एमालेले रोक्यो संसद, भरतपुर महानगरमा देबी ज्ञवालीलाई विजयी घोषणा गर्ने एमालेको चेतावनी
काठमाडौं, १७ जेठ । प्रमुख प्रतिपक्ष दल एमालेका कारण आजको व्यवस्थपिका संसद बैठक कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले सांसद सुरेन्द्र पाण्डेले गत बैशाख ३१ गते भएको स्थानीय निर्वाचन अन्तर्गत भरतपुर महानगरमा भएको मत गणनाका क्रममा माओवादी कार्यकर्ताले मतपत्र च्यायातेको विषयलाई लिएर रोकिएको मतगणना अविलम्ब सुरु गर्नुपर्ने माग गरे ।
उनले एमाले उम्मेदवार जितको नजिक पुगेका वेला नतिजा प्रभावित पार्ने गरी मतपत्र च्यातेर गलत गरिएको आरोप लगाए । उनले मतगणना केन्द्र कव्जा नभएको दावी गर्दै नियामावली अनुसार च्यातिएको मत्रपत्र जोडेर गन्ने व्यवस्था गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरे । पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले तथ्यलाई बङ्ग्याएर कव्जा भनिएको भन्दै भरतपुर घटनालाई जनताको सार्वभौम अधिकारको बलात्कारको संज्ञा दिए ।
उनले आयोग र सरकारले भरतपुर घटनाप्रति बेवास्ता गरे एमाले आफैले एमाले उम्मेदवार देबी ज्ञवालीलाइ विजय भएको घोषणा गर्ने र अन्यथा आगामी दोस्रो चरणको स्थानीय तहको चुनाव नै नहुने धम्की दिए ।
साथै उनले सरकार र निर्वाचन आयोगले त्यसबारे निर्णय नगर्दासम्म संसद बैठक चल्न नदिने बताए । पाण्डे बोलेलगत्तै एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेका थिए ।
सभामुख ओनसरी घर्तीले विपक्षी सांसदहरुलाई आसन ग्रहण गर्न पटकपटक आग्ह गरेपनि नबसेपछि बैठक बिहीबार १ बजेसम्मका लागि स्थगित गरेको घोषणा गरेकी छन् ।