चुनावको मुखमा सप्तरीमा राजपालाई ठूलो धक्का, राजेन्द्र र महन्थलाई छाडेर सयौँ कार्यकर्ता अन्तैतिर
काठमाडौं – स्थानीय निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने सन्दर्भमा भारतीय दूतावासको अनुमति माग्न खुलेआम पुग्ने राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सप्तरीका दुई जना प्रभावशाली केन्द्रीय सदस्य संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
विभिन्न खाले अत्तो थापेर निर्वाचनमा सहभागी नहुने अडानमा रहेका राजपाको नीति नै गलत भएको भन्दै केन्द्रीय सदस्यहरु भीमराज यादव र भरत साह राजपा परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन् ।
दुई केन्द्रीय सदस्यसहित सयौंको संख्यामा कार्यकर्ताहरुले पार्टी परित्याग गरेपछि सप्तरीमा राजपालाई ठूलो धक्का लाग्ने अनुमान गरिएको छ । सप्तरीका ६ सय कार्यकर्ता संघीय समाजवादी प्रवेश गरेपछि संघीय समाजवादीका नेताहरु पनि उत्साहित बनेका छन् । राजपा गठन हुनुअघि यादव राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीमा र साह शरतसिंह भण्डारी अध्यक्ष रहेको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा केन्द्रीय सदस्य थिए ।
उनीहरुले संघीय समाजवादी निर्वाचनका पक्षमा रहेकाले प्रवेश गरेको जनाएका छन् । उनीहरुले एमालेको अवरोधले संविधान संशोधनका लागि दुई तिहाई बहुमत नपुग्ने यथार्थ थाहा हुँदाहुँदै पनि चुनावलाई सदुपयोग गर्नुपर्नेमा त्यसलाई विथोल्ने गतिविधिमा लागेकोले राजपा परित्याग गरेको पनि दाबी गरे ।
अध्यक्ष यादवले पनि हातमा आएको ब्यालेट सदुपयोग गर्न आह्वान गरेका छन् । उनले मधेशी जनताका लागि स्थानीय निकाय महत्वपूर्ण अवसर भएको पनि दाबी गरे । पहिलो न्युजबाट