काठमाडौं । फेसबुक धेरैका लागि सम्पर्कमा रहिरहने र सूचना आदान–प्रदान गर्ने माध्यम बनिरहेको छ । तर पछिल्लो समय नेपाली समाजमा फेसबुक अपराधको कारक पनि बन्न थालेको छ ।
विषेश गरेर युवा युवतीका लागि फेसबुक जति उपयोगी भैरहेको छ त्यति नै घातक पनि । त्यही फेसबुकले नुवाकोटकी अनुजा लामिछानेको पनि ज्यान लिएको छ ।
प्रेमीलाई पासवर्ड दिएपछि
कतिपय श्रीमान श्रीमती अथवा, पे्रमी पे्रमीकाले आफ्ना फेसबुकको युजेर नेम र पासवर्ड दुरुपयोग नहुने विश्वाससका साथ एकअर्कालाई दिने गर्दछन् । नुवाकोट बेत्रावतीकी अनुजाले पनि प्रेमी भनिएका गाउँकै अनिल डंगोललाई आफ्नो फेसबुकको पासवर्ड दिइन् । अनुजाको फेसबुक अनिलले बेला–बेला खोलेर हेरिरहन्थे ।
दुबैजना डेटिङ गएका थिए । डेटिङमा डंगोलले अनुजालाई किस गर्न लागेको फोटो खिचे । त्यही फोटो अनुजाकै फेसबुकबाट सार्वजनिक गरिदिए । आफ्नो फेसबुकबाट किस गरेको फोटो सार्वजनिक भएपछि अनुजा निकै तनावमा परिन् ।
अनुजाका बुवा शेष लामिछानेका अनुसार फोटो फेसबुकमा हालेपछि डंगोलले आफूबाहेक अरु कसैसँग पनि सम्बन्ध नराख्न ब्ल्याकमेलिङ गरेका थिए । ब्ल्याकमेलिङबाट आजित भएकी अनुजाले कात्तिक १५ गते बुवालाई आफ्नो समस्या बताएकी थिइन् ।
शेषले भने, ‘छोरीले कुनै केटाले यस्तो गरिरहेको छ भनेर सुनाएकी थिइ । मैले भोलि कुरा गर्छु भनेँ । तर भोलिपल्टै मेरो छोरी गायब भइ ।’वरपर छरछिमेक तिहारको रमाइलोमा मस्त थिए । तर यता लामिछानेको परिवारको मन भने रम्न सकिरहेको थिएन । टिकाटालो सकेर शेषबहादुर लामिछाने घरमै बसिरहेका थिए । साँझ करिब ७ बजे छोरी अनुजा घरबाट निस्किन् ।
छोरी घरबाट निस्किएको केहीबेरपछि एक व्यक्ति पुलबाट अनुजाले हामफालेको भन्दै आइपुगे । गाउँले तत्काल अनुजाको खोजीमा लागे तर कतै भेटिएन । राती अबेरसम्म खोज्दा पनि नभेटिए पछि सबै घर फर्किए । भोलिपल्ट बिहानै फेरि खोजीमा लाग्दा अनुजाको शव नग्न अवस्थामा त्रिशुली नदीको किनारमा भेटियो ।
घटनालगत्तै प्रहरीले अनुसन्धान गर्दा हल्ला गर्ने व्यक्ति अर्थात अनिल डंगोलले नै पुलबाट फालेर अनुजाको हत्या गरेको खुल्यो। अनुजाका प्रेमी भनिएका तिनै अनिल डंगोलले नै अनुजाले पुलबाट हाम फालेको भनेर लामिछाने परिवारलाई खबर दिएका रहेछन् । घटना अनुसन्धानका लागि डंगोललाई प्रहरीले हिरासतमा लियो । तर, जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने अनुजाको हत्या भएको हो वा आत्महत्या भन्ने एकीन हुन नसकेको दावी गरेको छ ।
पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएन
अनुजाको शव त्रिशुली किनारमा भेटिएको थियो । प्रहरीले शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्यायो । तर अहिलेसम्म पनि पोष्टमार्टम रिपोर्ट सार्वजनिक नगरेको अनुजाका बुवा शेषबहादुरले बताए ।