सरकार परिवर्तनको प्रक्रियाले निर्वाचन प्रभावित हुँदैनः देउवाकाठमाडौं, जेठ १०– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्षका पुष्पकमल दाहाल प्रचण्डको उच्च प्रशंशा गरेका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि देउवाले बुधबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीसँग भएको सहमतिअनुसार प्रचण्डले राजीनामा दिएकोमा धन्यवाद दिएका छन् ।
सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गर्नुका साथै देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधिले आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धी प्राप्त भएको देउवाले जनाएका छन् ।
सरकार गठन भएको दश महिनाभित्र संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने काम हुनुका साथै १५ वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचनको पहिलो चरण शान्तिपूर्ण र निष्पक्ष रुपले सम्पन्न गर्नुलाई देउवाले सरकारको उपलब्धी भनेका छन् ।
निर्वाचन प्रभावित हुँदैन
काँग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट दिएको राजिनामाले निर्वाचन प्रक्रिया प्रभावित नहुने पनि स्पष्ट गरेका छन् ।
सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन पनि देउवाले आग्रह गरेका छन् ।
कांग्रेस र माओवादी केन्द्रबीच भएको राजनीतिक सहमति अनुरुपको सहकार्य भविष्यमा पनि निरन्तर जारी रहने देउवाले विश्वास व्यक्त गरेका छन् ।
आफ्नो पार्टीले सबै राजनीतिक दलहरुसँग गरेका सहमति दृढतापूर्वक सदैव कार्यान्वयन गर्ने पनि देउवाले प्रतिवद्धता जनाएका छन् ।