
वैदेशिक रोजगारका क्रममा परेका समस्याहरू तपाईँले अब अनलाइनबाटै सरकारलाई भन्न पाउनुहुने भएको छ। तपाईका समस्यालाई सरकारले जतिसक्दो चाँडो सम्बोधन गर्नेछ र तपाईँको समस्या समाधानका लागि के भइरहेको छ भन्ने कुरा पनि अनलाइनबाटै थाहा पाउनुहुनेछ।
के के मा सहयोग पाउन सकिनेे ?
विदेशमा रहेका आफन्तको खोजतलास तथा उद्धार गर्नुपरे, मृत्यु भएका आफन्तको शव झिकाउनु परे, कामदार तथा तिनमा परिवारले पाउनुपर्ने क्षतिपूर्तिको माग गर्नुपरे लगायतका वैदेशिक रोजगार सम्बन्धी समस्याका बारेमा नेपाल सरकारलाई अनलाइनबाट निवेदन दिन सकिन्छ।
निवेदन गर्नका लागि इन्टरनेट ब्राउजरको एड्रेस टुलबारमा गई www.nepalconsular.gov.np टाइप गरी Enter वटन थिच्नुहोस्। अब नेपाल सरकार कन्सुलर सेवा विभागको होम पेज खुल्नेछ। उक्त होम पेजमा रहेको Online Legal Services मा क्लिक गर्नुहोस्।
उक्त अप्सनको वटनमा क्लिक गरेपछि कन्सुलर तथा कानुनी परामर्श नामको नयाँ पेज खुल्नेछ। जहाँ तपाईँले निवेदन दिन सक्ने विषयहरू लेखिएका छन्। जस अन्र्तगत तपाईँले निवेदन दिन चाहेको विषयमा क्लिक गर्नुहोस
खोजतलास र उद्धार सम्बन्धी कार्य
विदेशबाट मृतकको शव झिकाउने
घाइते वा मृतकको क्षतिपूर्तिका लागि निवेदन
अधिकृत वारेशनामाको आधिकारिकता सम्बन्धमा
गुनासो/समस्या
अब तपाईँले निवेदन दिने विषय छनोट गरेपछि पुराना आवेदकहरुका लागि Sign In र नयाँ आवेदन दिनको लागि Sign Up गर्ने विकल्प (अप्सन) सहितको पेज खुल्नेछ।त्यस पेजमा सम्पूर्ण जानकारीहरू भरी Register मा क्लिक गरेपछि Congratulation! Your registration completed successfully भन्ने पेज देखिनेछ।
यस पेजमा तपाईँको Username, Security, Question र त्यसको Answer देखा पर्दछ। उक्त कुराहरूलाई नोट वा याद गर्नुहोस्। ती कुराहरू तपाईँले दिएको निवेदनमा भएको उपलब्धि बारे थाहा पाउन तथा पासवर्ड भुलेको खण्डमा रिकोभरी गर्न उपयोगी हुनेछन्।
अब निवेदन दिनको निम्ति Go to Home मा क्लिक गर्नुहोस्। त्यसपछि खोजतलास तथा उद्धार सम्बन्धी कार्य लेखिएको नयाँ पेज खुल्नेछ। निवेदन दिनको लागि त्यसमा रहेको Online Application मा क्लिक गर्नुहोस्।
त्यसपछि खोजतलास तथा उद्धार सम्बन्धी कार्यका लागि दिने निवेदन खुल्नेछ। उक्त निवेदनमा आवश्यक जानकारी भर्नुहोस र निवेदनको तल रहेको Add Documents मा क्लिक गरी तपाईसँगै वा सम्बन्धित कामदारसँग भएका आवश्यक कागजपत्रहरु स्क्यान गरी अपलोड गर्नुहोस्।
अब खोजतलास तथा उद्धार गर्नुपर्ने व्यक्तिसँग सम्बन्धी कागजपत्रहरु अपलोड गर्न Add Documents मा क्लिक गर्नुहोस्। (जति कागजपत्र अपलोड गर्नुपर्ने छ त्यतिनै पटक Add Documentsमा क्लिक गर्नुहोस्) र Choose file भन्ने अप्सनमा क्लिक गरी कागजपत्रहरु अपलोड गरी तिनको नाम दिनुहोस।
अन्तमा The information provided above is correct भन्ने अप्सनमा क्लिक गरी Submit गर्नुहोस्। त्यसपछि तपाईँले दिएको निवेदन कन्सुलर सेवा विभागमा पुगेको जानकारी दिने Application has been sent भन्ने सूचनासहित नयाँ पेज खुल्नेछ।
अब तपाईँले दिनुभएको निवेदनमा भएको प्रगति विवरण थाहा पाउन View Status भन्ने अप्सनमा क्लिक गर्नुहोस्। यद्यपि निवेदनमा भएको प्रगति बारे थाहा पाउन केही वा दिन पनि लाग्न सक्नेछ। उक्त पेजमा तपाईँले दिएको निवेदनमा नेपाल सरकारको कुनै निकायबाट कस्तो कदम चालिएको छ वा त्यसमा भएको उपलब्धि बारे थाहा पाउन सक्नुहुनेछ।
यति गरिसकेपछि Login In गरेको खाताबाट बाहिर निस्कन निवेदकको नाम देखाएको अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि Log Out देखा पर्छ। त्यसमा क्लिक गरी सहजै बाहिरीनुहोस्। थप जानकाररीको लागि कन्सुलर सेवा विभागको फोन नम्बर ०१ ४२६०१०८ तथा ४२६०१२१ मा पनि सम्पर्क गर्न सकिनेछ।