रुपनी जि.एम, कपिलवस्तु ,२५ जेष्ठ । दोश्रो चरणको निर्वाचनका लागि कपिलवस्तु शिवराज नगरपालिकामा नेकपा एमालेको तर्फ बाट उपमेयरको उम्मेदवारको टिकट पाएकी २२ वर्षिय शिव कुमारी थारु अहिले स्थानीय तहमा निकै चर्चामा आएकी छिन् ।
शिव कुमारीको चर्चा पहिलो चरणको चुनाबमा काठमाडौँ महानरबाट मेयरमा विवेकशिलको तर्फबाट उठेकी रञ्जु दर्शनाको भन्दा कमको छैन कपीलबस्तुमा यतिबेला ।
शिव कुमारीको भाषण शैली निकै नै मनमोहक छ । भाषणसंगै काम गर्ने तरिका पनि उत्तिकै प्रसंशनीय छ भन्छन् उनलाई चिन्नेहरु । मिठो शैली दमदार आवाज निकाल्दै जब उनले भाषण गर्न शुरु गर्छिन् तब भिडले उत्पन्न गरेको कोलाहल पनि एकाएक शान्त हुन पुग्छ कपिलवस्तुमा ।
उमेरले भर्खर २२ वर्ष पुगेकी उनी शिक्षण पेसा छोडेर एमालेको तर्फबाट उपमेयरमा शिवराज नगरमा चुनाबी मैदानमा उत्रेकी छिन् । शिव कुमारी भन्छिन्, सानै उमेरमा बिहे गर्न बाध्य भएँ । अब त्यही बाध्यतालाई म मेरो भाग्य भन्न रुचाउँदिन । त्यसैले म आफुमा भएको क्षमतालाइृ सामाजिक काममा प्रस्फुटन गराएर समाज परिवर्तन गर्न चाहान्छु र त्यसैको लागि मैले राजनीतिको बाटोलाई रोजेकी हुँ । उनीमा राजनीतिमा एउटा सफल नेतृ बन्ने दृढ विश्वास छ ।
अहिले पनि सामाजिक राजनीतिक तथा नीति निर्माणको तहमा पुग्नबाट बञ्चित थारु समुदाय र त्यसको पनि महिला बर्गको प्रतिनिधित्व गर्ने शिव कुमारी समग्र थारु समुदाय र महिलाहरुको लागि अहिले प्रेरणाको श्रोत बनेकी छिन् । थारु र मधेशी समुदायका साथै समग्र नगरवासीको आवश्यकता नै नगरको विकास भएको बताउने शिव कुमारी भन्छिन्, त्यसैको लागि मैले उम्मेदवारी दिएकी हुँ ।
शिवराज नगरपालिका १ शिवपुर घर भई गाउँकै स्कुल श्री सरस्वति निमाविमा शिक्षण पेशा अङगालेकी शिवकुमारी घर परिवारकै सहमतिमा पेशा छोडेर राजनितिमा प्रवेश गरेको बताउँछिन् । स्थानीय स्तरमा जनमानसमा पहिले बाटै लोकप्रिता पाएकि शिवकुमारी आफनो संयुक्त प्यानललाई यस शिवराज नगरपालिकाले जिताउने छ भन्ने कुरामा ढुक्क भएको बताउँछिन् ।
उनकै प्यानल एमालको तर्फ बाट मेयरको उम्मेदवारमा भने २०७० सालको संविधानसभा निर्वाचनमा थोरै मतले पराजित भएका नेत्रराज अधिकारी रहेका छन ।
अहिले मेयरका उम्मेदवार नेत्रराज अधिकारी र उपमेयरकी उम्मेदवार शिव कुमारी थारुको नेतृत्वमा नेकपा एमालेले कपिलवस्तुले शिवराज नगरपालिकामा एमालेको पक्षमा सकारात्मक नतिना आउनेमा विश्वास रहेको जनाएको छ ।