
ठूला तीन दलले आफूहरुलाई स्थानीय निर्वाचनमा जाने अनुकुल वातावरण नबनाइदिएको भन्दै आमहड्तालसम्मको कार्यक्रमसहित आन्दोलनमा उत्रेको राष्ट्रिय जनता पार्टी ( राजपा ) लाई फकाउने शीर्ष नेताहरुको यत्न जारी छ।
वितेका दुई दिनमा भएका बैठकहरु निष्फल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निकास निकाल्न अनौपचारिक छलफल पनि सुरु गरेका छन्।
प्रधानमन्त्री देउवाले राजपा नेताहरुलाई आन्दोलनबाट समाधान ननिस्किने भन्दै संयम् भएर वार्ताका माध्यमबाटै गतिरोध अन्त्य गर्नु पर्ने बताएका छन्।
‘हिजो बैठक सफल हुन नसकेपछि प्रधानमन्त्री देउवासँग छुट्टै कुरा भएको थियो, उहाँले यो विषयमा प्रतिपक्षी दलका नेता ओलीसँग पनि बसेर छलफल गर्छु भन्नु भएको छ’ राजपाका एक नेताले भने, ‘प्रधानमन्त्री दुई नम्बर प्रदेशको चुनाव सारेर भए पनि अरु प्रदेशमा १४ असारमै चुनाव गर्न चाहेजस्तो देखिन्छ तर हामीले भने हाम्रा मागहरुमा अडान राखेका छौं।’
राजपाले आन्दोलन घोषणा गरेपछि प्रधानमन्त्री देउवाले हिजै साँझ पार्टीभित्रका आफू निकटका नेताहरुसँग पनि अब के गर्ने भन्ने विषयमा छलफल गरेको बताइएको छ।
‘छलफल त निरन्तर रुपमा भइनै रहेका छन् तर हामीहरु चुनाव सार्ने पक्षमा छैनौं, राजपाका नेताहरुसँग पनि कुराकानी भइरहेको छ’ काँग्रेस नेता रमेश लेखकले भने, ‘राजापालाई चुनाव अनुकुल वातावरण बनाउन दलसम्बन्धी ऐन पनि संसोधन गरियो तर उहाँहरुले हठ गरिरहनुभएको छ। यसले त उहाँहरुलाई नै घाटा बनाउने हो।’
दुई नम्बर प्रदेशमा आन्दोलन हिंसात्मक हुँदै गयो भने के कसरी अघि बढ्ने या राजपालाई कसरी चुनावी बाटोमा ल्याउने भन्ने विषयमा प्रम देउवाले आज–भोलिभित्र गठबन्धनको दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी नेता ओलीसँग गम्भिर छलफल गर्ने तयारी गरिरहेका छन्।
उता, हिजै ओलीले राजपा चुनावबाट भाग्ने कुरा राम्रो नभएको भन्दै प्रतिक्रिया दिएका थिए।