ३६ एफ–१५ विमान किन्ने सम्झौता भएको हो।
कतारका रक्षामन्त्री खालिद अल अत्तिया र अमेरिकी रक्षामन्त्री जिम म्याटिसबीच वाशिंगटनमा सो सम्झौता भएको जनाइएको छ।
‘१२ अर्ब डलरको व्यापारले कतारलाई अधिकतम आधुनिक क्षमता दिनेछ र अमेरिका तथा कतारबीच सुरक्षा सहकार्यलाई बढाउनेछ,’ अमेरिकी रक्षा मन्त्रालयले भनेको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँग एक सय १० अर्ब डलर बराबरको हतियार सम्झौता गरेका थिए।
त्यसपछि साउदीसहितका देशहरुले कतारमाथि नाकाबन्दी लगाएका थिए। त्यसबारे अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले तटस्थ अभिव्यक्ति दिए पनि राष्ट्रपति ट्रम्पले भने नाकाबन्दीको समर्थन गरेका थिए।
बुधबार नै दुई अमेरिकी नौसैनिक जहाज संयुक्त सैन्य अभ्यासका लागि कतारको राजधानी दोहा आइपुगेको बताइएको छ। एजेन्सी