काठमाडौं | मतगणना अन्तिम चरणमा पुगेको बेला भरतपुरमा आइतबार मध्य राती मतगणना भइरहेका स्थानमा माओवादीका मतगणना प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले एक्कासी मतपत्र च्याते । राती ११ बजेर ५२ मिनेटमा भएको उक्त घटनाको योजना भने राती ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको खुलेको छ ।
प्रधानमन्त्री पुत्री रेणु दाहाललाई मेयरको उम्मेदवार बनाइएको भरतपुर महानगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको थियो । रेणुले आइतबार साँझसम्मको मत गणनामा एमाले उम्मेदवार दवी ज्ञवालीसँग मतको अन्तर घटाउँदै आएकी थिइन् । वडा नम्बर १९ र २० को मत गणना बाँकी रहेका बेला सार्वजनिक सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा वडा नम्बर १९ को मत गणनाबाट कसले जित्ने भन्ने यकिन हुने भन्ने विभिन्न अनुमान आइरहेका थिए । वडा नम्बर १९ मा रेणुले ४०० मत देवी ज्ञवालीलाई तिर्न सके वडा नम्बर २० मा पुग्दा रेणुले जित्ने नत्र एमाले उम्मेदवार ज्ञवालीले जित्ने अनुमानहरु आम सञ्चारमा प्रस्तुत भइरहेका थिए ।
तर, वडा नम्बर १९ को मत गणना गर्दा रेणु ४०० मतले अगाडि लाग्ने त परको कुरा उल्टै देवी ज्ञवाली १८३ मतले अगाडि देखिएपछि माओवादी प्रतिनिधिहरु निराश भए । यहाँबाट सुरु भयो मतपत्र च्यात्ने र कुनै पनि हालतमा दाहोर्याएर मतदान गराउने योजना । प्रधानमन्त्री पुष्पकमल दाहाल कुनै पनि हालतमा छोरीलाई भरतपुरको मेयर बनाएर आगामी निर्वाचनमा चितवनमा आफ्नो क्षेत्र सुरक्षित गर्न चाहन्थे । त्यसैका लागि उनले राज्यको ठूलो धनराशी मात्रै खर्च गरेका थिएनन्, अन्यत्र सबै ठाउँमा आउने माओवादी भोट कांग्रेसमा समर्पण गरेर भरतपुरमा छोरी जिताउने एकोहोरो ध्याउन्नमा थिए ।
जव भरतपुर १९ को नतिजा अनपेक्षित आएको खवर दाहाल समक्ष आयो तव कुन आइडिायाले रेणुलाई जितेको घोषणा गर्ने भन्ने विषयमा साँझदेखि नै प्रधानमन्त्री निवासमा छलफल भयो । लामो छलफलमा सँगै रहेका महान्याधिवक्ता रमण श्रेष्ठले पुन मतदान गराउने उपाय निकालेको स्रोतले वताएको छ ।
राती सवा नौ बजेसम्म वडा नम्बर १९ का करिव २४०० मत गणना भइसकेको थियो । जसमा एमाले उम्मेदवार देवीको अग्रता घट्नुको साटो बढ्यो । ठीक त्यसैबेला ६ वटै ग्रुपको मतगणनामा बसेका माओवादी प्रतिनिधिहरु बाहिर निस्के । बाहिर निस्केका उनीहरु २ घन्टासम्म मतगणनास्थलमा आएनन् । त्यही दुई घन्टाको बीचमा प्रधानमन्त्री निवास बालुवाटारबा महान्याधिवक्ता रमण श्रेष्ठ र उनीहरुबीच मतपत्र च्यात्ने र पुन मतदानको माग गर्ने विषयमा निर्णय भयो । २ घन्टासम्म मत गणनास्थलबाट हराएर बैठक बसी पुन मतगणनास्थल फर्केका माओवादी प्रतिनिधिले केहीबेर अघि गरेको निर्णय कार्यान्वयन गर्न मतपत्र च्याते । मतपत्र च्यातेकै बेला ठाउँका ठाउँ माओवादी प्रतिनिधिलाई प्रहरीले पक्राऊ पनि गर्यो ।
उनीहरुलाई पक्राऊ गरेर लैजाने क्रममा मतगणनास्थल बाहिर रहेका एमाले कार्यकर्ताहरुले होहल्ला गरे । सोही ठाउँबाट एमालेका कार्यकर्ता गंगा लामालाई पनि प्रहरीले पक्राऊ गरी केहीबेरपछि छोड्यो । त्यसैबीच मतगणना अधिकृत कविप्रसाद न्यौपानेलाई पनि महान्याधिवक्ता श्रेष्ठको तर्फबाट केही निर्देशन गयो । उनले मतपत्र कसले च्यातेको आफूले थाहा नपाएको अभिब्यक्ति दिएबाट पनि उनलाई केही निर्देशन भएको बुझ्न सकिन्छ । मतपत्र च्यातेकै बेला रंगेहात पक्राऊ परेका माओवादी प्रतिनिधिको नाम लिन नसकेका मतगणना अधिकृतले मतपत्र कसले च्यातेको भन्ने आफूले थाहा पाउन नसकेको गैरजिम्मेवारी प्रतिक्रिया दिए । मत गणना स्थगित गर्न महान्याधिवक्ताबाट दवाव आएकाले उनको ध्याउन्न मत गणना स्थगित गर्न केन्द्रित थियो । एमालेका प्रतिनिधिहरुले माओवादीले च्यातेका मतपत्र थाती राखेर अरु गणना गर्न आग्रह गर्दा पनि उनले गणना स्थगित गरे ।
बालुवाटारदेखिको योजना भएका कारण आइतबार साँझ देखि नै माओवादी र उसको चुनावी साझेदार कांग्रेस दोहोर्याएर मतदान गराउने पक्षमा थिए । त्यसैको कार्यान्वयनका लागि मात्रै उनीहरुले मतपत्र च्यातेका थिए । जव निर्वाचनको मत गणना अन्तिम अवस्थामा पुग्छ हार्ने सम्भावना देखिएको उम्मेदवारले केही मतपत्र च्यातेर दोहोर्याएर मतदान गराउने यस्तै हर्कतलाई अनुमोदन गर्ने हो भने दोस्रो चरणको निर्वाचनको हालत के होला ? मतपत्र च्यातेको प्रमाणित भएकामाथि कारवाही गरेर मतगणनालाई अगाडि बढाउने हो कि होइन ? यदि यसो नगर्ने हो हार्नेले मतपत्र च्यातेर फेरि मतदानको माग राखे आगामी निर्वाचनमा यो नजिर बस्ने स्पष्ट छ । त्यसो भएमा त्यसै त नीतिनियममा नचलेको देश झन् भताभुङ्गको स्थिति निम्तिने पक्का छ | यस बिषयमा सम्बन्धित निकाएले सोच्नै पर्ने हुन्छ | – चक्रपतबाट