
काठमाडौं । झापाको दमकमा धारिलो हतियार प्रहार गरि ९ वर्षिया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
दमक नगरपालिका–४ स्थित हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गंगा दाहालको बुधबार साँझ स्कुलबाट घर आउँदै गरेका बेला धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बुका अनुसार विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको थियो ।
प्रहरीले हत्यामा संलग्न देखिएको आशंकामा मृतक बालिकाकै दिदीसहित ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । घटना केका लागि गराएको भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । मृतक बालिका दमकको हिमालय माविमा कक्षा २ मा अध्ययनरत थिन् ।