
बर्दिबास : महोत्तरीको औरही गाउँपालिका—२ फूलबरीयामा अइतबार साँझ २१ बर्षीया युवतीलाई युवाहरुको समूहले सामुहिक बालात्कार गरेका छन् ।
औरही बजारमा ब्युटीपालर संचालन गरी जीवन चलाउँदै आएकी ती यूवतीलाई पसल बन्द गरेर आइतबार साँझ घर फर्किने क्रममा बाटो ढुकेर बसेका युवाहरुको समुहले सामुहिक बालात्कार गरेको इलाका प्रहरी कार्यालय गौशालाका निरीक्षक शम्भू पोखरेलले बताउनुभयो ।
‘युवतीलाई राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ निरीक्षक पोखरेलले भन्नुभयो,‘सामुहिक बालात्कार भएको देखिन्छ । मेडिकल चेकजाँच गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा युवतीलाई पठाएका छौं ।’ बालात्कार गरेको आरोपमा गाउँलेहरुले एक जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
पक्राउ परेकालाई प्रहरीले चौकीमा ल्याएपछि उल्लेख्य संख्यामा स्थानीय र पीडित परिवार औरही प्रहरी चौकीमा पुगेका थिए । त्यस क्रममा प्रहरी र स्थानीय बीच झड्प भएको थियो । झड्पको क्रममा तीन प्रहरी स्थानीयको ढुंगामुढाबाट घाइतेपछि प्रहरीले फायर खोलेका थिए । अवस्था अनियन्त्रित भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन पाँच राउण्ड हवाई फायर गरेको निरीक्षक पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘पक्राउ परेकालाई पहरीसंग खोसेर मार्न खोजे । हामीले थुत्न दिएनौं । त्यस क्रममा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरे । त्यसपछि पाँच राउण्ड थ्रिनट थ्रि को गोली हवाई फायर गर्नु प¥यो । चार जना प्रहरी घाइते भएका छन् ।’
औरहीका स्थानीय रवीन्द्र चौधरीका अनुसार सामुहिक बालात्कारपछि युवती बेहोस भएकी थिइन । दोषीलाई कारवाहीको माग गर्दै औरही बजारका व्यापारीहरुले बिहानै देखी बजार बन्द गराएका छन् ।