सरकार बैधानिक धाँधलीमा उत्रियो : मन्त्रीहरु पैसा बाँड्दा बाँड्दै समातिए
काठमाडौं ।स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने भएपछि कांग्रेसका मन्त्रीहरु पैसा बोकेर मतदातालाई प्रलोभन दिन खुलेआम निस्किएका छन् ।
सरकार आफैं बैधानिक धाँधलीमा उत्रिएको छ । मतदानको एक दिन अगाडि सरकारले निर्वाचन आचारसंहितालाई नांगो रुपमा उल्लंघन गर्दै पैसा बाँड्नेदेखि अनेक प्रकारले मतदाता प्रभावित पार्ने खालका निर्णय गरेको छ । विज्ञहरुले यसलाई सरकारको तर्फबाट गरिएको बैधानिक धाँधली भनेका छन् । सरकारले खुलेआम धाँधलीमा उत्रिदा पनि निर्वाचन आयोग भने निरीह बनेको छ । यसले गर्दा आयोगको भूमिकामाथि सर्वसाधारणले प्रश्न उठाउन थालेका छन् ।
पछिल्ला दुई दिनका घटना हेर्ने हो भने मन्त्रीहरु नविन्द्रराज जोशी,रोमी गौचन थकाली र गगन थापा आफैं पैसा बोकेर हिड्दा कतै समातिएका छन् भने कतै घेराबन्दीबाट भागेका छन् । मन्त्रीले आचारसंहिताको नांगो उल्लंघन गर्दा निर्वाचन आयोगले चेतावनी समेत दिएको छैन । जबकी आचारसंहिता पालना गर्ने पहिलो दायित्व सरकारको हो ।
पैसा बाँड्दै गर्दा मन्त्री समातिए
काठमाडौंको कपनमा स्वास्थ्य मन्त्री गगन थापा पैसा बाँड्दा बाँड्दै स्थानीयले भेटेपछि भागेका छन् भने मुस्ताङमा वाणिज्यमन्त्री रोमी गौचन थकाली पैसा बाँड्दा बाँड्दै समातिएका छन् । गौचनले पैसा बाँडेर चुनाव प्रभावित पारेको भन्दै स्थानीयले बिरोध गरेपछि जोमसोम बजार शनिवार विहानैदेखि तनावग्रस्त रहेको छ ।
पैसा बाँड्दा बाँड्दै समातिएका मन्त्री गौचनलाई प्रहरीले स्थानीय यामप्रसाद थकालीको घरमा सुरक्षा घेरामा राखेको छ । स्थानीय जनताले मन्त्री गौचनमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध गरेका छन् । सदरमुकाम जोमसोममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मन्त्री गौचनलाई गए राति १२ बजे दोलामे गाउँपालिकाको तेताङ गाउँबाट पैसा बाँडिरहेको अवस्थामा स्थानीय जनताले समातेर प्रहरीलाई बुझाएका थिए । त्यसपछि प्रहरी चौकीमा एमाले,राप्रपा,माओवादी र स्वतन्त्र उम्मेदवारका समर्थकहरु पुगेका थिए ।
मन्त्री गौचन एकसातादेखिनै प्लेन रिजर्भ गरेर पैसा सहित मुस्ताङ पुगेका थिए । अहिले मुस्ताङमा सुरक्षा समितिको बैठक बसेको छ । गौचनलाई काठमाडौं फर्काउन वा हिरासतमा राख्न स्थानीयले माग गरेका छन् ।यसअघि काँग्रेस नेता शंकर भण्डारी पनि तनहुँमा केहीदिनअघि पैसा बाँडिरहेको बेला स्थानीयले नियन्त्रणमा लिएका थिए ।