
ठूला दलले आफूहरुलाई स्थानीय निर्वाचनमा जाने अनुकुल वातावरण नबनाइदिएको भन्दै आमहड्तालसम्मको कार्यक्रमसहित आन्दोलनमा उत्रेको राष्ट्रिय जनता पार्टी ( राजपा ) कारण प्रधानमन्त्री शेरबहादुर देउवा अझै पेचिलो राजनीतिक परिस्थतिमा फसकेका छन्।
राजपा केही अभ्यासपछि सहज रुपमा चुनावमा आउँछ भन्ने अपेक्षा गरेका देउवाले एकाएक आइलागेको जटिल परिस्थितिबारे गठबन्धनको सहयोगी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गम्भिर छलफल गरेका छन्।
‘राजपाका साथीहरु यति छिटै तात्लान् भन्ने त मैले सोचेको थिइनँ, मलाई सहयोग गर्ने कुरा पनि गरिरहेकै थिए’ देउवाले सोमबार प्रचण्डसँगको छलफलमा भने, ‘मलाई अफ्ठेरोमा पार्ने काम भयो, अव कसरी अघि बढ्ने हो?’
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रचण्ड निवास लाजिमपाट भएको सो छलफलमा प्रचण्डले भने, आफू सधैं गठबन्धनको मर्म अनुरुप प्रधानमन्त्रीलाई सहयोग गर्न तयार रहेको बताएका थिए। उनले एक पटक अरु दलहरुसँग पनि गम्भिर रुपमा छलफल गरेपछि निष्कर्षमा पुग्न प्रधानमन्त्रीलाई सुझाएको बताइएको छ।
‘एकपटक एमाले अध्यक्ष ओलीसँग पनि भेटौं, छलफल गरौं दुई नम्बर प्रदेशका विषयमा अरु केही विकल्प निकाल्न सकियो भने त्यति धेरै आत्तिन पर्ने अवस्था छैन’ प्रचण्ड निकट स्रोतले उनको भनाइ उधृत गर्दै सुनायो, ‘ तर चुनाव भने जसरी पनि गर्नु पर्ने हुन्छ नत्र राजनीतिक रुपमा निष्फल भएको सन्देश जान्छ।’
छलफलमा देउवा र प्रचण्डले दुई नम्बर प्रदेशको निर्वाचन सारेर अरु प्रदेशमा चुनाव तोकिएकै मितिमा गर्ने विकल्पका बारेमा पनि विमर्श गरेका थिए। ‘प्रधानमन्त्री सकभर सबै स्थानमा तोकिएकै मितिमा चुनाव गर्ने पक्षमा हुनुहुन्छ’ प्रधानमन्त्री देउवा निकट स्रोतले सोमबार राति नेपालखबरसँग भन्यो, ‘तर उहाँले जटिल परिस्थितिबाट बाहिर निस्कने दवाव पनि महसुस गरिरहनु भएको देखिन्छ।’
त्यसैले होला, देउवा र प्रचण्डको भेटमा देउवाले पटक पटक आफूलाई फेरि पनि षडयन्त्रको सिकन्जामा पारेर असफल बनाउने शक्तिहरु पछि लागेको कुरा उठाएका थिए। यद्यपी, यसमा राजपासँग आफू निरन्तर औपचारिक र अनौपचारिक छलफलमा रहने र निर्वाचन सम्पन्न गरेर आफ्नो जिम्मेवारी पुरा गर्नेमा देउवाले प्रचण्डलाई विश्वस्त पारेका थिए।
देउवा–प्रचण्ड वार्तापछि भोलि देउवाले कुनै पनि बेला प्रतिपक्षी नेता केपी ओलीसँग भेट्ने र राजनीति गतिरोधका विषयमा छलफल गर्ने बताइएको छ। ‘त्यसैगरी राप्रपा नेता कमल थापासँग पनि एकपटक छलफल हुन्छ होला’ देउवा निकट एक कांग्रेस नेताले भने, ‘ राजपा कुनै पनि हालतमा निर्वाचनमा आएन भने पनि देउवाले चुनाव गरेर छाड्ने मुड बनाएको जस्तो देखिन्छ। तर छलफलहरु जारी रहने छन्।’