
कयौँ दिनसम्म संसद अवरोध गरेपछि मंगलबार बल्ल बल्ल सुचारु गरेपछिको पहिलो बैठकमा पूर्व प्रधानमन्त्री तथा हालका प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले भरतपुर मतगणनाको प्रसंगलाई जोडेर क्रिकेटको रमाइलो प्रसंग जोडे। उनले सुरुमै कोलकाताको इडनवर्ग रंगशालामा भएको खेल भने। जबकि कोलकातामा इडनवर्ग नामको रंगशाला नै छैन। इडनवर्ग त स्कटल्यान्डको राजधानीको नाम हो। कोलकातामा भएको रंगशालाको नाम त इडन गार्डन हो।
खैर उनले संसदको रोष्ट्रममा उभिएर यसो भने, ‘एक पटक भारत र श्रीलंकाका बीचमा क्रिकेटको सेमिफाइनल भइराखेको थियो। कोलकाताको इडनवर्ग रंगशालामा। त्यसमा भारतले २५२ रनको लक्ष्य श्रीलंकालाई दियो। श्रीलंकाले ५२ रन पुर्याउन पाउँदा नपाउँदा भारतका पक्षबाट आफ्नो रंगशालामा दर्शकले होहल्ला आदिइत्यादी अनेक चिज गरेर खेल हुन दिएन। भारतमा खेल भएको, श्रीलंकालाई डिस्टर्ब गरिएको, खेल्न नदिइएको हुँदा २५२ रनको लक्ष्य छोडेको भारतले हार स्वीकार गरेको र ५२ रनमात्रै भएको श्रीलंकाले जित्छ भन्ने भएर डिस्टर्ब गरेको हुनाले श्रीलंकालाई सेमिफाइनलमा विजयी घोषणा गरियो।’
तर उनले दिएको यो तथ्य पूरै गलत छ।
हेर्नुस् भिडियो
‘त्यसकारण यस्तै हुनुपर्ने। हार्यो भनेपछि जसले मतपत्र च्यात्यो, हारेको त कबुल गरिसक्यो। श्रीलंका र भारतको जस्तो २५२ र ५२ मात्रै भएको हैन ७८४ मतले देवी ज्ञवालीको अग्रता छ। यो कुरा हेक्का रहोस्’ भन्दै गर्दा सुवास नेम्वाङ सहितका नेताहरुले टेबल ठोकेर समर्थन गरे।
उनले भनेको जस्तो खेल कोलकाताको इडन गार्डेनमा भएको पक्कै हो। मार्च १३, १९९६ को खेल थियो त्यो। विश्वकपको सेमिफाइनल खेल।
तर त्यसमा ओलीले भने जस्तो भारतले पहिला खेलेर श्रीलंकालाई २५२ रनको लक्ष्य दिइएको थिएन। श्रीलंकाले पहिला खेलेर २५१ रन बनाई भारतलाई चैँ २५२ रनको लक्ष्य दिएको थियो।
अनि ओलीले भने जस्तो श्रीलंकाले ५२ रन बनाउँदा भारतीय दर्शकले होहल्ला गरेका थिएनन्,भारतले १२० रन बनाउँदा लगातार दुई वटा विकेट गुमाएको अवस्था थियो। ३४.१ ओभरमा आठौँ विकेट गुमेपछि निराश र क्रुद्ध भारतीय दर्शकले रंगशालामा आगो लगाएका थिए र फलफूल र पानीको बोतल मैदानमा फ्याँकेका थिए। खेल त्यतिबेला रोकिएको थियो।
फेरि खेल सुरु हुन लागेको बेला दर्शकको भीडले पुनः डिप फिल्डर्सतर्फ बोतल फ्याँक्न थालेपछि म्याच रेफ्रीले खेल रोकेका थिए र श्रीलंकालाई बाइ डिफल्ट विजयी घोषणा गरिएको थियो।
क्रिकेटप्रेमी कुनै पनि दर्शकले यो खेलको नतिजालाई बिर्सन सक्दैनन्। छिमेकी देश भारतमा भएको यो खेलको बारम्बार उदाहरण आउने भएकोले पनि यसलाई याद गरिन्छ। तर यस्तो खेलमा समेत संसदमा रेकर्ड हुने गरी ओलीले गलत तथ्य प्रस्तुत गरे, एमाले सांसदहरुले ताली ठोके।
ओलीका हरेक वाक्य ब्रह्मसत्य हो र त्यसको जसरी पनि बचाउ गर्नुपर्छ भन्ने भ्रममा रहेकाहरुले यसलाई सही माने पनि तथ्य यसको विपरीत छ। हेर्नुस्