१२ घण्टादेखि भरतपुर बिबाद टुंगो लगाउन आयोगको बैठक बस्दै, मतगणना गर्ने आयोगको तयारी
रुपनी जि.एम, भरतपुर १७ जेष्ठ । बिहान ११ बजेदेखि बसेको निर्वाचन आयोगको बैठक अझै सकिएको छैन । भरतपुर महानगरपालिकाको मतगणना बिबाद टुंग्याउन निर्वाचन आयोगको बैठक बसेको हो ।
झण्डै आठ घण्टादेखि बसिरहेको बैठकले भरतपुरमा फेरि मतदान गराउने कि मतगणनालाई अघि बढाउने भन्नेबारे छलफल गरिरहेको छ । आयोग निकट उच्च स्रोतका अनुसार भतरपुरमा पुनः मतदान गराउँदा गलत नजिर बस्ने हँुदा च्यातिएको मतपत्रलाई बदर घोषित गरी मतगणनालाई निरन्तरता दिन सकिने भन्ने विषयमा छलफल चलिरहेको छ ।
मतदान गराउनेतर्फ भन्दा पनि प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव च्यातिएको मतपत्रलाई बदर घोषित गरेर मतगणनालाई अघि बढाउने मनस्थितिमा रहेको आयोग निकट उच्च श्रोतले जनाएको छ । घटनाबारे छानबिन गर्न आयोगले सोमबार गीताप्रसाद तिमिल्सिनको संयोजकत्वमा अनुगमन समिति गठन गरेको थियो । निर्देशनअनुसार समितिले बुधबार आयोग समक्ष प्रतिवेदनसमेत बुझाइ सकेको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ ले कुनै कारणले मतपत्र नोक्सान भएमा त्यो मतदान केन्द्रमा पुनः मतदात गराउनु पर्ने कानुनी व्यवस्था छ । तर भरतपुरमा मतगणनामा बसेका दलका प्रतिनिधिले नै नियतबस मतपत्र च्यातेको निष्कर्ष निकाल्दै आयोगले मतगणना अघि बढाउने तयारी गरेको स्रोतको दाबि छ ।
भरतपुर महानगरपालिका १९ नम्बर वडाको मतगणना जारी रहेका बेला आइतबार राति माओवादी केन्द्रका प्रतिनिधि मधु न्यौपाने र द्रोणराज शिवाकोटीले मतपत्र च्यातेपछि मतगणना रोकिएको हो । मतगणना रोकिने बेलासम्म ज्ञवाली र दाहालको मतअन्तर ७ सय ३३ थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार देवी ज्ञवालीले ४१ हजार ६ सय ४१ र रेणु दाहालले ४० हजार ९ सय ८ मत ल्याएका थिए ।