काठमाडौं, १४ जेठ । महोत्तरीको ग्रामीण बस्ती । आँगनमा खाट राखिएको छ । गाउँघरका महिलाहरू जम्मा भएका छन् । मधेसी भेषभुषामा रहेका एक महिला र पुरुष गाउँलेलाई नमुना मतपत्र देखाएर यसरी मत हाल्दा सदर हुन्छ, यसरी स्वस्तिक चिन्ह छाप लगाए बदर हुन्छ भनेर सिकाउँदैछन् ।
मतदातालाई शिक्षा दिइरहेका ती व्यक्तिको सिकाइ हेर्न मानिसहरूको भीड नै लाग्छ । पछि मात्र थाहा हुन्छ उनीहरू त हास्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली पो रहेछन् । धुर्मुसले काकुलाल र सुन्तलीले लक्षुमुनियाको अभिनय गरेका छन् ।यसमा निर्देशन भने सुदीप बरालको रहेको छ ।
निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी निर्माण गरेको वृत्तचित्रको सुटिङमा धुर्मुस सुन्तली मधेसी भेषमा स्थानीयलाई मतपत्रमा स्वस्तिक चिन्ह कसरी छाप लगाउने भनेर अभिनय गरिरहेका हुन् । महोत्तरीको मुसहर बस्तीमा नमुना एकीकृत बस्ती निर्माण गरेका धुर्मुस सुन्तलीलाई मधेसी लवजमा मतदाता शिक्षा दिन निर्वाचन आयोगले उनीहरूलाई वृत्तचित्र निर्माणको जिम्मेवारी दिएको हो ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ गते १, २, ५ र ७ प्रदेशमा हुँदैछ । पहिलो चरणमा १० प्रतिशतभन्दा बढी मत बदर भएपछि आयोगले एक महिनाअघिदेखि नै मतदाता शिक्षा प्रभावकारी बनाउन वृत्तचित्र, पर्चा, पम्पलेटिङ, घरघरमै गएर शिक्षा दिन लागेको हो ।