संविधानको कुन धारा प्रयोग गरेर संख्या बढाइएको हो भन्दै बालुवाटारमा ओली जंगिएपछि प्रचण्ड–देउबा तनावमा
काठमाडौं, ९ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीचको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्ड देउबासमक्ष कडा असन्तुष्टि जनाएका छन् । आफूहरुको सहमतिबिनै स्थानीय तह संख्या बढाइएको भन्दै ओलीले आक्रोश व्यक्त गरेका थिए । नेकपा एमालेले सरकारले स्थानीय तह संख्या थप गरेकोमा कडा आपत्ति जनाएको छ ।
बैठकमा सहभागि एक नेताले दिएको जानकारी अनुसार ओलीले संविधानको कुन धारा प्रयोग गरेर संख्या बढाइएको भन्दै प्रश्न समेत गरेका थिए । बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका ओलीले एमालेलाई हराउने उद्देश्यले मनपरि रुपमा स्थानीय तह संख्या बढाइएको समेत आरोप लगाएका थिए ।
तर बैठकमा प्रधानमन्त्री प्रचण्डले भने मधेस िदललाई समेत सहभागि गराएर जेठ ३१ को चुनाव सम्पन्न गराउन स्थानीय तह संख्या बढाइएको भन्दै विरोध नगर्न ओलीसँग आग्रह गरेका थिए । बैठकपछि एमाले नेताहरुले संख्या बढाउने अधिकारै प्रचण्ड सरकारलाई नरहेको भन्दै सो आफूहरुलाई मान्य नभएको प्रतिक्रिया दिए ।