
विराटनगर, जेठ २८ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले सरकारले मधेशका मागलाई उपेक्षा गरे आजैदेखि शसक्त आन्दोलनको थालनी हुने बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आइतबार दिउँसो सरकारसँग हुने वार्तामा सहमति नभए आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।
मधेशको माग सम्बोधन गर्ने नाममा चुनावलाई दुई चरणमा पु¥याएको बताए पनि सरकारले माग सम्बोधनका सवालमा कुनै काम नगरेको महतोले आरोप लगाए । अहिले बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले समेत मधेशी जनताको मागप्रति आशातित काम नगरे शसक्त आन्दोलन शुरु हुने बताए ।
निर्वाचन पछि माग सम्बोधन गर्ने भन्दै मधेशी जनतामाथि धोका दिने प्रपञ्च रचिएको आरोप लगाउँदै उनले भने, ‘माग सम्बोधन नभएसम्म चुनाव स्वीकार्य हुँदैन, यस्तो चुनावलाई असहयोग हुन्छ, बिरोध हुन्छ ।’ मधेशको आवाज र अधिकार बोक्ने पार्टी अब राजपामात्रै बाँकी रहेको भन्दै उनले राजपाको सहभागिता बिना हुने चुनाव मधेशीबिनाको चुनाव हुने बताए । उनले थपे, ‘अब मधेशको मुद्धा बोक्ने पार्टी राजपामात्रै बाँकी छ, यो पार्टीबिना गरिने चुनावको मधेशमा कुनै अर्थ छैन ।’
महतोले मधेशको माग सम्बोधन नगरी चुनावले देश र जनतलाई भलो नगर्ने बताउँदै सरकारले कम आँकलन गरे मुलुक बर्बादीतिर उन्मुख हुने चेतावनी दिए । महतोले यो आन्दोलनले नै मधेशको माग र भविष्य सुनिश्चित गर्ने दाबी गरे ।
कसैलाई शसर्त मद्धत गर्दैमा सहमतिको बाटो बन्द नहुने बताउँदै महतोले फेरि प्रधानमन्त्रीसँग वार्ता हुने तर आफूहरुका मागको सम्बोधन हुनुपर्ने माग गरे । संविधान जुन मेहनतले बनाइएको थियो यसको कार्यान्वयन पनि त्यसरी नै हुनुपर्ने आफूहरुको पनि धारणा भएको बताउँदै महतोले भने, ‘त्यो संविधान सबै नेपाली जनताको लागि बनाउन सकिएन भने नेपाली जनताले प्राप्त गरेको उपलब्धिको के काम ?’
विगतमा देशमा भएका विभिन्न संघर्ष र आन्दोलनमा सरकारले सताइएका सवाललाई वास्ता नगरी संविधान कार्यान्वयन गर्न खोजे त्यसको परिणाम भयावह हुने चेतावनी दिए ।