सडक दुर्घटना कम गरी सवारी व्यवस्थापनमा नयाँ नयाँ नियम ल्याएर सडक यात्रुहरुलाई कसिकसाउ गर्ने गरिए पनि दुर्घटना गराउनेका विषयमा सापेक्ष कानुन बन्न सकेको छैन ।
मुलत: सडक दुर्घटना हुँदा घाइते यात्रुलाई गाडी ब्याक गरेर मार्ने प्रवृत्ति बढ्दो छ । घाइते भए ठूलो रकम खर्च गरेर उपचार गराउनुपर्ने तर मृत्यु भएमा तेस्रो पक्ष विमानमार्फत सरकारले क्षतिपूर्ति दिने हुँदा गाडी चालकहरुले घाइतेको हत्या गर्ने गरेका छन् ।
अहिले सडकमा जजथाभावी बाटो काट्नेलाई जरिवाना गर्न थालिएको छ । यसैबीच सार्वजनिक यातायातले सडकमा हिँड्ने यात्रुलाई ठक्कर दिँदा ब्याक गरेर मार्ने प्रवृत्तिलाई कानुन बनाई अन्त गरिनुपर्नेमा जोड दिइएको छ ।
काठमाडौंका सडकमा जेब्रा क्रसिङको राम्रो व्यवस्था छैन । ट्राफिक लाइटहरुको हालत नाजुक छ । बाटो काट्नका लागि सुविधाजनक रुपमा व्यवस्था गरिएको छैन ।
जथाभावी बाटो काट्ने प्रवृत्ति निरुत्साहित गर्ने अभियान चलाइए जस्तै सवारी चालकहरुलाई पनि पैदल यात्रुलाई प्राथमिकता दिने, तोकिएको ठाउँमा मात्र यात्रु चढाउने र ओराल्ने नियमको पनि पालना भएको छैन । यात्रुले जहाँबाट हात उठायो त्यही रोक्ने गरिन्छ । दुर्घटनाको यो पनि एउटा कारण हो ।
यस्तोमा सयपत्री नगर महिला विकास समितिले सहकारी विकास बोर्डका उपसचिव ऋषिराम पण्डितको १३ औँ पुण्य तिथिका अवसरमा बिहिबार टोखा नगरपालिकाको बानियाँटारमा आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले चालकले सवारी ब्याक गरेर मार्ने प्रवृत्तिविरुद्ध कानुन बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सांसद रामचन्द्र पोखरेलले राष्ट्रका लागि योगदान गर्नसक्ने क्षमतावान प्रशासकको पासविक तरिकाले हत्या गरिएको धारणा राख्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, टोखा नगरपालिकाका नवनिर्वाचित प्रमुख प्रकाश अधिकारी, सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्मा, गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष केशव पौडेल, स्व पण्डितका छिमेकी इन्जिनियर हरिदत्त पौडेलले सवारी ब्याक गरेर घाइते यात्रु मार्ने प्रवृत्तिको अन्त्यका लागि पहल गर्न माग गर्नुभयो ।
जेठ ६ गते बिहान बानियाँटारमा ट्रकले ठक्कर दिँदा पण्डितको घटनास्थलमा मृत्यु भएको थियो । स्व पण्डितकी आमा, श्रीमती र दुई छोरी हुनुहुन्छ ।