
साउदी अरेबिया, संयुक्त अरब एमिरेट्स्, बहराइन, इजिप्ट लगायतका आफ्ना छ छिमेकी राष्ट्रहरुसंग कतारको तनावपूर्ण सम्बन्ध न्यून विन्दूमा झरेको छ।
दोहास्थित सरकारलाई दबाब दिने उद्देश्यले चालिएको कदममा कतारका ती छिमेकीहरुले उसंगको कूटनीतिक सम्बन्ध विच्छेद गर्नुका साथै सिमाना पनि बन्द गरिदिएका छन्।
बीबीसी अरेबिकका आमिर रवाशले यो नयां कुटनीतिक संकट पछाडीका कारणहरु खोतल्ने प्रयास गरेका छन्।
मुस्लिम ब्रदरहुड
कतार र उसका गल्फ कोअपरेशन काउन्सिलका सदस्य छिमेकीहरुले ‘अरब बसन्त’ भनिएको त्यस क्षेत्रमा फैलिएको आन्दोलनको लहरपछिका राजनीतिक परिवर्तनका बेला परस्पर विरोधी पक्षलाई समर्थन गरेका थिए।
दोहाले केही राष्ट्रहरुमा राजनीतिक फाइदा लिएका इस्लामवादीहरुलाई समर्थन गरेको ठानिएको थियो।
जस्तै इजिप्टमा मुस्लिम ब्रदरहुडका नेता तथा भूतपूर्व राष्ट्रपति मोहमद मोर्सीलाई सन् २०१३ मा पदच्यूत गरिएपछि सो समूहका सदस्यहरुलाई एउटा मञ्च उपलब्ध गराएको आरोप कतारमाथि लगाइएको छ।
सो समूह हाल इजिप्टमा प्रतिबन्धित छ।
साउदी अरेबिया र युएइले मुस्लिम ब्रदरहुडलाई “आतंकवादी” संगठन मान्ने गर्छन्।
सरकारी साउदी प्रेस एजेन्सीले जारी गरेको एउटा वक्तव्यमा कतारमाथि “सो क्षेत्रलाई अस्थीर तुल्याउने उद्देश्यले मुस्लिम ब्रदरहुड, डाएश भनेर चिनिने आइएस र अलकायदाजस्ता विभिन्न आतंकवादी र साम्प्रदायिक समूहहरुलाई सहयोग गरेको” आरोप लगाइएको छ।
तर कतारको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा भने रियाध, अबुधाबी र मनामाले चालेका कदम “औचित्यहीन र आधारहीन तथा अप्रमाणित आरोपहरुमा आधारित” भनिएको छ।
सो वक्तव्यले कतार “जीसीसीको बडापत्रप्रति प्रतिबद्ध रहेको र आतंकवाद तथा अतिवाद विरुद्धको संघर्षमा आफ्नो कर्तव्यको पालना” गरिरहेकोमा जोड दिएको छ।
इरानसंगको सम्बन्ध
वर्तमान संकट कतारका अमिर शेख तामिम बिन हमाद अल-थानीले इरानप्रति अमेरिकी शत्रुताको आलोचना गर्दै टिप्पणी गरेका भन्ने विवरणहरु सहितको एउटा विवादास्पद प्रतिवेदन सार्वजनिक भएपछि आरम्भ भएको देखिन्छ।
कतारका अनुसार ह्याकरहरुले त्यस्तो झुठो टिप्पणीहरु देशको सरकारी समाचार एजेन्सीमा प्रकाशित गरिदिएका थिए।
कतारको एउटा प्रमुख प्रतिद्वन्द्वी साउदी अरेबियाले लामो समयदेखि नै त्यस क्षेत्रमा तेहरानको उद्देश्यहरुप्रति चिन्ता व्यक्त गर्दै आएको छ।
साउदी वक्तव्यले दोहालाई ” कतिपय क्षेत्रमा सकृय इरान समर्थित आतंकवादी समूहका गतिविधिलाई सघाएको” आरोप पनि लगाएको छ, जुन पूर्वी साउदी अरेबियास्थित शिया बहुल क्षेत्र हो।
यमनका हुथी विद्रोहीहरुलाई पनि समर्थन गरेको आरोप कतारमाथि लगाइएको छ।
यमनमा भएको साउदी नेतृत्वको कार्वाहीमा सहभागिता जनाएको दोहाले भनेको छ, उसले अन्य देशका सार्वभौमसत्ताको सम्मान गर्छ र तिनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन।
कतारका अमिर र अमेरिकी राष्ट्रपतितस्वीर कपीराइटREUTERS
Image captionकतारका अमिर (बायां) ले अमेरिकी राष्ट्रपति ट्रम्पसंग गत महिना साउदी अरेबियामा भेट गरेका थिए
लिबियाली द्वन्द्व
लिबिया सन् २०११ मा त्यहांका भूतपूर्व नेता मुअम्मर गद्दाफी पदच्यूत भै मारिएदेखि नै संकटको अवस्थामा रहंदै आएको छ।
लिबियाका सैनिक नेता खलिफा हफ्तारलाई इजिप्ट र युएइबाट सहयोग प्राप्त छ।
उनले कतारलाई आरोप लगाउंदै उसले “आतंकवादी समूहहरुलाई” समर्थन गरेको बताए।
हफ्तार लिबियाको पूर्वी शहर टोब्रकस्थित सरकारसंग सम्बद्ध छन्।
उता कतारले त्रिपोलीमा रहेको प्रतिद्वन्द्वी सरकारलाई समर्थन गर्दछ।
सञ्चार “युद्ध”
साउदी अरेबियाले कतारमाथि आफ्ना सञ्चार माध्यमहरुको प्रयोग “देशद्रोह भड्काउने” कार्यमा गर्ने गरेको आरोप पनि वक्तव्य मार्फत लगाएको छ।
कतारी सञ्चार माध्यमहरुले मुस्लिम ब्रदरहुडका सदस्यहरुलाई आफ्नो धारणा राख्न दिने गरेका छन्।
कतारीहरुले गुनासो गर्दै भनेका छन् ” आफूहरु विरुद्ध पूर्ण रुपमा मनगढन्ते आरोपहरुका आधारमा भड्काउने खाले अभियान नै संचालन भैरहेको छ।”
source :- bbc.com