
काठमाडौं, २५ जेठ - प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरु पदभार ग्रहण गर्ने वित्तिकै जोखाना हेराउन स्वामीको शरणमा पुगेका छन् । सन्त कृष्णदास जी महाराजसँग देउवासहित मन्त्रीहरु जोखाना हेराउन पुगेका हुन् ।
कृष्णदासले आफ्नो फेसबुक मार्फत प्रधानमन्त्री तथा मन्त्रीहरुको फोटो सार्वजनिक गरेका छन् । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा पनि उनले प्रचण्डलाई भैंसी पूजा गराएका थिए ।
देउवा मंगलवार प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । उनले बुधबार शपथग्रहण गरेर कार्यभार सम्हालेका थिए ।
प्रधानमन्त्री देउवासँग उनकी पत्नी आरजु देउवा पनि थिइन् । तस्बिरमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा सन्तलाई प्रणाम गरेको अवस्थामा देखिन्छन् ।

अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि सन्तसँग आशिर्वाद लिन पुगेका थिए ।अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पनि सन्तसँग आशिर्वाद लिन पुगेका थिए ।

सन्त कृष्णदास जीका अनुसार प्रधानमन्त्री देउवा र अर्थमन्त्री कार्कीको तस्बिर नयाँ हो ।

महरा र गच्छदारको तस्बिर पुराना हुन् । सन्तले यी ठूला नेताहरु बेला बेलामा आफूकहाँ आशिर्वाद लिन आउने बताएका छन् ।

बुधवार प्रकाशित भएको जनआस्था साप्ताहिकले पनि देउवाले ज्योतिषकोमा जोखाना हेराएको कुरा उल्लेख गरेको थियो । सन्तले आज फोटोहरु सार्वजनिक गरेका हुन् ।
यस्तो लेखेको थियो जनआस्थाले समाचार
गहिरिएर पढ्नुभयो भने तीन दलबीच सोमबार भएको चार बुँदे सहमतिमा दुई त्यस्ता बुँदा परेका छन्, जसले हिजो मंगलबारभित्र शेरबहादुर देउवालाई चौथोचोटि प्रधानमन्त्री नबनी नहुने बाध्यता झल्काउँछ । त्यो हो, ज्योतिषीले दिएको सल्लाह । उनी लोकतन्त्र, धामी–झाँकी, जोखनामा अति नै विश्वास गर्ने । बाल्टिनबाबा, कालिबाबा, पाइलटबाबाहरुसँग संगत छुटेको छैन ।
दशै औंलामा औँठी लगाएको पनि देखाएकै हो । भनिएको के रहेछ भने, असार १५ गुज्रियो भने मुस्किल छ । जेठ भित्रै भए राम्रो । नत्र, अप्ठेरो पर्छ । त्यसकारण देउवा दोस्रो चरणको चुनावसम्म पनि पर्खन नसक्ने अवस्थामा पुगेका रहेछन् । दोस्रो चरणको चुनाव मध्यअसारमा हुँदैछ । झरी–बाढी, पहिरोका कारण खोलानाला बढ्ने, मतदान केन्द्र असुरक्षित हुने, मतपेटिका ओसार्न पनि गाह्रो हुने बेला हो यो ।
उनलाई अंगिरश न्यौपाने, सन्तोष बाशिष्ट, जगतगुरु आचार्य वीरेन्द्रहरुले जसरी पनि २४ गते नकटाउनु भनेका हुन् । देउवाले विश्वस्तहरुलाई १९ देखि २३ सम्म उपत्यका बाहिर नजानु भनेका थिए । ज्योतिषहरुलाई बूढानीलकण्ठ बोलाएर जन्मकुण्डली देखाउँथे । चिना हेराउने काम वैशाखदेखि नै तीव्र गतिमा अघि बढेको हो । कहिले आरजु, कहिले आफैं चिना फिँजाउन कस्सिन्थे ।
यसरी धेरै दुःखले हुन लागेको प्रधानमन्त्री संसदको गतिरोधका कारण मात्र अड्किने भएपछि सोमबार एमालेसहितका दलबीच सहमति भएको बताइन्छ । जसमा ‘निर्वाचनसम्बन्धी विगतमा भएका कमी–कमजोरी सच्याउँदै अघि बढ्ने’ भनिएको छ । यसको मतलब कमी–कमजोरी भएका रहेछन्, त्यसलाई काँग्रेस–माओवादीले स्वीकारेको प्रमाण हो यो । अर्को बुँदामा छ, ‘आगामी निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढंगले सम्पन्न गराउने ।’
यसले पनि के भन्छ भने, विगतमा गड्बडी भएकै हो । सँगसँगै चुनावको प्रतिवद्धता दोहोर्याइएको छ । असार १४ को गराएरै छाड्ने, माघ ४ भित्र प्रदेश र केन्द्रीय संसदको चुनाव पनि गराएरै छोड्ने प्रतिवद्धतासहित सहमतिपत्र तयार भएको छ । आउने निर्वाचनमा अनियमितता नहुने कुराको सुनिश्चितता पनि पोखिएको छ ।