भरतपुरको घट्नाको बारेमा प्रधानमन्त्री प्रचण्डले मुख खोले, दिए यस्तो जवाफ
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुरमा मतपत्र च्यात्ने जो कोही भए पनि कारबाही हुने बताएका छन् । उनले निर्वाचन आयोगको अनुगमन टोलीले दिएको प्रतिवेदन अनुसार सरकार अघि बढ्ने बताए । आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मतपत्र च्यात्ने व्यक्ति माओवादीकै भए पनि उन्मुक्ति नपाउने बताए ।
बैठकमा उनले प्रस्ट भनेका छन् भरतपुर महानगरको मतगणनाका विषयमा निर्वाचन आयोगले गर्ने निर्णयमा सरकारले कुनै हस्तक्षेप नगर्ने बताएका छन्। ‘भरतपुरको घटना थाहा पाउँदाबित्तिकै मलाई एकदमै नराम्रो लाग्यो, मैले तुरुन्त छानबिन गर्न निर्वाचन आयोगलाई अनुरोध गरें प्रचण्डले बैठकमा भनेका छन् ।
यही जेठ १५ गते मध्यरातमा भरतपुर महानगरपालिकाको मतगणना भइरहेको बेला परिणामप्रति असन्तुष्ट पक्षले मतपत्र च्यातेको थियो । एमाले र माओवादीले एकअर्कालाई मतपत्र च्यातेको आरोप लगाउँदै आएका छन् । प्रहरीले मतपत्र च्यातेको भन्दै माओवादीका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । सो घटनाको सत्यतथ्य बुझेर प्रतिवेदन तयार पार्न निर्वाचन आयोगले अनुगममन टोली गठन गरेको छ । भरतपुरको घटना बुझेर अनुगमन टोली मंगलबार नै राजधानी फर्किसकेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले भरतपुर महानगरपालिकाको स्थगित मतगणना पुनः सुचारु गर्न माग गर्दै व्यवस्थापिका संसद्को बैठक अवरुद्ध गरेको छ ।
वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा जेठ १५ गते मतगणनामा खटिएका स्वयम्सेवकले नै मतपत्र च्यातेपछि निर्वाचन अधिकृतको कार्यालयले तत्काल मतगणना स्थगित गरेको थियो । सो घटनाका बारेमा निर्वाचन आयोगले तीन सदस्यीय समिति गठन गरी छलफलसमेत गरिराखेको छ ।
त्यस्तै सदनको आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद आ– आफ्ना आसनबाट उठी सदनको कारबाहीलाई अवरोध गरेका छन् । यही बीचमा सोही पार्टीका सांसद सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको स्थगित मतगणना प्रक्रिया तत्काल सुचारु गरी नतिजा सार्वजानिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।
उनले भने “निर्वाचनमा हार जित हुन्छ, पराजयको पराकाष्ठले मतपत्र च्यात्ने जुन हर्कत भयो, यो गलत कार्य हो, यसले लोकतन्त्र र जनमतलाई सम्मान गर्दैन, जुन परिणाम आए पनि सबैले स्वीकार गर्नुपर्छ र तुरुन्त मतगणना प्रक्रिया सुचारु गर्नुपर्छ ।”
सांसद पाण्डेले मतगणना कार्य शीध्र सुचारु नगरे दोस्रो चरणको निर्वाचन हुन नसक्ने चेतावनी दिँदै मतपत्र च्यात्नेमाथि कारबाही गर्न मागसमेत आग्रह गरे । सांसद पाण्डेको भनाइ सकेपछि पनि प्रतिपक्षी दलका सांसद उठेर बिरोध जनाएका कारण सभामुख ओनसरी घर्तीले भोलिसम्मका लागि बैठक स्थगितगरिन ।
उनले आफूले प्रतिपक्षी दलले उठान गरेका मागलाई सरकारको ध्यानाकर्षण भएको जानकारी गराउँदै सांसदलाई आसनग्रहण गर्न आग्रह गरेकी थिईन । सदनको अर्को बैठक यही जेठ १८ गते बिहीबार दिनको १ बजे बस्नेछ ।
यसअधि सदन सुचारु गर्ने विषयमा कार्य परामर्श समितिको बैठक समेत बसेको थियो । सभामुख घर्तीको अध्यक्षतामा बसेको बैठकमा दलबीचमा कुरा मिल्न सकेका थिएन ।
सदनको आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आव २०७४÷७५ को राजस्व र व्ययको वार्षिक अनुमानको सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको थियो ।