तराईको निर्वाचनमा एमाले छैन भन्नेलाई चुनौती दिदै, ठूलो संख्यामा एमालेमा प्रवेश गर्नाले सत्तारुढमा भुइचालो
लहान, ९ जेठ– स्थानीय तहको पहिलो चरणको निर्वाचनको नतिजा आइरहेका बेला दोस्रो चरणमा चुनाव हुने प्रदेश नम्बर २ मा मधेसी मोर्चा आवद्ध दलका नेता कार्यकर्ताको एमाले प्रवेश गर्ने क्रम बढेको छ । मधेस केन्द्रित दलका स्थानीय स्तरका नेताहरुको एमाले प्रवेशले उनीहरु एमालेका तर्फबाट उम्मेदवार बनेर विजयी हुने अभियानमा रहेको देखिएको छ ।

केही समय अघिसम्म ‘मधेस आन्दोलन’मा सक्रिय रहेका राजपा र संघीय समाजवादी फोरमका स्थानीय अगुवाहरु अहिले धमाधम एमाले प्रवेश गरिरहेका छन् । पहिलो चरणको चुनाव अघि नै मोर्चाको उद्गम थलो मानिएको लहानका पूर्व मेयर मुन्नी साह दलबल सहित एमाले प्रवेश गरे । सिराहाको राजनीतिमा प्रभावशाली रहेका साहको एमाले प्रवेशले सत्तारुढ माओवादीलाई धक्का लाग्नु त स्वाभाविक नै थियो, त्यसले मधेस केन्द्रित दल र कांग्रेसमा पनि भुइाचालो ल्याइदियो ।
संविधानसभाको दोस्रो चुनावमा क्षेत्र नं १ मा माओवादीबाट उम्मेदवार बनी एक हजार भन्दा कम मतान्तरले कांग्रेस हारेका साहलाई लहान नगरपालिकामा एमालेले मेयरको उम्मेदवार बनाउने सम्भावन छ । उनी लहानमा मेयरको उम्मेदवार भए सिराहा जिल्ला भरी त्यसको प्रभाव पर्ने अन्य अन्य पार्टीले आकलन गरेका छन् ।
मुन्नी साहपछि सिराहमा अर्काे राजनीतिक झड्का दिनेगरी पूर्व सांसद पारोदेवी यादव र माओवादीका केन्द्रीय सदस्य डा. नवीन यादव आइतवार एमाले प्रवेश गरे । फोरम लोकतान्त्रिकमा रहेकी पूर्व सांसद यादव र माओवादी नेता नवीनको एमाले प्रवेशले सिराहाको राजनीतिलाई नै तरंगित बनाइदिएको छ । स्थानीय तहको चुनावकै मुखमा उनीहरुको एमाले प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ । २ नम्बर प्रदेशमा कांग्रेसको तर्फबाट स्थानीय तहमा टिकटको सिफरिसमा पर्न नसकेकाहरु पनि धमाधम एमाले प्रवेश गर्न थालेका छन् । एमाले जिल्ला अध्यक्ष प्रमोद यादवले दोस्रो चरणमा हुने स्थानीय तहको चुनावमा सिराहामा एमालेलाई पहिलो पार्टी बनाएर देखाइदिने वताए ।
‘एमालेले नै मधेसका लागि काम गर्यो तर, मधेसलाई सधैं पछि पार्दै आएकाहरुले एमालेलाई मधेस विरोधी भनेर हल्ला चलाउँदै आएका थिए’ एमाले जिल्ला अध्यक्ष यादवले भने, ‘अव जेठ ३१ गते हुने चुनावमा हामी प्रमाणित गरेर देखाइदिन्छौं, मधेसमा पहिलो पार्टी एमाले हुन्छ ।’
महोत्तरीको वर्दिवासमा भएको एमाले २ नम्बर प्रदेश कमिटीको भेलामा माओवादी केन्द्रीय सदस्य तथा पूर्व सांसद फरमुद नदाफ पनि एमाले प्रवेश गरे । त्यसको लगत्तै राजेन्द्र महतो नेतृत्वको तत्कालीन सद्भावना पार्टीका सप्तरी जिल्ला अध्यक्ष र हाल राजपाका क्षेत्रीय अध्यक्ष रहेका राजेन्द्र चौधरी एमाले प्रवेश गरे । मधेसकेन्द्रित दलमा रहे पनि समाजमा भिजेका, इमान्दार र लोकप्रिय छवि भएकालाई पार्टीमा भित्र्याउँदै जाने नीति एमालेले लिएको छ । पछिल्लो पटक माओवादी, कांग्रेस र राजपाका पूर्व संसद तहका नेता कार्यकर्ता एमाले भित्रीनुले एमालेको अभियान सफल भइरहेको देखाउँछ । चक्रपथ