काठमाडौं, जेठ २४ – कतारसँग कुटनीतिक सम्बन्ध तोडेका देशले आफ्नो कदमलाई थप कडा पार्दै ललगेपछि त्यहाँ कार्यरत नेपाली अन्योलमा पर्न थालेका छन् । नेपालीको भविश्य के हुने भन्ने चिन्ता थपिन थालेको छ । ती देशले कतारका विमानलाई आफ्नो हवाई क्षेत्रमा उड्न नपाउने गरी प्रतिबन्ध लगाएका छन् ।
अरब क्षेत्रमा अस्थिरता बढाएको तथा आतंकवादीलाई सहयोग गरेको भन्दै छिमेकी देशले कुटनीतिक सम्बन्ध तोडेका हुन् । बहराइन, इजिप्ट, युएई तथा साउदी अरबले कतारसँगको हवाई, स्थल तथा समुद्री बाटो बन्द गरेका छन् । यमन, लिबिया र माल्दिभ्सले पनि कतारसँगको कुटनीतिक सम्बन्ध तोडेका छन् ।
खाडीका देशको यो विवादले रोजगारीका लागि यी देशमा पुगेका नेपाली पनि अन्योलमा परेका छन् । यो संकटले सबैभन्दा बढी प्रभाव कतारमा देखिएको छ ।
कतारको पछिल्लो अवस्थाबारे यसो भन्छन् त्यहाँ कार्यरत नेपाली
शोभाकान्त पाेख्रेल – स्थिति सामान्य छ । केही प्रभाव परेको छैन । यहाँ नपाल जस्तो कालो बजारी चैल्दैन । फिक्स रेट हुन्छ, खासै असर पर्ला जस्तो छैन । हिजो नै आन्तरिक मन्त्रालयले सामुद्रीक बाटो हुँदै पाकिस्तान ,भारत अनि बङ्गलादेशबाट प्रशस्त समान आउने हुनाले त्यस्मा चिन्ता नगर्न भनेको छ ।
राजेश खड्का – हवाई, स्थल र जलमार्ग बन्द गराएको खबर आएलगतै खाद्यन्न जोहो गर्न भीडभाड हुँदै गएको छ भने मुल्य बढ्नुको साथै सामान्य रुपमा अभाब हुँदै गएको देखिन्छ ।
अब्दुल किरम – स्थिती समान्य छ । जहाँ सम्म बजार मा समान किन्नको लागी भीड लागेको भन्ने कुरा छ अहिले रमदानको समयले गर्दा पनि भीडभाड भएको हो । त्यस्तो आत्ती हाल्नुपर्ने केहि छैन ।
मनोजकुमार चोङबाङ – म कतारकै एक सुपर मार्केटमा कार्यरत छु । मंगलबार केही ग्राहकहरुको भीड बडेको भएपनी बुधबारबाट स्थिति सामन्य भएको छ । महङ्गि नबढ्नेमा अहिलेलाई ढुक्क भए हुन्छ ।
सुमन कोइराला– खासै असर परेको देखिदैँन । हिजो जस्तो हो आजपनी उस्तै छ । अली सुपर मार्केटतिर सामान जोहो गर्नेको भीडभाड देखिन्छ । अब दुई चार दिन पछिको अबस्था कस्तो आउने भन्न सकिन्न । हामी नेपालीले सतर्कका साथ रहनु नै राम्रो हुनेछ ।

सुमन तिवारी – वाक्रामाचाहिँ स्थिती सामन्य नै छ । लुलु, क्यरिफोरमाचै अनाबस्यक हल्लाले गर्दा सामान धेरै बिक्री भएकोले अलि पाउन मुस्किल भएको छ । त्यो पनि भोलिपल्ट सामान्य हुन्छ । हल्लाको पछि नलाग्न सबैलाइ आग्रह गर्छु ।
कुश्मा अर्याल– अहिलेसम्म केही असर देखिएको छैन । भोलिका दिनमा कतै चार लाख नेपालीले रोजगार गुमाउनु पर्ने हो कि भन्ने अन्योल छ । सबै नेपालीहरु आत्तिएपनि स्थितीचाहिँ पहिलेकै जस्तो छ ।खाद्यान्न पनि भोलिको दिनमा अभाव नहोला भन्न सकिंदैन । यसको लागि नेपाल सरकारले पुर्ब तयारी गर्नु पर्ने देखिन्छ ।
छविलाल खत्री – म त गाउँले सोझो मान्छे । हेल्पर काम गरिन्छ त्यस्तो असर त केही देखिंदैन । तर हामी जस्तो सम्पूर्ण सर्बहारा नेपालीहरू निकालियौं भने हाम्रो भविश्य नर्क मै जान्छ । स्वदेशमा रोजगार छैन खाली नेताहरूलाई कुर्सी तानातन कार्यकर्ता हड्ताल बन्दमा होमिएका छन् बडो दुःखको कुरो छ हजुर सोच्दाखेरी रातमा निद्रा लाग्दैन ।
गोपाल कट्टेल – विदामा गएर नेपालबाट कतार आउनेहरुको चाहि के हुन्छ ? जसको भिसा अवधि विमान अवरुद्ध या विमान सेवा ठप्प हुनका कारणले सक्कीयो, यदि विदामा रहेका कसैको भिसा २÷३ दिन पश्चात सक्किन्छ र उक्त व्यक्ती भनेको दिन र समयमा कतार प्रवेश गर्न सकेन भने । के रोजगारी र कतारको कम्पनीबाट पाउनु पर्ने रकम माया मारे हुन्छ अब ?
नबराज पन्थी – बाहिरी देशका जनताहरु भयभित छन् । अनि चिन्तित पनि । आज केही नभए पनि भोलीका दिन चाहिँ के हुने हो भन्ने सबैमा चासो को विषय बन्दै गएको छ । अभाव नभए पनि महँगोमा समान किन्नुपर्ने बाध्यता भने लगभग पक्का छ ।
धनराज घिमिरे – आजको दिन सम्म त पहिले कै जस्तो सहज नै छ । अब आउँदा दिनहरुमा केही प्रभाब पर्ला कि जस्तो छ । विशेष गरि आफैंले खाना बनाएर खाने कामदारलाईचाहिँ अलि असर पर्न सक्छ । किनभने बजार भाउ बड्न सक्छ । अनि आफुले अड्कलेको पैसाले खाना खान नसकिने अबस्था नआउला भन्न सकिन्न ।
भिमबहादुर खत्री – सोमबार मात्रै त कुटनीतिक सम्बन्ध तोडिएको हो । तत्काल खासै केही असर देखिएको छैन । स्थिति सामान्यनै छ । तर अबका केही दिन पछि महंगी बढ्ला कि भन्ने आशंका हो । अरु खास हामी आप्रवासी मजदुरलाई कुनै डर त्रास छैन । किनकि युद्ध नै भएको त हैन नि नाकाबन्दी न भएको हो ।