
पश्चिम लण्डनको केन्सिन्टनस्थित २४ तले आवासीय भवन ग्रेनफेल टावरमा बुधबार राती भीषण आगलागी भयो। यो आवासीय भवनमा लागेको अगलाली ज्यादै भयावह थियो। आगलागीमा नेपाली नागरिक पनि परेको हुनसक्ने अनुमान गरिएको थियो। तर आगलागीमा हालसम्म कुनै नेपाली नपरेको बेलायत स्थित नेपाली राजदूतावासले जनाएको छ।
‘हामीले स्थानीय काउन्सिलसँग घटनामा बारे नियमित संपर्क गरिरहेका छौं, तर अहिलेसम्म कुनै नेपाली परेको खबर छैन। ’ दूतावासका उपप्रमुख शरदराज आरणले भने। १२० फल्याट रहेको ६८ मिटर अग्लो भवनमा राति करिब १२ बजेर ५४ मिनेट जाँदा आगलागी शुरु भएको थियो। लण्डन अग्नि नियन्त्रक ब्रिगेडले १ बजेर २९ मिनेटमा आगलागीको खबर पाएपछि ६ मिनेट भित्रमा आगलागी स्थलमा पुगेको थियो। तर पनि बिहानसम्म पनि अागो नियन्त्रणमा अाउन सकेको थिएन।
४५ वटा दमकलमा आएका दुई सयभन्दा बढी अग्नि नियन्त्रकले आगो नियन्त्रण गर्न कोशिस गरेका थिए। तरपनि आगो बिहान ११ बजेसम्म पनि निभाउन सक्ने स्थिति थिएन। यो आगलागी लण्डनको अहिलेसम्मकै ठूलो आगलागी मध्ये एक भएको कुरा अग्नि नियन्त्रकहरु बताउँछन्।

आगलागीबाट राति भवनभित्र मानिसहरुको चित्कार र कोलाहल मचिएको थियो। कति भवनको झ्यालबाट हामफाले त कतिले आफना केटाकेटीहरुलाई झ्यालबाट फाले। भवनभित्रबाट मानिसहरु झ्यालबाहिर हेरी चिच्याउँदै सहयोगको याचना गरिरहको कुरा स्थानीय प्रत्यक्षदर्शीहरु बताउँछन्।
आगलागीबाट अहिलेसम्म ६ जनाको मृत्यु हुनुका साथै दर्जनौ मानिस अझै बेपत्ता छन्। राति अकस्मात लागेको आगलागीबाट हताहती धेरै हुन सक्ने अनुमान लण्डन अग्नि नियन्त्रक ब्रिगेडले गरेको छ। हाल लण्डनका विभिन्न अस्पतालमा ६४ जनाको उपचार भइरहेको जानकारी लण्डन एम्बुलेन्स सर्भिसले जनाएको छ।
भवनभित्र आगलागी हुँदा बज्ने फायर अलार्मले काम नगरेकोले पनि मानिसहरुले आगलागी शुरु हुनासाथ धेरैले भएको थाहा नपाएको कुरा बच्न सफल भएका भवनका बासिन्दाहरु बताउँछन्। लण्डन मेयर सादिक खानले घट्नाबाट आफू मर्माहत भएको बताएका छन्। उनले भने ‘यो भयानक दृश्यबाट मेरो ज्यादै मर्माहत भएको छु , म रातभर फायर ब्रिगेडको सम्पर्कमा रहेर काम गरिरहे, म आपतकालीन सेवामा सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु।’

अागलागी कसरी भयो?
आगलागीको सम्बन्धमा आधिकारिक रिपोर्ट अहिलेसम्म आएको छैन। तर भवनको चौथो तलामा रहेकोे बिग्रेको फ्रिजबाट निक्लेको आगोको झिल्कोबाट आगलागी शुरु भएको डेली मेल पत्रिकाले जनाएको छ। सन् १९७४ मा निर्मित उक्त टावर गत वर्ष मे २०१६ मा मात्र १० लाख पाउण्ड खर्च गरी मर्मत संहार गरिएको थियो। मर्मत गर्दा भवनका भित्ताहरुमा आलमोनियमका नयाँ फ्रेमहरु जडान गरिएको थियो। त्यो आलमेनियम फ्रेम नै झन चर्कोसँग जलेको हुनाले भवनको जल्न फ्रेम झन सहयोगी भएको अनुमान अग्नि नियन्त्रकहरुले गरेका छन्।