सप्तरिका एकजना इन्जिनियरलाई त्यतिबेला ओमनको जागिरमा जाने कि नजाने भन्ने दुविधा थियो । धेरैले खाडी त लेबर जान्छन्, इन्जिनियर कहाँ जाने पनि भने। तर, तिनै इन्जिनियर अहिले वर्षमा करोड कमाउने कसरी बने ?
‘खाडी त लेबर मात्रै जाने ठाउँ हो,’ जानेबुझेका साथीभाइले उनलाई यस्तै सल्लाह दिन्थे, ‘तिमीजस्तो पढेको त युरोप, अमेरिका जानुपर्छ ।’ रोजगारीका दुइटा प्रस्ताव आए पनि सप्तरीका इन्जिनियर अजयकुमार यादवलाई निर्णय गर्न गाह्रो भयो ।
फिलिपिन्सको एउटा प्रतिष्ठित कम्पनीबाट ७ सय अमेरिकी डलर ‘अफर’ थियो । भिसा पनि लागिसकेको थियो । त्यही बेला ओमनबाट १ हजार ५ सय अमेरिकी डलरको अर्को अफर आयो । खाडीका साउदी, कतार, युएईबाहेक ओमनको नामसमेत उनले पहिलोपल्ट त्यतिबेलै सुने । आफ्नो बायोडाटासहितको विवरण अनलाइनमा ‘अपलोड’ गरेकै आधारमा उनलाई यी अफर आएका थिए ।
मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेका यादवका सिनियर भारतीय इन्जिनियर चार वर्ष ओमनमा काम गरिसकेका रहेछन् । उसैको सल्लाहलाई मानेर सन् २००७ जुलाईमा उनी ओमन आए ।
उनलाई छनोट गर्ने ओमन गल्फ कम्पनीका महाप्रबन्धक बेलायती थिए । मस्कटबाट ७ सय किमि टाढा पर्ने सलिम सोमियाको ४० किमि सडक खण्ड बनाउन साइड इन्जिनियर बनाएर पठाउने तिनको योजना थियो । यसका लागि महाप्रबन्धकले कम्पनीका कार्यकारी निर्देशक ओमनी नागरिक मोहमद सेखलाई परिचय गराउन लागे । सुरुमा त शेख आफैं पनि छक्क परे, नेपाली पनि यति माथि काम गर्न आउँछन् भनेर । यादवको अनुभव र व्यक्तित्वबाट तुरुन्तै प्रभावित भएर शेखले साइड इन्जिनियर नभई ‘एक्टिङ प्रोजेक्ट म्यानेजर’ बनाएर पठाइदिए ।
यादवले मेलम्ची पुग्नुअगाडि दमक—काकडाभित्ता, मेची हाइवेदेखि पश्चिमतिर काम गरिसकेका थिए । मरुभूमिमा एउटा मापदण्डअनुसार काम गर्न उनलाई त्यति गार्हो थिएन । फेरि कामदार नेपाली नै भएकोले दुई लेन हाइवे सहज रूपमा समयमै सकाइदिए । ‘यो मेरो लागि एकदमै अनौठो अनुभव थियो ।
चाहे गुणस्तरको हिसाबले लिनुस्, चाहे फिनिसिङको हिसाबले । हाम्रो देशसँग तुलना गर्न मिल्दैन । गुणस्तरमा एकदमै ध्यान दिनुपर्छ । कन्ट्याक्टर पनि आफ्नो साखका लागि तल झर्न मान्दैन,’ उनले भने, ‘नेपालमा लागतभन्दा ३० प्रतिशतसम्म तल झरेर टेन्डर लिएका हुन्छन् । त्यहाँ कसरी गुणस्तर कायम हुन्छ त ?’
यता आएपछि यादवको कार्यशैली फेरियो । जीवनशैली पनि । जोशसँगै कडा परिश्रम गर्ने जाँगरमा कमी आएन । दुई वर्षपछि अर्को कम्पनी अक्सिडेन्टलमा गए । उनी पहिलाकै कम्पनीको तर्फबाट अक्सिडेन्टलमा काम गर्थे । अक्सिडेन्टलको म्यानेजर बिदामा बसेकाले एक महिनाको लागि जिम्मेवारी पाएका थिए उनले । त्यस समयमा कम्पनीको उत्पादन ह्वातै बढाइदिए यादवले । त्यसपछि उनलाई पुरानो कम्पनी फर्कनै दिइएन ।
त्यहाँ यादवभन्दा माथि पाकिस्तानी नागरिक थिए, जोसँग कामको सिलसिलामा उनको प्राविधिक कुरा मिलेन । ती पाकिस्तानीले कम्पनीको कार्यकारी निर्देशककहाँ उजुरी हालिदिए । कम्पनी यादवबाट प्रभावित थियो, त्यसैले हटाउन चाहेन । उल्टो, मस्कटदेखि सलालहाको दुई सय किमि सडक बनाउने अर्को प्रोजेक्टको जिम्मा दियो । ‘यो एक महिनापछि प्रोजेक्ट सुरु हुन्छ । तिमीले कामदारदेखि इन्जिनियर सबै नेपाली ल्याउनुपर्छ,’ कम्पनीले उनलाई भन्यो । काठमाडौं गएर कामदार खोजेर ल्याउने काममा चाहिँ उनी फस्न चाहेनन् । ‘यो मेरो पाटो होइन,’ यादवले सरी भन्दै कम्पनी छाडिदिए ।
४४ वर्षीय यादव अहिले जलमु नेसनल कम्पनीका निमित्त महाप्रबन्धक हुन् । ओमन बेस कम्पनी स्थानीय समुदायमा आधारित क वर्गको कन्स्ट्रक्सन कम्पनी हो । अघिल्लो कम्पनीमा पाइरहेकोभन्दा ३ गुणा बढी तलब पाएपछि उनी यसमा आएका हुन् । चार महिना काम गरेपछि एक महिना बिदा पाउँछन् । उनको तलब स्केल मात्रै मासिक ८ हजार डलर छ । त्यसबाहेक वार्षिक बोनस पाउँछन् । बस्न, खाना, गाडी सबै कम्पनीले दिएको छ ।
‘मेरो खर्च जिरो छ । बर्षमा एक करोड रुपैयाँ आरामले जोगिन्छ,’ ओमनको राजधानी मस्कटमा भएको भेटमा यादव भन्दै थिए, ‘कल्पनासम्म नगरेको विषय मैले पाइरहेको छु । मिहिनेत गर्यो भने नहुने चीज केही रहेनछ । गल्ती दोर्योउनु हँ‘दैन । जो कडा परिश्रम गर्छ, त्यो सफल हुन्छ ।’
यादवको यो काम पेट्रोलियम क्षेत्रसँग सम्बन्धित छ । मुख्यगरी उनको जिम्मामा दुईवटा परियोजना छन्, एउटा सवा करोड अमेरिकी डलरको अर्को पौने दुई करोड डलरको । त्यसबाहेक यातायात मन्त्रालयसँग सम्बन्धित करिब ४० लाख डलरको सडक परियोजना पनि हेर्छन् ।
कम्पनीको कामको सिलासिलमा बैठक, भेटघाट र कार्यक्रममा नेपाली भएको परिचय दिदाँ विदेशीहरू उत्साहित हुने गरेको यादवको अनुभव छ । ‘अझ ओमनीहरू त विशेष सम्मान गर्छन्,’ उनले भने, ‘हामीमा अरू नागरिकभन्दा अविश्वास, झूटो बोल्ने आउँदैन । त्यही भएर नेपाली नागरिकले धेरै सम्मान पाउँछौं ।’
एउटा कम्पनीमा धेरै देशका नागरिक हुन्छन् । उनीहरूको व्यवहार फरक फरक हुन्छ, संस्कृति, भाषा पनि । ‘सबैसँग समन्वय गर्दै अगाडि बढ्नुपर्छ । आफ्नो सानो गल्ती भएमा जोगाइदिने कोही हँ‘दैन । बरु पछाडि कुरा काट्नेबाट बढी होसियार हुनुपर्छ,’ यावदले सुनाए, ‘माथिल्लो तहमा काम गर्ने भएपछि निर्णय गर्ने पावर हुनुपर्छ । चाहे त्यो गलत होस् वा ठीक होस् । सफलता यसैमा भर पर्छ ।’
यादवको बुझाइमा खाडीमा नेपालीका लागि धेरै अवसर छ । आउनुभन्दा अगाडि कम्पनीको ‘स्टाटस’ थाहा पाउनुपर्छ । ‘क्षमता छ र विश्वासिलो बन्ने हो भने धेरै छिटो ठाउँमा पुग्न सकिनेरहेछ,’ यादवले सुनाए, ‘अवसर पाउन हामीमा एउटा मापदण्ड हुनुपर्छ । आफ्नो क्षमता देखाएर लिने हो । खाडीमा काम गर्न आउने व्यक्तिको शैक्षिक अवस्था र अनुभवको आधारमा तलब तोकिन्छ । मलाई खाडी अरू देशभन्दा कम लाग्दैन । म आफैं पनि कामदार आपूर्ति गर्छु । देशभन्दा पनि लेबल हेर्छु ।’
पैसा प्रशस्त कमाए पनि पहिले ओमनमा नेपालीहरू धेरै नभेट्दा न्यास्रिन्थे यादव । ‘नेपालमा भूकम्प गएपछि ओमनमा नेपाली समाज पाएँ । धेरैसँग सम्पर्क बढाएँ,’ उनले भने, ‘बल्ल आएर ओमनमा बस्ने तागत मिलेको छ ।’ मेलम्ची बसेर काम गर्दा भन्दा ओमनबाट काठमाडौं नजिक लाग्छ उनलाई । ‘मेलेम्चीबाट घर हिँड्दा पुग्ने/नपुग्ने टुङ्गो थिएन । चार वर्ष काम गर्दा दुई वर्ष त मुअब्जाकै कारण रोकियो । बाटोमा आयोजनाको मान्छेलाई धम्काउने, गाडी रोक्ने हुन्थ्यो,’ उनले भने, ‘मस्कटबाट काठमाडौं तीन घन्टामा पुग्छु । बिनातनाव ।’
खाडीमा उच्च तहमा पुग्न गार्हो छ । माथिल्लो तहमा युरोप र मध्यएसियाली देशका नागरिकसँग प्रतिस्पर्धा गर्नुपर्छ । यसमा खरो उत्रिएका छन् यावद । ‘मलाई कम्पनीको कार्यकारी निर्देशकले भन्छन्– तिमी जीएम त भइहाल्छौं, त्यो भन्दामाथि के पद हुन्छ । खोज्नु है ।’
दुई वर्षमा २५ लाख रुपैयाँ लिएर फर्कने सपना बोकेर आएका यादवले पहिलो वर्षमै ४० लाख रुपैयाँ लिएर नेपाल गए । ‘त्यसले खाडीमै बस्न प्रेरित गर्यो,’ उनले भने, ‘आफ्नो देशमा काम गर्न बेग्लै आनन्द आउँछ । तर समस्या पनि छ । देशमै जागिर गरेर बसेको भए बच्चालाई अहिलेकै ठाउँमा पढाइरहन सक्तिन्थे । उनीहरूलाई त्यो सुविधा दिन सक्तिन्थें ।’ अहिले उनीसँग त्यतिबेला खाडीमा गइस् भनेर हेपेर सोध्नेहरूसित उत्तर छ ‘अस्ट्ेरलिया, अमेरिका, क्यानडामा नपाएको सुविधा मैले खाडीमा पाएँ । ती देशका मान्छे मसँग आएर काम गरिरहेका छन् । सोच्ने तारिका परिवर्तन गर्न‘पर्छ । खाडीमा नेपालीको भविष्य सुन्दर छ ।’ श्रोत: कान्तिपुर