ब्रिटिश आर्मीमा गोर्खा भर्ति शुरु भएको दुई सय वर्ष नाघिसकेको छ । यो अवधिमा गोर्खाहरुले देखाएको साहस, इमान्दारीता र वीरताको प्रशंसा दुनियाँभर हुँदै आएको छ, झन बेलायतमा नहुने त कुरै भएन । गोर्खाहरुकै कारण बेलायत नेपाल सम्बन्ध सुदृढ भएको दुवै देशका अधिकारीहरुले बताउँदै आएका छन् ।
अर्को तथ्य यो पनि हो कि, गोर्खाहरु बेलायती राजदरबारको सबैभन्दा विश्वासिला सैनिक मानिन्छन् । बेलायती महारानीदेखि राजकुमारहरुले विभिन्न समारोहमा यो तथ्य उजागर गर्दै आएका छन् ।
उनीहरु आफूलाई गोर्खा सैनिकसँग रहँदा सुरक्षित महसुस हुने बताउँदै आएका छन् । गोर्खाहरुले विगत दुई सय वर्षदेखि ब्रिटिश फोर्समा संलग्न रहेर विभिन्न देशका प्रमुख द्वन्द्वमा सहभागी भइ बहादुरी र इमान्दारी देखाएका कारण राजपरिवारको नजरमा गोर्खा सैनिक सधैं प्रशंशाका पात्र बने ।
महारानीकाे सुरक्षामा गोर्खा
अहिले बेलायती महारानीको सुरक्षामा दुई गोर्खा खटिएका छन् । ब्रिटेनको इतिहासमा सबैभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी एलिजावेथ द्वितीयका विश्वासिला सैनिक हुन् क्याप्टेन ललित गुरुङ (एमभिओ) र क्याप्टेन गणेश तामाङ (एमभिओ) । यतिखेर उनीहरु बेलायती महारानीको सुरक्षामा खटिएका छन् दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्सका रुपमा । बकिङहम प्यालेस होस् वा विभिन्न शहरमा रानी सवारी हुने समारोह, ललित र गणेशलाई रानीको गार्डिङ गर्ने जिम्मेवारी छ ।
सभा समारोह र पार्टीमा महारानीसँगै हिँडेर सुरक्षा दिने, रानीको रेखदेख र काम पर्दा अगाडि उपस्थित हुने उनीहरुको जिम्मेवारी हो । ललित भन्छन्, ‘रानीलाई गोर्खाप्रति पूर्ण विश्वास छ । रोचक के भने समारोहमा रानीसँग हिँड्दा हामी बाहेक अरुलाई हातहतियार बोक्न निषेध छ ।’
उनीहरु विगत ९ महिनादेखि यो जिम्मेवारीमा छन् र अब अगष्टसम्म रहन्छ यस्तो जिम्मेवारीमा । हालसम्म उनीहरु रानीको ३५ वटा औपचारिक कार्यक्रमसहित दरबारमा भएका गार्डेन पार्टी र प्यालेसबाहिर कयौं कार्यक्रममा सरिक भइसके ।
‘हाम्रा बाबु बाजेको विश्वासले गर्दा यस्तो जिम्मेवारी पाएका छौं, गर्व लाग्छ’, क्याप्टेनद्वय भन्छन्, ‘यस्तो जिम्मेवारी पाउनु चानचुने कुरा होइन । गोर्खा बटालियन अफिसरबाट वर्षेनी उत्कृष्ट दुई जना छान्ने क्रममा हामी परेका हौं ।’
रानी आफ्नो मात्र होइन, समस्त ब्रिगेड अफ गोर्खाजको आमा सरह भएको बताउँछन् ललित । ललितका बाजे इन्डियन आर्मीमा थिए । बाबा रिटायर्ड क्याप्टेन (क्यूजिओ) सूर्ज बहादुर गुरुङले पनि रानीलाई गार्डिङ गरेका थिए । ‘हाम्रो पुस्ताले पनि यस्तो मौका पाउँदा गर्व लाग्छ’, उनले सुनाए । ललितका दाई पनि ब्रिटिश आर्मीमै थिए, कलर सार्जन्टबाट अवकास लिए ।
सन् १८७६ बाट दरबारले वर्षेनी दुई जना गोर्खालाई दि क्वीन्स् गोर्खा अर्डर्ली अफिसर्स नियुक्त गर्ने प्रचलन शुरु भएको हो । पहिलो र दोश्रो विश्वयुद्धले बीचमा यो रोकिए पनि क्वीन भिक्टोरियाले सन् १९५४, ११ मार्चदेखि फेरि शुरु गरेको इतिहास छ ।
कास्कीको वारचोक गाउँबाट अहिले पोखरा माटेपानी बसाइ सरेको छ उनको परिवार । सन् १९९२ मा ब्रिटिस आर्मीमा भर्ती भएपछि ललित कोसोभो, बोस्निया, सेरालिओन र अफगास्तिान खटिइसके । अफगास्तिान युद्धमामात्र तीनपटक खटिएको उनले बताए ।
वानआरजिआरका क्याप्टेन ललितले रानीको कोहीप्रति चासो लिएर सोधखोज र ख्याल गर्ने बानी भएको बताए । गत मार्चमा रानीले दरबारमा ललितलाई मेम्बर अफ द रोयल भिक्टोरियन अर्डर (एमभिओ) पदक दिने बेला सर्भिसका लागि धन्यवाद दिँदै सोधेकी थिइन्, ‘नेपालमा कस्तो छ अहिले ? स्थानीय चुनाव के हुँदैछ ? अहिले ब्रुनाइमा रहेको वानआरजिआर यूके कहिले आउँछ ?’
‘मेरो धेरै अगाडिदेखि गोर्खासँग भावनात्मक सम्बन्ध छ । मेरो विश्वासिलो र उत्कृष्ट रोजाइको आर्मी गोर्खा हुन्’, रानीको भनाइ उद्धृत गर्दै ललितले भने ।
रानी ९१ वर्ष उमेरको भएपनि ‘फिट एण्ड फाइन’ भएको बताउँछन् उनी । ‘दरबारभित्र कुनै समारोह हुँदा उहाँ झण्डै डेढ दुई घण्टासम्म लगातार उभिएर गफ गर्न सक्नुहुन्छ’, उनले सुनाए, ‘रानी भन्दैमा घुम्ने, खाने बस्ने, सुत्ने मात्र बानी उहाँको छैन् । बिहान साढे ६ बजेतिर उठेर ब्रेकफास्ट खाएपछि निजी चिकित्सक, नर्सले स्वास्थ्य जाँच गरेपछि अफिस बसेर नियमित काम गर्नुहुन्छ महारानी ।’
रानीले बकिङहम प्यालेसभन्दा वीन्जर क्यासलमा बस्न मन पराउने उनले सुनाए । रानीको समारोह नभएका बेला ब्रिगेड अफ गोर्खाज हेडक्वाटर स्यान्डस्र्टमा कार्यरत हुन्छन् उनी ।
राजपरिवारकै प्रिय छन् गोर्खा
महारानीमात्र होइन, प्रिन्स हयारी पनि गोर्खा र नेपाल अनि नेपालीसँग प्रभावित छन् । गत मार्चमा लन्डनस्थित नेपाली दूतावासमा बेलायत नेपाल कुटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष समापन समारोहमा प्रमुख आतिथ्य ग्रहण गर्दै बेलायती राजकुमार हयारीले नेपालको खुबै प्रशंसा गरे ।
गत वर्ष मार्चमा नेपाल भ्रमण गर्दा स्मृतिमा कैद भएका रोमाञ्चकारी र अविष्मरणीय क्षण साटिरहँदा उनीप्रति नेपाल र नेपालीको माया प्रष्टै झल्किएको थियो । गोर्खा सैनिकको प्रशंशा गर्न पनि छुटाएनन् उनले । नेपाल भ्रमणका क्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताउँदै ह्यारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्ने कुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरेका थिए ।
आफ्ना पिता चाल्सको जस्तै ब्रिगेड अफ गोर्खाजसँग ४० वर्ष लामो सम्बन्ध नभए पनि आफूले गोर्खा सैनिकहरुसँगको सम्बन्धबाट खुशी र गर्व महसुस गर्ने गरेको हयारी बताउँछन् । राजकुमार ह्यारीले त्यतिबेला गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा पनि गरेका थिए । ह्यारीले अफगानिस्तानमा गोर्खाहरुसँगै बसेर पिरो खसीको मासु खाएको क्षण होस् वा संगै अफगानिस्तानमा लडेको क्षण, समारोहमा यो प्रसंग दोहोर्याइरन्छन् उनी । हयारी आफू मात्र गोर्खा सैनिकसँग प्रभावित नभइ बेलायती रानी र नागरिकहरुले समेत सम्मान गर्ने गरेको प्रसंङ्ग पनि उठान गर्छन् ।